काठमाडौं, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।
नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो हुनुहुन्छ । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त हुनुभएको छ ।
नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।
नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ ।

राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनुभएको छ । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिनुभएको छ । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहनुभएको छ ।

असन्तुष्टि
प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा केहीले असन्तुष्टि पनि व्यक्त गरेका बुझिएको छ।
निवर्तमान स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले केही असन्तुष्टी व्यक्त गर्दै भन्नुभयो, ूएउटा नैतिक प्रश्न के आयो भने( क्याबिनेट सिस्टम भनेको त्यसका केही मूलभूत सिद्धान्त हुन्छन्। त्यो सिद्धान्तमा सिनियारिटी जुनियारिटी पनि पर्छ। त्यसले गर्दा मलाई नैतिक सङ्कट आएकै हो। त्यसैले म चाहिँ नबसेको हो।ू
जन्मसिद्ध नागरिकका सन्तान करिब ७ लाख बालबालिकाले नागरिकता पाउने, करिब डेढ सय कार्यकर्ताहरूमाथि लागेका मुद्दा खारेज हुने र संविधान संशोधनका निम्ति उच्चस्तरिय समिति बन्ने जस्ता आफ्ना केही मागहरू ओली सरकारले ूपूरा गरिसकेको र अन्य केही पूरा हुने क्रममा रहेकाू कारण सरकारमा जाने वातावरण बनेको एक जना अध्यक्ष महन्थ ठाकुर पक्षधर नेताहरूले बताउँदै आएका थिए।
अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरू भने ओली सरकार ढाल्न विभिन्न दलहरूसँगै प्रयासरत छन्।
ओलीको समर्थनमा रहने वा नरहने विषयमा विभाजित देखिएको जसपा, नेपालमा दुवै पक्षले एक अर्कालाई निष्कासन गरेको थियो।
यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको बताएको छ भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरिदिएको जनाएका छन्।
दलभित्रको यो विवाद हाल निर्वाचन आयोगमा पुगेको छ।


















