काठमाडौं, १० बैशाख। चितवन २ मा उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।
मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसिरहेका छन्।
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा लामिछाने यही क्षेत्रबाट विजयी हुनुभएको थियो। तर, नागरिकता विवादमा मुछिएपछि सर्वोच्च अदालतले उहाँको उम्मेद्वारी प्रकृया र निर्वाचित सांसद पद खारेज गरेको थियो। त्यसपछि रिक्त पदका लागि उपनिर्वाचन भइरहेको हो।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका लामिछाने र न्यौपानेले भने मतदान गर्न पाउनुहुने छैन। उहाँहरु दुवैजना यो क्षेत्रका मतदाता हुनुहुन्न।
कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चर्तुमुखी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गर्नुभएकोे हो।
यस क्षेत्रमा ४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ १ लाख २४ हजार ६ सय ९५ जना मतदता छन्। ती मध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।








