काठमाडौँ, २३ फागुन । आज गोकर्ण फरेस्ट रिसोर्टमा १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान १०ः३० बजो समुद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगितमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने स्थानीय आयोजक नेपाल एथलेटिक्स संघले जनाएको छ ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीवविक्रम शाहले भन्नुभो, ‘हामीले सुरुमा एसियाका ३० भन्दा बढी देशका ३ सय ५० बढी खेलाडी च्याम्पियनसिपमा सहभागी हुने अपेक्षा गरेका थियौं । हवाई टिकटको महँगी र विविध कारण यसपालि ११ देशका ६५ खेलाडीले मात्रै नाम दर्ता गरेका छन् ।’
नेपालमा २२ वर्षअघि प्रतियोगिता आयोजना गर्दा १३ देशका खेलाडी आएका थिए । च्याम्पियनसिपमा सबैभन्दा धेरै १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेको इतिहास छ ।
एसियन एथलेटिक्स संघका अध्यक्ष धलन जमन बी अल–हामदले दिनुभएको जानकारी अनुसार क्रसकन्ट्रीमा ट्र्याक एन्ड फिल्डमा जस्तै ठूलो संख्यामा खेलाडी हुँदैन । विश्व क्रसकन्ट्रीमा प्रशिक्षक र इन्स्ट्रक्टरमा युरोपेलीको बाहुल्य छ ।
एशियाली एथलेट्स संघ सन् २०३० सम्म एसियामा पनि ठूलो संख्यामा जनशक्ति तयार पार्ने योजनामा रहेको छ।
एसियन क्रसकन्ट्रीमा सिनियर पुरुष र महिला (१० किमि) तथा २० वर्षमुनिको जुनियर समूहको (८ किमि पुरुष र महिला ६ किमि) गरी चार समूहमा व्यक्तिगत र टिमको प्रतिस्पर्धा हुनेछ ।
यसपालि नेपालका १९ खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । महिला सिनियरमा चार खेलाडी तथा अन्य स्पर्धामा ५–५ नेपालको सहभागिता रहने भएको छ ।
नेपाली धाविका पुष्पा भण्डारीले आफ्नो तयारी स्वर्ण पदक जित्ने लक्ष्यको साथ भएको बताउनुभएको छ ।
एसियन क्रसकन्ट्रीको इतिहासमा नेपालले हालसम्म एकपल्ट मात्रै पदक जितेको छ । सन् २००१ मा गोकर्णमै आयोजना भएको संस्करणमा महिला जुनियरको कांस्य पदक नेपालले हात पारेको थियो ।


















