Prakash Adhikari May 14, 2021

काठमाडौं, ३१ बैशाख । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ थियो ।

सो सङ्ख्या बढेर आज ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै १ लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६ सय ३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय २० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण तथा ५ सय ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५ सय २६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५ सय १० पुगेको छ । वैशाखमा मात्रै ४ लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ । उक्त सङ्ख्या वैशाख १ गते २ लाख ७८ हजार ५ सय ६ रहेको थियो ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार १ सय ३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित ४ हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर १ लाख ७ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ७ सय ५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३ सय ३४ सङ्क्रमितको आइसियुमा तथा ३ सय ७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा ५ सय ४२ सङ्क्रमित आइसियुमा तथा २ सय २० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १ सय ८५ सङ्क्रमितको आइसियुमा तथा १ सय ५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २ सय ५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर ३ हजार ३ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ तथा भक्तपुरमा ३ सय ३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

वैशाखमा १ हजार ६ सय ८ जनाले ज्यान गुमाए

वैशाखमा मात्रै कोरोनाबाट १ हजार ६ सय ८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट ३ हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर ४ हजार ६ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २ सय ३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

वैशाख १ गते ३ सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।

Share Now

Leave a comment.