Prakash Adhikari December 10, 2022

बेनी(म्याग्दी), २४ मङ्सिर । कालिगण्डकी नदीमा अर्को १ सय ५० मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १ सय ५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारणसभाको आज बेनीमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

“म्याग्दीभित्र पर्ने गरी कालिगण्डकी नदीको पानीबाट १ सय ५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको छ । नेपाल सरकारले १ हजार ५ सय मेगावाटको पीपीए गर्ने भन्ने निर्णय भइसकेकाले त्यही समयमा यस क्षेत्रको पनि पीपीए हुनेछ” , वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।

अन्य काम सबै भएकाले अब पीपीएपछि निर्माणको काम थालनी हुने ढकालले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले देशैभरी हुने मेला महोत्सवहरू उद्योग वाणिज्य महासङ्घको मार्फत गर्नुपर्छ भन्ने माग आफूहरूले नेपाल सरकार समक्ष राखेको र त्यसलाई कार्यान्वयनको पाटोमा लैजाने पनि बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरूले सम्भावित आयोजनाहरू, हाइड्रो, पर्यटन, तथा सम्भावित पर्यटन प्रवर्द्धनको सम्भावना रहेको क्षेत्र पहिचान गर्नुपर्ने र त्यसको बारेमा आफूहरूले जानकारी पाएको खण्डमा त्यस क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने ढकालको भनाइ छ ।

उहाँले कुनै पनि क्षेत्रमा उद्योग, व्यवसाय तथा उत्पादन मूलक क्षेत्र साझेदारीमा सञ्चालन गर्न प्रयास हुने उहाँले बताउनुभयो ।

स्थानीय सरकारको तर्फबाट सकारात्मक प्रयास भएमा निजी क्षेत्रको साथ हुन्छ भन्दै कुनै पनि पूर्वाधार विकासको क्षेत्रमा निजी क्षेत्रका तर्फबाट भरमग्दुर प्रयास हुने उहाँले बताउनुभयो ।

उहाँले काठमाडौंको चन्द्रागिरि हिल्सजस्तै सातै प्रदेशमा पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य पहिचान र लगानी गरिनु पर्ने सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ ठूलो संस्था भएकोले व्यावसायिक कठिनाइ समाधानका लागि पनि नेपाल सरकारसँग पहल गर्दै अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।

देशैभरका कुनै पनि उद्योगी व्यापारीको समस्याको समाधानसम्बन्धी माग कडाइका साथ सरकारसमक्ष राखेर समाधानका लागि प्रयास गरिने पनि ढकालले बताउनुभयो ।

 

Share Now

Leave a comment.