Prakash Adhikari April 20, 2018

 

नाम्चे(सोलुखुम्ब), ६ वैशाख(रासस) । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब ४ सय आरोही नाम्चेबाट उकालो लागेका छन् ।

अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन् । बिहिबारसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् ।

तीन हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ । ३ सय ८३ आरोही एसपिसिसीको कार्यालय नाम्चेमा नाम दर्ता गराएर आधार शिविरतर्फ गइसकेको एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिएका छन् ।

एसपिसिसीका अनुसार विभिन्न हिमाल आरोहणका लागि दर्ता गराएका समूहमध्ये ३३ समूहका ३०८ सगरमाथा आरोहण दलका सदस्य छन् । यस्तै ल्होत्से हिमाल आरोहणका लागि छ समूहका ६४ र नुप्त्से हिमाल आरोहणका लागि एउटा समूहका ११ सदस्य आधार शिविर पुगेका छन् ।

महिला आरोही पनि

पर्यटन विभागमा अनुमति लिएका आरोहीको तथ्याङ्क हेर्दा सगरमाथा आरोहणका लागि ५ समूहका ३८ आरोहीदलका सदस्य नाम्चे पुग्न बाँकी छ । पर्यटन विभागमा बिहिबारसम्म विदेशका ३४ र नेपाली ४ समूहका आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएको विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार ३४ समूहका ३ सय २६ विदेशी र ४ समूहका २० नेपाली आरोहीले अनुमति लिएका छन् । नेपाली आरोहण दलमा २० मध्ये १५ महिला छन् ।

यस्तै ८ हजार ५ सय १६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये दुई समूहका २४ आरोही नाम्चे पुगेका छैनन् ।

विभाग र एसपिसिसीको तथ्याङ्कलाई तुलना गर्दा ७ हजार ८ सय १६ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि सरकारसँग अनुमति लिएका दुई समूहका २६ जनामध्ये एक समूूहका १५ आरोही आधार शिविरतर्फ जाने क्रममा छन् ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तथा नेपालीले प्रतिव्यक्ति नेपाली रु ७५ हजार सलामी दस्तुर तिर्नुपर्छ । विभागमा आरोहीले सलामी दस्तुर बुझाएर अनुमति लिनुपर्ने प्रावधान छ ।

ल्होत्से हिमाल आरोहणका लागि विदेशीले सलामी दस्तुरवापत १ हजार ८ सय अमेरिकी डलर बुझाउनुपर्छ भने नेपाली आरोहीले नेपाली रु १० हजार र नुप्त्से आरोहणका लागि विदेशी आरोहीले प्रतिव्यक्ति ६ सय अमेरिकी डलर सलामी दस्तुर बुझाउनुपर्छ ।

सोही हिमाल आरोहणका लागि नेपाली आरोहीले प्रतिव्यक्ति रु ६ हजार सलामी दस्तुर बुझाउँछन् ।

सरकारले प्रत्येक आरोहण समूहमा एक सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोही विभिन्न ट्रेकिङ कम्पनीमार्पmत आरोहणमा जाने गर्छन् । आरोही र सरकारबीच सम्पर्क गराउन विभागले सम्पर्क अधिकृत खटाउने गरेको जनाइएको छ ।

Share Now

Leave a comment.