Prakash Adhikari August 26, 2021

काबुल(अफगानिस्तान), १० भाद्र । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ ।

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ ।
विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले भन्नुभयो, “काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला बिष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।”

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।

अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भन्नुभएको थियो ।

ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ।

एक तालिबान अधिकारीले अमेरिकी नागरिक र बालबालिकासहित १३ को मृत्यु भएको बताएका छन्।

विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको बताइएको छ।

विमानस्थलबाहिर अझै गोली चलेको आवाज सुन्न सकिने केही रिपोर्टहरूमा जनाइएको छ।

हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको छ।

अमेरिकी उद्धार
पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्।

उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ।

योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार ७ सय पुगेको छ।

Share Now

Leave a comment.