बालुवाटार(काठमार्डौ), १० फागुन । सरकार गठन र पार्टी एकता संगसंगै गर्ने वामगठबन्धनको सपना खल्बलिएको छ । सरकारको नेतृत्व सम्हाल्न आतुर एमाले नेतृत्वले सरकारलाई पूर्णता दिन केही हप्ता कुर्नुपर्ने भएको छ भने पार्टी एकतामा सम्मानजनक भाग पाउन माओवादी नेतृत्वले सत्ता सहभागितामा र्याल काढ्न नहुने भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई चैत पहिलो हप्ता नै टुंगोमा पुर्याउन दुई कार्यदलका संयोजक र सदस्यहरु तोकेको छ।
संयोजन समितिको बैठकले राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलुको संयोजक एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरिएको छ भने अन्तरिम विधान मस्यौदा कार्यदलको संयोजकमा माओवादीका वरिष्ठ नेता रामबहादुर थापालाई चयन गरेको छ।
नेपाल नेतृत्वको कार्यदलमा एमालेबाट भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त सदस्य छन् भने माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल रहेका छन्।
त्यस्तै, नेता थापाको नेतृत्वको कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुषाल र रघुवीर महासेठ सदस्य छन् भने माओवादीबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा रहेका छन्।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई चैत पहिलो हप्तासम्म टुंगोमा पुर्याउने गरी अगाडि बढ्न निर्देशन दिएका छन्।
त्यसका लागि दुबै कार्यदललाई फागुन २५ गतेसम्म प्रतिवेदन बुझाउने समय दिइएको छ एमले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।