
काँकरभिट्टा(झापा),७ चैत्र। नेपाल–इण्डो भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाटेड भेट्रान फुटबल क्लवले जित्न सफल भएको छ ।
काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा विर्तामोड भेट्रानले सुरुङ्गा भेट्रान फुटबल क्लवलाई ३–० ले हराउँदै उपाधि जितेको हो ।
बिर्तामोडका लागि सुवास लिम्बूले दुई गोल गरे भने थप एक गोल नगेन्द्रमणि लिम्बूले गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच घोषित भएका विर्तामोडका सुवास लिम्बूले २ हजार १ सय रुपैयाँ नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक विर्तामोडका नविन लिम्बू घोषित भए भने उत्कृष्ट मिडफिल्डर काँकरभिट्टाका राकेश श्रेष्ठ घोषित भए ।
त्यस्तै उत्कृष्ट डिफेन्डर विर्तामोडका मोहन गुरुङ्ग घोषित भए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार सुरुङ्गाका सुवास मेचेले हात पारे ।
त्यसैगरी उत्कृष्ट फरवार्ड विर्तामोडका देउमान लिम्बू घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार विर्तामोडका सुवास लिम्बूले हात पारे ।
त्यसैगरी प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी विर्तामोडका नगेन्द्रमणि लिम्बू र ओल्डेज भेट्रान खेलाडी सुरुङ्गाका ५८ वर्षीय कुमार सापकोटाले नगद ५१ सय रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको फेयर प्ले टिम दार्जिलिङ्ग टाउन भेट्रान फुटबल क्लव भारतलाई ट्रफि र प्रमाण पत्र प्रदान गरियो ।
प्रतियोगिताको बिजेता बनेको बिर्तामोडले उपाधिसहित नगद १ लाख २५ हजार प्राप्त गर्यो भने उपविजेता बनेको सुरुङ्गाले नगद ५१ हजारमा चित्तु बुझायो ।