काठमाडौ, ३ जेठ । प्राणघातक कोरोना भाइरसको संक्रमणमा परेका विरामीहरुको स्वास्थोपचारको लागि समुचित व्यवस्था गर्नका लागि अर्थमन्त्रालयले भक्तपुरका तीन अस्पताल र धुलिखेलका अस्पताललाई आर्थिक सहयोेग दिएको छ ।
अर्थमन्त्रालयले जानकारी दिए अनुसार भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई सरकारले रु. ८ करोड एक लाख ७० हजार बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्र्तगत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो ।
भक्तपुर अस्पताललाई रु. तीन करोड ८० लाख, मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई रु. तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक नगर अस्पताललाई रु. एक करोड नौ लाखको बजेट विनियोजन भएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।
अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रीलगायतसँग छलफल गरेर बजेट व्यवस्थापन गर्न सकिएको सांसद बस्नेतले बताउनुभयो ।
त्यसैगरी सांसद बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा आगामी १० दिनभित्र सूर्यविनायक नगरपालिका–८ जगातीमा सञ्चालनमा आउन लागेको ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा १५ शय्याको हाइ केयर युनिट (एचडियु) सञ्चालन गर्र्न सरकारले उक्त रकमको व्यवस्था गरेको हो ।
सरकारले बजेटको व्यवस्था गरे पनि आउन समय लाग्ने भएकाले बजेटको निकासा छिटो गरिदिन वा सोही बजेट बराबरको सामान तत्काल उपलब्ध गराइदिनुपर्ने अस्पतालहरुको माग छ । सङ्घीय सरकारले प्रदेश सरकार मार्फत बजेट पठाउने भएको छ ।
धुलिखेल अस्पताललाई छ करोड ८० लाख
सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड–महामारी ब्यवस्थापनका लागि रु छ करोड असी लाख प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाइएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आईसीयू, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ । “सरकारको सहयोगपछि कोरोनाका विरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्छ” अस्पतालका मुटुरोग विशेषज्ञ प्राडाराजेन्द्र कोजूले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा एचडीयू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचार ार्थ प्रयोग गरिएको छ ।
सो अस्पतालले काभ्रेपलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईको क्षेत्रकालाईसमेत सेवा पु¥याउँदै आएको छ । “जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिकसमेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैं कोरोना महामारी ब्यवस्थापन गर्न अनुदान दिलाइएको हो, सकेसम्म छिटो उक्त बजेट निकास गर्न प्रक्रियागत ताकेता भइरहेको छ” सांसद गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा सकेसम्म छिटो अक्सिजनको ब्यवस्थापन गर्न सकिए कोरोना–विरामीलाई ठूलो राहत मिल्नेछ ।
धुलिखेलबाहेक बनेपामा शिरमोरियल अस्पताल छ । आइतबारदेखि बनेपामै २५ श्ययाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । काभ्रेपलाञ्चोकमा जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतीको प्रक्रियामा रहेको छ । काभ्रेमा पछिल्ला दिनमा दैनिक सङ्क्रमणदर डेढसय नाघेको छ भने सरदर दुईको मृत्यु हुनेगरेको तथ्याङ्कले देखाएको छ ।
नौ प्रादेशिक र अन्य २५ अस्पताललाई रु ३ अर्ब
धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि करिव रु ३ अर्ब बजेट बिनायोजन गरिएको छ । मन्त्रालयले बिनियोजित बनेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम मागगर्ने जनाउँदै आइतबार ती अस्पताललाई रु दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।


















