Prakash Adhikari January 14, 2023

काठमाडौं, ३० पौष । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा रहेको बताउनुभएको छ ।

भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नेपालको मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्नुभयो ।

यस्तै उहाँले आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक ५ सय ८५ अर्ब वित्तीय अभाव भएको बताउनुभयो ।

‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२ दशमलव ८ प्रतिशत हुन्छ । यो कोभिड १९ महामारीपूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ’, उहाँले भन्नुभयो, ‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको समिश्रण गर्नुपर्दछ ।’

यस्तै उहाँले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभयो । कोभिड १९ को महामारीपछि विश्वव्यापी रूपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको उहाँको भनाइ थियो ।

यस्तै नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै उहाँले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पु¥याएको सहयोगप्रति सबैलाई आभार व्यक्त गर्नुभयो ।

नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउँदै उनले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो । साथै उहाँले नेपालमा विद्युतीय वित्तीय सेवाहरूको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रमहरू लागू गरेको जानकारी दिनुभयो ।

 

Share Now

Leave a comment.