Prakash Adhikari August 16, 2023

 

प्रकाश पन्त

बीरेन्द्रनगर (सुर्खेत), ३१ श्रावण(बीबीसी) । झाडापखाला चलेपछि हुम्ला सिमिकोटका सुरज चुनारले ६ महिनाका छोरा इमरानलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउनुभयो।

उपचारपछि झाडापखाला त रोकियो, तर बच्चालाई न्यूमोनियाले समात्यो।

चार दिन अस्पतालमा भर्ना गरेर उपचार गर्दा समेत न्यूमोनिया ठिक नभएपछि जिल्ला अस्पतालका डाक्टरले साउन १८ गते थप उपचारका लागि बच्चालाई नेपालगन्ज रेफर गरे।

तर रेफर गरेको हप्ता दिनसम्म जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको ज्यान गयो।

निर्विकल्प हवाई मार्ग
बिरामी छोरालाई सुविधायुक्त अस्पताल लैजान सुरजसँग हवाई मार्गबाहेक अरू केही विकल्प थिएन।

छोरालाई बचाउन प्रयास गर्नुभएका चुनराले सरकारको गलत निर्णयका कारण आफूले छोरा गुमाउनु परेको भन्दै पीडा पोख्नुभयो।

“सुविधा सम्पन्न ठाउँमा लग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो, तर हप्ता दिनसम्म पनि जहाज नआउँदा मुटुको टुक्रा (छोरा) गुमाएँ”, उहाँले बीबीसीसँग भन्नुभयो, “यस्तो नियम लागु गर्नु भनेको दुर्गमका बिरामीलाई मर्न बाध्य पार्नु हो।”

जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले अस्पतालले रेफर गरेर पनि सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा हप्ता दिनभित्रै २ जना बच्चाको मृत्यु भएको बताउनुभयो।

“समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो”, उहाँले भन्नुभये, “१२ बजेसम्म मौसम खुल्दैन, दिउसो खुल्छ जहाज आउँदैन।”

साउन १५ गते रेफर गरिएका ७ महिनाका रोहित शाहीको पनि साउन २२ गते मृत्यु भएको थियो।

बोहराका अनुसार दुवै बच्चालाई एनआइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्था थियो। तर यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन।

अहिले पनि हप्ता दिन अघि रेफर भएर नेपालगन्ज जान नसकेका ३ जना सिकिस्त बिरामी अस्पतालमै छन्।

दुर्गमवासीको जीवनमाथि ‘प्राधिकरणको खेलबाड’

हुम्ला

यस्तै मुगुको खत्याड गाउँपालिकाका ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि जहाज कुर्दाकुर्दै ज्यान गयो।

उपचारका लागि सुविधायुक्त ठाउँमा लैजान बाजुराको कोल्टी विमानस्थल पुगे पनि तीन दिनसम्म जहाज नआउँदा उपचार अभावमा ज्यान गुमेको उहाँका परिवारजनले बताएका छन।

प्राधिकरणले साउन १५ गतेबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा (स्टल एयरपोर्ट) विमानस्थलमा दिउसो १२ बजेपछि उडानमा रोक लगाएको जनाएको छ।

ती क्षेत्रका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेका हवाई जहाज र हेलिकप्टरको सेवा १२ बजेपछि बन्द हुँदा आफूहरूले ठुलो सास्ती भोग्नु परेको त्यहाँका नागरिकको गुनासो छ।

प्रत्यक्ष मार खोपेका उनीहरू हचुवाको भरमा गरिएको निर्णयले गर्दा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता सृजना भएको दाबी गर्छन्।

अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणले दिउसो १२ बजेपछिका उडानमा रोक लगाएपछि आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधी, निर्माण सामग्रीको ढुवानीमा समेत असर परेको पाइएको छ।

सर्वसाधारण

प्रायजसो दिउसोतिर मात्रै मौसम सफा
कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्रायजसो दिउसोतिर मात्रै मौसम सफा हुन्छ।

यसअघि भने ती क्षेत्रका विमानस्थलमा दिउसो पाँच बजेसम्म हवाई जहाज र हेलिकप्टर उडान हुने गर्थे।

हचुवाकै भरमा गरिएको निर्णय तत्काल नसच्याए चुनार र कार्कीजस्ता अरू थुप्रै नागरिकले उपचार अभावमा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहिरहने दुर्गमवासी बताउँछन्।

प्राधिकरणले निर्माण सामग्री ढुवानी, कार्गो, चार्टर फ्लाइट र माउन्टेन फ्लाइटमा समेत १२ बजेपछि रोक लगाएको छ।

प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती हुनुको साथै पर्यटन व्यवसायसमेत धराशायी बन्ने अवस्था आएको पर्यटन व्यवसायी गुनासो गर्छन्।

प्रोत्साहन हैन हतोत्साहित

सिमिकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाय दुर्गमको जनजीवनलाई प्रतिकुल प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिन माग गर्नुहुन्छ।

उहाँ भन्नुहुन्छ “कर्णालीवासीलाई हेपेर गरिएको जनता मार्ने निर्णय हामीलाई मान्य छैन।”

१२ बजेपछि उडानमा रोक लगाएपछि चामल ढुवानीको कामसमेत प्रभावित भएको छ।

सिमिकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका बासिन्दाका लागि सतिसल्लाबाट हेलिकप्टरले चामल ओसारी रहेको छ।

उक्त निर्णय अघि दैनिक ९–१० वटा उडान हुदै आएकोमा अहिले भने १२ बजेसम्म मुस्किलले २–३ खेप मात्र चामल ढुवानी हुने गरेको छ।

समयमै चामल ढुवानी गर्न नसकिए यी गाउँपालिकामा हप्ता दिनभित्रै खाद्यान्न सङ्कट हुने उपाध्यक्ष रोकाय दाबी गर्छिन्।

सेफ्टी प्रोटोकललाई कडाइ गरिएको प्राधिकरणको दाबी

हुम्ला

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाको लागि सेफ्टी प्रोटोकललाई कडाइका साथ लागु गरेको बताएको छ।

प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले “कसैलाई दुख दिने नियतले नभई जनताको जीवन सुरक्षाका लागि सेफ्टी प्रोटोकललाई कडाइ गरिएको” बताउनुभयो।

उहाँले भन्नुभयो “मौसम अनुकूल भएको बेला खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, आकस्मिक उद्धारको उडानमा भने रोक छैन।“

उप प्रबन्धक भुलले आकस्मिक उद्धारको उडानमा रोक नभएको बताए पनि गरिब तथा विपन्न नागरिकले चाहेको समयमा हवाई जहाज र हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था देखिन्न।

Share Now

Leave a comment.