काठमाडौं, १० चैत्र । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको हो ।
सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै उहाँ प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदबार पुग्नुभएको छ।
भेटमा प्रधानमन्त्री दाहालले कुँवरलाई बधाई दिनुभएको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मेरिट बेस अनुसार एक नंवरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ प्रहरी महानिरिक्षक नियुक्त गरेको हो।
कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आईजीपीको दौडमा रहेपनि सरकारले एक नंवरमा रहेका कुँवरलाई आईजीपी बनाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको राससलाई जानकारी दिनुभयो ।
यही चैत ६ गतेको निर्णयले उहाँ एआइजीमा बढुवा हुनुभएको थियो । सरकारले उहाँलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।
हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।
काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले न्यूनतम् योग्यता पुगेका जो कोहीलाई पनि आइजीपी बनाउन सक्ने अवस्था कानूनी आधार छ । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ ।
प्रहरी सेवामा कुँवर
महानिरीक्षक कुँवर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिनुभएको हो।
भीमबहादुर कुँवर र नमकला कुँवरका छोरा वसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसक्नुभएको छ।
उहाकी एक श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन्। प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको हो।
ब्यवसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा हुनुभएको थियो।
उहाँ २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक हुनुभएको थियो। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिनुभएको थियो।
तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावी आईजीपीका रुपमा हेरिएको थियो।
२०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरियतामै बढुवा हुनुभएको थियो।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गर्नुभएको छ।
प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल हुनुभएको थियो।
त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा उहाँले पुलिस व्याटन २०७३ प्राप्त गर्नुभएको थियो।
उहाँ प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट सुशोभित हुनुभएको छ ।
यसैगरी उहाँले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गर्नुभएको छ।
उहाँले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गर्नुभएको छ।
स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम पनि उहाँले लिनुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा सेवा गर्नुभएको छ।
उहाँले प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गर्नुभएके थियो भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गर्नुभएको थियो।
प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका उहाँले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गर्नुभएको थियो।
प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गर्नुभएका कुँवरको संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ।
कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको थियो।


















