Prakash Adhikari July 19, 2023

काठमाडौं, ३ साउन। काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरपालिकाले बुधवार डोजर चलाएको हो ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधवार नगर प्रहरीले डोजर चलाएको हो ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले त्यहाँ रहेका सम्पूर्ण कुराहरूको व्यवस्थापनको लागि काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘भवन खाली गराउनका लागि समय दिइएको थियो । दिएको समयमा खाली गराइएन । आज हामीले डोजर चलाउन बाध्य भयौँ । भत्काउन बाँकी रहेका भवनहरूका सामाग्री व्यवस्थापन गर्न सहयोग गर्छौ । र विद्यालयका विद्यार्थीहरूको व्यवस्थापनबारे समेत शिक्षा विभागले काम गरिरहेको छ ।’

उक्त ठाउँमा ६ वटा भवन रहेका छन् । आज केही भवन भत्काउने र बाँकी रहेका केही भवनहरू समेत केही दिनभित्रमै भत्काइने उहाँले जानकारी दिनुभयो ।

 

उक्त सदनमा कोठा भाडामा लिएर सिलाइ कटाइ सञ्चालन गर्दै आएकी एक महिलाले आफूहरूलाई सूचना नदिई एक्कासि महानगरको डोजर आएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘महानगरले भत्काउन लागेको रहेछ हामीलाई यसबारे केही जानकारी दिइएन । हाम्रो लागि सरकार नै नभए जस्तो गरेर डोजर चलाइयो ।’

Share Now

Leave a comment.