विण्डहोक(नामिबिया), २९ माघ । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज(सोमबार) नेपालले केन्यासंग खेल्दैछ ।
यो खेल विश्व कप क्रिकेट खेल्ने अभिलाषा बोकेको नेपालका लागि जीवन मरणको सबाल बनेको छ । यो खेल जिते शीर्ष २ को स्थानमा रहने नेपालको सम्भावना बलियो हुनेछ।
उद्घाटन खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा कमजोर मानिएको ओमनसँग पराजित भएको थियो।
आइतबारको खेलमा नेपालले यूएईलाइ हराएका कारण आजको खेलमा नेपालले विजय पाउने आशा छ । यसो भएमा नेपाल शीर्ष दुईमा पुग्नेछ। डिभिजन २ का शीर्ष दुई टोलीले विश्व कप क्रिकेटको छनोट खेल्न पाउछन् ।
विगतमा केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका चार खेलमा नेपालले एकमा जित निकालेको थियो।
नेपालले बुधबार लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ। क्यानडा ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ।
नेपाल तीन खेलबाट चार अंकसहित समूहको दोस्रो, यूएई तीन खेलबाट दुई अंकसहित समूहको तेस्रो, नामिबिया दुई खेलबाट दुई अंकसहित तालिकाको चौथो, ओमन तीन खेलबाट २ अंकसहित समूहको पाँचौ र केन्या दुई खेलबाट अंकविहीन पुछारमा छ।
लिग चरणका खेलबाट शीर्ष दुईभित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागी हुन पाउनेछ।
अर्को महिना अर्थात् मार्च ४ देखि २५ सम्म जिम्बाबेमा हुने विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन्।
१० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोली अर्को वर्ष अर्थात् सन् २०१९ को मे ३० देखि इङल्याण्ड र वेल्समा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुनेछन्।