काठमाडौं, २ चैत्र। सर्वोच्च अदालतको २३ गतेको फैसलाले ब्यूतिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको संवादहिनताको अन्त्य भएको छ । अहिले दुवैपक्षबीचमा पार्टी कार्यालय धुम्बराहीमा छलफल शुरु भएको छ ।
छलफलमा प्रधानमन्त्री ओली र उहाँका पक्षधरबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी हुनुभएको छ भने शीर्ष नेता नेपाल पक्षबाट उहाँसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा रहदा नै प्रधानमन्त्री ओलीले पार्टीको औपचारिक संयन्त्रलाई वेवास्ता गर्दै आफूखुसी सरकार सञ्चालन गर्ने, राजनीतिक नियुक्ति गर्ने, अध्यादेश ल्याउने जस्ता काम गरेर पार्टीका द्धितिय अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई उपेक्षा गर्न थालेपछि २५ कात्तिकपछि संवाद टुटेको थियो ।
प्रधानमन्त्रीको वार्ता पहल
औपचारिक रुपमा बार्ताको लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहल गर्नुभएको बताइन्छ ।
प्रधानमन्त्रीले शीर्ष नेता नेपाललाई वार्ताका लागि बालुवाटार आउन आमन्त्रण गरेपनि नेपालले म त बालुवाटार आउँदिनँ भनेपछि वार्तास्थल धुम्बाराही तोकिएको थियो ।
टेलिफोन सम्वादमा नेता नेपालले आफू एक्लै नआउने भनेपछि अध्यक्ष ओलीले ‘ ४र५ जना लिएर आउन भन्नुभएको थियो ।
आइतबार मात्र एमालेका वरिष्ठ नेता नेपाल र खनालसहित ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष ओलीले फागुन २८ गते गर्नुभएको निर्णय नमान्ने घोषणा गरेका गर्नुभएको थियो भने प्रधानमन्त्री निवास (बालुवाटार)मा प्रक्रिया नपुर्याईकन केन्द्रिय समितिका केही सदस्यहरु बसेर पार्टीको विधान संशोधन गर्ने,महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई हटाउने,केन्द्रीय समितिमा सदस्य मनोनयन गर्ने र जिम्मेवारी हेरफेर गर्ने जस्ता कार्यलाई मान्यता नदिन निर्वाचन आयोगलाई जानकारी पत्र पनि दिनुभएको थियो ।


















