Prakash Adhikari July 14, 2022

काठमाडौं, ३० आषाढ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज बिहान ११ बजेदेखि १ बजेको निर्धारित समयमा संसद सचिवालयमा दुई जना उम्मेद्वारको मात्र आवेदन परेको थियो ।

गठबन्धनकी साझा उम्मेद्वार भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरी रहनुभएको छ ।

त्यस्तैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिनुभएकी विद्या भट्टराईको प्रस्तावक सांसद शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहनुभएको छ ।

गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भूमिका खेल्नुका साथै संवैधानिक परिषदमा इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘प्रतिनिधि सभाको उपसभामुख भन्ने बित्तिकै सदनलाई तटस्थ ढंगबाट, स्वतन्त्र ढंगबाट अत्यन्त प्रभावकारी ढंगबाट सदनलाई अगाडी बढाउनका लागि एउटा खालको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । र सदनसँग जोडिएका, मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएका, आम नेपाली जनतासँग सरोकारयुक्त विषयवस्तुहरुलाई पनि सदनमा अत्यन्त प्रभावकारी ढंगबाट उठाउनको लागि पनि सहयोग गर्नुपर्ने अवस्थाको सिर्जना पनि हुन्छ । संविधान कार्यान्वयनको विषयमा संसदको जुन प्रभावकारी भूमिका हुनुपर्दछ, संविधानलाई कार्यान्वयन गर्नका लागि पनि सदनले प्रभावकारी भुमिका खेलोस् त्यसको लागि पनि मेरो भूमिका निर्वाचित भएँभने प्रभावकारी ढंगबाट अगाडी बढाउनेछु भन्ने विश्वस्त गराउन चाहन्छु । संवैधानिक परिषद्मा जुन भूमिकाको अपेक्षा गरेको छ संविधानले त्यो अनुसार आफ्नो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने मैले प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’, उपसभामुखकी उम्मेद्वार भुसालले भन्नुभएको छ ।

त्यस्तै एमालेकी उम्मेदवार विद्या भट्टराईले उपसभामुख निर्वाचित भएका संसद निष्पक्ष ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुदैछ ।

प्रतिनिधिसभाको गणित

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा हाल २ सय ७१ सांसद रहेका छन् । जसमा नेकपा एमालेका ९८ जना रहेका छन् । त्यस्तै सत्तारुढ पाँच दलमध्ये नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा समाजवादीका २३, जनता समाजवादीका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १ सय ५५ जना रहेका छन् ।

त्यसबाहेक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १३ सांसदले पनि गठबन्धनकै उम्मेदवार भुसाललाई मतदान गर्ने भएका छन् । यसो हुँदा भुसालको पक्षमा १ सय ६७ सांसद पुग्ने देखिएको छ ।

उता एमालेलाई भने राप्रपा, नेमकिपाका र स्वतन्त्र एकएक सांसदले मतदान गरेपनि १ सय १ सय मात्र हुने देखिएको छ ।

Share Now

Leave a comment.