Prakash Adhikari May 17, 2023

काठमाडौं, ३ जेठ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले सतहमा आएको नक्कली शरणार्थीको मुद्दा गम्भीरताका साथ अनुसन्धान गरेर सबै दोषीलाई कारवाहीको भागिदार नबनाएसम्म राजनीतिक पार्टीहरु र यो व्यवस्थाकाप्रतिको जनताको विश्वास फर्कन कठिन हुने बताउनुभएको छ ।

प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताभउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रै साथीहरु नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ, त्यसले नेपाली कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ, यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नुहुँदैन, यसलाई हामीले ढाकछोप गर्ने कोशिस गरेमा नेपाली कांग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिन ।’

नेता कोइरालाले यो मुद्दा कमजोर बनाउने पो हो कि भन्ने चिन्ता पनि रहेको बताउदै भन्नुभयो, ‘यो मुद्दालाई कमजोर बनाइने त हैन भन्ने चिन्ता हामी सबैलाई लागेको छ । अरु मुद्दाहरु ल्याएर यसलाई छायामा पार्न खोजिदै छ । यो नेपालको सार्वभौकितामाथिको प्रहार हो । देशको नागरिकलाई अनागरिक बनाई मानव बेचबिखन गरेर विदेश पठाइएको छ । यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ ।’

नेता कोइरालाले यो प्रकरणमा मुछिएका आफ्नो पार्टीका नेताहरुलाई निलम्बन गर्न उचित हुने पनि बताउनुभयो । उहाँले पदाधिकारीहरुको बैठक भएको समयमा आफू राजधानी बाहिर रहेको उल्लेख गर्दै आफूले महामन्त्री गगन थापालाई अनुसन्धानलाई निश्पक्ष रुपमा सघाउन पक्राउपूर्जी जारी भएका आरोपित पार्टीका साथीहरुलाई निलम्बन गर्न उचित हुने सल्लाह दिएको पनि बताउनुभयो ।

उहाँले यो प्रकरण ढाकछोपयोग्य नभएको बताउदै भन्नुभयो, “यो अन्तर्राष्ट्रियकरण भैसकेको छ । यसमा कुनैपनि बहानामा कसैलाई कुनै किसिमको प्रलोभन दिएर अनुसन्धान प्रभावित गरिनुहुँदैन । गलत काम गर्नेहरु दण्डित हुनै पर्दछ ।”

नेता कोइरालाले प्रजातान्त्रिक विचार समाज पूर्णकाल पार्टीमा लाग्न नसक्ने तर नेपाली कांग्रेसको सिद्धान्तप्रति प्रतिवद्ध व्यवसायिक व्यक्तिहरुको संस्था भएकोले यसले पार्टीलाई सही मार्ग दर्शन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका विषयमा पनि निर्मम भएर समीक्षा गर्न, लोकतन्त्रमाथिको खतरा, निर्वाचन प्रणाली, गठबन्धन संस्कारका बारेमा पनि छलफल गर्न आग्रह गर्नुभयो ।

नेता कोइरालाले निर्वाचनपूर्व गठबन्धन गर्दा पार्टी उम्मेद्वारी दिने हकबाट बञ्चित हुने र पार्टीप्रति प्रतिबद्ध मतदाताहरु अन्य प्रतिस्पर्धी पार्टीलाई मतदान गर्न बाध्य भएकोले निर्वाचनपूर्वको गठबन्धन गर्ने परम्परा त्याग्नुपर्ने बताउनुभयो ।

उहाँले हाल अपनाइएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत आउने संभावना नरहेकोले प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमात्र अपनाउनु उचित हुने तर दलित र महिला र पिछडिएको वर्गका लागि सोही वर्गका वीचमा प्रतिस्पर्धा गराउने पद्धति अवलम्बन गर्न उचित हुने बताउनुभयो ।

समानुपातिक र समावेशिताको प्रतिनिधित्व राष्ट्रिय सभामा गराउनु उचित हुने धारणा पनि उहाँले राख्नुभयो ।

उहाँले आगामी निर्वाचन नेपाली कांग्रेस एक्लैले लड्ने वातावरण तयार पार्ने गरी विचार प्रवाह गर्न पनि बुद्धिजीविहरुसंग अनुरोध गर्नुभयो ।

 

Share Now

Leave a comment.