Prakash Adhikari April 8, 2023

काठमाडौं, २४ चैत्र । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा नियुक्त भएपश्चात खड्काले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिनुभएको हो ।

रक्षा मन्त्री खड्कालाई नेपाली सेनाले संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिहरु जानकारी गराएको थियो।

रक्षामन्त्री खड्काले सदैव नेपाली जनताको शीर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था नेपाली सेना आफ्नो भूमिका निर्वाहमा सदैव अब्बल रहन सकेकोमा प्रधान सेनापति लगायत नेपाली सेना परिवारलाई बधाई दिनुभएको थियो।

जंगी अड्डामा खड्काले राष्ट्रको माटो, राष्ट्रिय एकता, स्वाधीनतासँग जोडिएको मन्त्रालय र अन्तर्गतका संस्थाहरुको महत्व अनुरुप आफ्नो रोजाईकै मन्त्रालयमा नियुक्त भई कार्य गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनुभयो।

रक्षा मन्त्री खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताउँदै जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर पारीवारिक परिवेशमा कार्य गर्दै जाँदा आशातित उपलब्धी हुने भन्दै नेपाली सेनालाई कार्य सम्पादनमा मन्त्रालयबाट पूर्ण रुपमा साथ र सहयोग रहने बताउनुभयो।

संसारका मानिसहरुले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयासमार्फत नेपाललाई चिन्ने वातावरण बनेको बताउँदै रक्षामन्त्री खड्काले वर्षौंदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरुमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विपद् प्रतिकार्य तथा कोभिड महामारीको दौरान आफ्नो जीवनलाई हत्केलामा राखेर नागरिकको उद्धारमा खट्टिइ जनजनको मनमा बस्न सफल रहेको भन्दै प्रशंसा गर्नुभयो ।

नेपाली सेनाले मित्रराष्ट्रका सैनिक संगठनहरुसँग कायम गरेको अद्वितीय, ऐतिहासिक सम्बन्धका कारण देशले विभिन्न प्रकारका विपद् तथा महामारीमा कठिनाई भोगेका बेला समस्या समाधान गर्न सकेको प्रसंग उल्लेख गर्दै नेपाली सेनाले खेलेको भूमिकाको पनि उहाँले प्रशंसा गर्नुभयो ।

रक्षा मन्त्री खड्काले नेपाली सेनाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धी देशको गौरवसँग जोडिएको एवं सैनिक खेलाडीहरुले उत्कृष्ट खेल क्षमता प्रदर्शन गरेर प्रतियोगिता जित्ने तथा उच्च अनुशासन प्रदर्शन गरेर प्रतिस्पर्धी एवं दर्शकहरुको मन जित्ने गरेको आफूले पाएको बताउनुभयो।

नेपाली सेनाको सर्वोपरी पेशागत दक्षताप्रति आफुलाई गर्व रहेको बताउँदै निर्माणाधिन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारका क्षेत्रमा धरोहर हुने भएकोले यथासिघ्र यसको भौतिक संरचना निर्माण सम्पन्न गरेर संचालन गर्न सरकार र आफ्नो तर्फबाट सदैव सहयोग हुने विश्वास दिलाउनुभयो।

बहुचर्चित राष्ट्रिय गौरवको काठमाण्डौं–तराई÷मधेश द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रकृयागत समस्याहरुको समाधान गर्नेतर्फ प्रयासहरु भईरहेको र उक्त आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने पनि उहाँले बताउनुभयो।

जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै नेपाली सेनाको विशेषता रहेको र यो नै साँचो अर्थमा लोकतान्त्रिकरण भएको कुरा उल्लेख गर्दै यसलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो।

रक्षामन्त्री खड्काले चेन अफ कमाण्ड, संस्थागत मर्यादा र सामुहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ हो भन्दै यसलाई पालना गर्न सकलदर्जा प्रतिवद्ध रहेको विश्वास व्यक्त गर्नुभयोे।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गर्नुभएको थियो।

नेपाली सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितिहरुमा निर्दिष्ट गरिने कानून बमोजिमका अतिरिक्त जिम्मेवारीहरु वहन गर्न सदैव तत्पर रहेको बताउनुभयो।

बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरु र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको प्रधानसेनापति शर्माले बताउनुभयो।

 

Share Now

Leave a comment.