Prakash Adhikari April 27, 2023

काठमाडौं, १४ वैशाख। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ।

उहाँले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गर्नुभयो।

नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकका अवसरमा बोल्दै पर्यटनमन्त्री किरातीले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको आरोपसमेत लगाउनुभयो।

उहाँले भन्नुभयो, “वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन् । म मन्त्री भएको सय दिन भयो, यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ। निगमका कर्मचारी पनि चोखा छैनन्।”

मन्त्री किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताउनुभयो। “विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ। तपाईंहरूसँग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ”, उहाँले भन्नुभयो।

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने जिकिर गर्नुभयो। उहाँले निगम सुधार्ने मौखिक प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन गर्न पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिनुभयो।

उहाँले निगमको सञ्चालक समिति सदस्यहरू सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको सुनेको भन्दै सुविधाका लागि राजनीतिक नियुक्तिको दुरुपयोग हुन नहुने उल्लेख गर्नुभयो। (रासस)

Share Now

Leave a comment.