Prakash Adhikari July 28, 2021

 

काठमाडौं, १३ साउन । सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बुधबार बिहान झन्डै २ घण्टा बसेको बैठकले मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा सहमति गरेको छ।

नेपाली काग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भएका बताउदै ‘मन्त्रिमण्डल कहिलेसम्म बिस्तार गर्ने भन्ने ठोस निर्णय भने नभएको बताउनुभयो ।

साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत उपस्थित हुनुहुन्थयो।

गठबन्धन बैठकमा एमाले नेता माधवकुमार नेपाल भने आज अनुस्थित रहनुभयो । उहाँको समूहका तर्फबाट विजय पौडेल बैठकमा सहभागी हुनुभएको थियो।

आजको बैठकमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो भने नेकपा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ, जसपाबाट अशोक राई, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी बन्नुभएको थियो।

नेपाली काग्रेसका महामन्त्री खड्काले दिनुभएको जानकारी अनुसार गठबन्धन सरकार सुव्यवस्थित ढंगले सञ्चालन गर्न न्युनतम साझा कार्यक्रम ल्याउनेबारे पनि सल्लाह भएको छ।त्यस्तो कार्यक्रम तयार पार्न महामन्त्री खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिइएको छ।

साथै गठबन्धनको बैठकमा कोरोनाविरूद्ध थप खोप ल्याउनेबारे पनि कुराकानी भएको थियो। सरकारले कोरोनाविरूद्ध खोप पर्याप्त मात्रामा ल्याएर जनतालाई छिटो लगाउने व्यवस्थापन मिलाउनुपर्ने सुझाव आएको थियो।

बैठकमा गठबन्धनका दलहरूमा छलफल गरेर मात्रै मन्त्री तथा राज्यमन्त्री र राजनीतिक नियुक्ति हुनुपर्ने आवाज पनि उठेको थियो।

 

Share Now

Leave a comment.