काठमाडौं, २३ फागुन । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जम्मा १० खर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान गरेको छ ।
अर्थमन्त्रालयले बुधबार आर्थिक वर्ष २०७४/७५ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै जम्मा १० खर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ अर्थात कुल बजेटको ८४.६७ प्रतिशत खर्च हुने अनुमान गरेको हो ।
चालु आर्थिक वर्षका लागि सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । १२ खर्ब ७८ अर्ब रुपैयाँ मध्ये १० खर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च हुने र सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने मन्त्रालयले जनाएको छ ।
बुधबार मध्यावधि समीक्षा गर्दै अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले चालु आवमा ८४.६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताएका हुन् ।
सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आवको बजेटको आकार घटाएको छ । अब बजेट १० खर्ब ९९ अर्ब भएको छ ।
चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो ।
सरकारले विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था रहिरहँदा बजेटभन्दा बाहिरका कार्यक्रमका लागि ९गैर बजेटरी माग० तीन खर्ब रुपैयाँ भन्दा बढीको माग आएको अर्थमन्त्रालयले उल्लेख गरेको छ ।
कुल खर्चमध्ये चालु तर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड, पूँजीगत तर्फ २ खर्ब ३४ अर्ब ६२ करोड र वित्तीय व्यवस्था तर्फ १ खर्ब ९ अर्ब ४२ करोड खर्च हुने अनुमान गरिएको मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए ।
यो कुल बजेटको क्रमशः ९१. ९६ प्रतिशत, ७० प्रतिशत र ७८ प्रतिशत हो ।
सरकारले श्रोत तर्फ ९९ प्रतिशत अर्थात ९ खर्ब ८२ अर्ब ८६ करोड ३० लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने वैदेशीक अनुदान तर्फ ३४.९४ प्रतिशत अर्थात २५ अर्ब २१ करोडल २६ लाख १८ हजार वैदेशिक ऋणतर्फ ३५ प्रतिशत अर्थात ७४ अर्ब ९१ करोड २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
वैदेशीक सहायतको रकम ज्यादै कम अर्थात करिब ३५ प्रतिशत मात्रै खर्च हुने सचिव अधिकारीले बताए ।
आर्थिक वृद्धिदर ६ प्रतिशत मात्र
सरकारले आर्थिक वृद्धिको लक्ष्य भेट्न नसक्ने भएको छ ।
मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले चालु आर्थिक वर्षको वृद्धि ६ प्रतिशतमा खुम्चने बताए ।
अर्थमन्त्रालयले बुधबार आर्थिक वर्ष २०७४र७५ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै लक्ष्य अनुसारको आर्थिक वृद्धि नभेट्ने बताएको हो । चालु आर्थिक वर्षमा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो ।
गत आर्थिक वर्षमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो । बजेटमा नै गतवर्षको भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने उल्लेख थियो ।
कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले धानको उत्पादन घटेका कारण आर्थिक वृद्धि खुम्चने अवस्थता आएको बताए । ‘
यस वर्ष तराईमा आएको बाढी कारण धान उत्पादनमा ह्रास आएको छ’ गभर्नर नेपालले भने– ‘धान उत्पादनमा आएको ह्रासका कारण आर्थिक वृद्धिदर खुम्चने भएको हो ।’


















