जेरमी बोवन, अन्तर्राष्ट्रिय सम्पादक
लण्डन(संयुक्त अधिराज्य),३ मंसिर(बीबीसी) । हमास र इजरायलबीचको सङ्घर्षविराम अन्त्य भएसँगै गाजा क्षेत्रमा पुनः लडाइ सुरु भएको छ।
सात दिनको सङ्घर्षविराम अन्त्य भएसँगै इजरायल र हमासले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य र राजनीतिक चुनौती सामना गरिरहेका छन्।
सङ्घर्षविराम यति समयसम्म लम्बिनु आफैँमा कूटनीतिक उपलब्धि थियो।
हमासका लागि यो अस्थित्वको लडाइ हो। हमासले गोली चलाउन वा इजरेलतर्फ रकेट आक्रमण गर्न सक्दासम्म यसले आफूलाई पराजित भएको स्वीकार गर्नेवाला छैन।
अर्कोतर्फ ठूलो सैन्य शक्ति भएको इजरायलका लागि समेत हमासलाई परास्त गर्ने काम अत्यन्तै जटिल छ।
गत अक्टोबर ७ मा हमासले इजरायलसँगको सीमा नाघेर करिब १,२०० जना इजरेली सर्वसाधारणको हत्या गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले “निकै ठूलो बदला” लिने चेतावनी दिनुभएको थियो।
त्यस लगत्तैका केही दिन इजरायली फौज आक्रामक देखिएको थियो। इजरायल सरकारले ह्वाट्सएपमा गरेको एउटा पोस्टमा युद्धको उद्देश्य दोहोर्याउँदै लेखिएको थियोस् “बन्धक बनाइएकाहरूलाई मुक्त गर्दै, हमासलाई समाप्त गर्दै र इजरेली बासिन्दाहरूका लागि गाजा खतरा नरहेको सुनिश्चित गरिँदैछ।”
यो कसरी अघि बढ्छ र अब के हुन्छ भन्ने नेतान्याहु, उहाँका सहयोगीहरू र विपक्षीहरूको मात्रै नभएर अमेरिकी विदेश मन्त्री एन्टोली ब्लिङ्कनको पनि प्राथमिकताको विषय हो।
इजरायल र हमासबीच सङ्घर्ष सुरु भएयता ब्लिङ्कनले इजरायल र यस क्षेत्रमा चार पटक भ्रमण गरिसक्नुभएको छ।
ब्लिङ्कनले सायद “मानवीय सहायता विराम” लम्ब्याउने आफ्नो प्रयास असफल हुन्छ भन्ने पहिल्यै आकलन गरेको हुन सक्नुहुन्छ।
सङ्घर्षविराम अन्त्य भएर युद्ध पुनः सुरु हुने अघिल्लो साँझ उहाँले आफ्नो प्रतिरक्षा गर्ने इजरायली अधिकारलाई अमेरिकाले समर्थन गर्ने दोहोर्याउँदै हमासको फेरी एक पटक भर्त्सना गर्नुभयो।
“युद्धको नियम र अन्तर्राष्ट्रिय मानवीय कानुन दुवैको पालना नगर्ने आतङ्कवादी समूह हमासको सामना गरिरहँदा पनि इजरेलले त्यसको पालना गर्नुपर्छ,” ब्लिङ्कनको जोड थियो।
ब्लिङ्कनले त्यसपछि अबको युद्ध इजरायलले कसरी लड्नुपर्छ भन्नेबारे अहिलेसम्मकै सबैभन्दा सशक्त अभिव्यक्ति दिनुभयो।
आफ्नो सहयोगी राष्ट्रको रूपमा रहेको इजरायलबाट अमेरिकाले के चाहन्छ भन्ने पनि यसले देखाउने भएकाले विस्तृतमा उल्लेख गर्नु उचित हुन्छ।
यसलाई थप प्रस्ट्याउँदै ब्लिङ्कनले भन्नुभएको छ, “नागरिकको जीवन रक्षाका लागि थप प्रभावकारी कदम चाल्नुपर्छ। जसका लागि मध्य र दक्षिणी गाजामा स्पष्टसँग ठाउँहरू तोक्नुपर्छ जहाँ उनीहरू सुरक्षित रहन सक्छन् र गोलाबारीको क्षेत्रभन्दा बाहिर रहन्छन्।”
“यसको अर्थ गाजामा सर्वसाधारणहरूलाई उल्लेख्य विस्थापनबाट जोगाउनु हो। अस्पताल, विद्युत् गृह र पानी वितरण प्रणाली जस्ता जीवनका लागि संवेदनशील पूर्वाधारहरू जोगाउनु हो,” उहाँले थप्नुभयो।
“यसको अर्को अर्थ विस्थापित भएर दक्षिणी गाजा पुगेका नागरिकहरूलाई स्थिति सामान्य हुने बित्तिकै उत्तरतर्फ फर्कने विकल्प दिनु हो। त्यहाँ लामो समयसम्म आन्तरिक विस्थापन हुनु हुँदैन।”
युद्धका सुरुवाती दिनमा यहाँ अमेरिकी राष्ट्रपति जो बाइडन आउनुभएको थियो।
इजरालसँग आत्मियता कायम राख्दै भ्रमण टुङ्ग्याउने क्रममा उहाँले आफ्ना सहयोगीहरूलाई न्याय खोज्ने क्रममा आवेशमा नआउन पनि सचेत गराउनुभएको थियो।
उहाँले सन् २००१ सेप्टेम्बर ११ आक्रमणपछि अमेरिका आवेशमा आएको सन्दर्भको उदाहरण दिन खोज्नुभयो।
अमेरिकी विदेश मन्त्री ब्लिङ्कनको अभिव्यक्तिले बाइडनसँग राम्रो सम्बन्ध नभएका नेतन्याहुले अमेरिकी राष्ट्रपतिको कुरा नसुनेको सङ्केत गर्छ।
इजरायलको दोस्रो चरणको आक्रमण दक्षिण गाजामा हमासविरुद्ध केन्द्रित छ।
यसअघि इजरायलले उत्तरी गाजामा आक्रमण गर्दा उसले प्यालेस्टिनी नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि दक्षिणी गाजामा जान भनेको थियो।
उत्तर जत्तिकै घातक आक्रमण नगरे पनि दक्षिणी गाजा समेत इजरायलको आक्रमणपछि उजाड बनेको छ। गाजाको कुनै पनि ठाउँ सुरक्षित छैन।
इजरेलले हमासमाथि जबाफी आक्रमण सुरु गरेको केही घण्टामै इजिप्टसँगको सीमावर्ती दक्षिणी गाजाको सहर रफाहमा समेत इजरायली आक्रमणमा प्यालेस्टिनीहरू मारिएका थिए।
दक्षिणमा रहेका हमासका पूर्वाधारहरू क्षतविक्षत नबनाएसम्म इजरेलले हमासको अन्य भएको घोषणा गर्न सक्दैन। इजरायलले याह्या सिनवारसहितका हमासका नेताहरू यही दक्षिणी क्षेत्रमा सर्वसाधारणहरूको बस्ती भएका ठाउँमा खनिएका सुरुङभित्र आफ्ना लडाकुहरूसँगै लुकिरहेको ठानेको छ।
इजरायलले उत्तरी गाजाकै शैलीमा दक्षिणमा पनि आक्रमण गर्यो भने थप हजारौँ सर्वसाधारणहरूले ज्यान गुमाउनेछन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजाका मानिसहरूले भोगेको दुर्दशालाई एउटा “विशाल मानवीय प्रकोप” भन्नुभएको छ।
अर्कोतर्फ इजिप्ट र अन्य देशहरूलाई २० लाख मानिसहरूको बसोबास रहेको ठाउँमा ठूलो इजरेली सैन्य उपस्थितिले गाजाबाट कैयौँ मानिसहरूलाई सिनाई मरुभूमिर्फ जान बाध्य बनाउने चिन्ता छ।
प्यालेस्टाइनबाट विस्थापित भएका मानिसहरूका कारण देखिने नयाँ शरणार्थी समस्या मध्यपूर्वका लागि थप समस्याको विषय बन्न सक्छ।
इजरायलले अमेरिकासँग जनाएको प्रतिबद्धता अनुसार नै प्यालेस्टाइनका नागरिकहरूलाई उनीहरू सुरक्षित हुने तोकिएको स्थानमा जान भनेको अवस्थामा पनि इजरायलले हवाई आक्रमणसहित घातक अस्त्रहरू प्रयोग गरेर गरिरहेको युद्ध योजना अनुसार नै जान्छ भन्ने निश्चित हुँदैन।
तर यदि इजरायलले हलुका अस्त्रहरूको प्रयोग गरेर विद्रोहीहरूमाथि प्रतिवाद गर्नेतर्फ मात्रै आफ्नो आक्रमण अघि बढायो भने पनि उसले अहिले बेहोरिरहेको तुलनामा ठूलो मानवीय क्षति सामना गर्नुपर्ने हुनसक्छ।
इजरायलको अबको कदम अमेरिकी राष्ट्रपति जो बाइडनका लागि पनि महत्त्वपूर्ण छ।
किनभने बाइडनले पनि आफ्नै डेमोक्र्याटिक पार्टीका प्रगतिशील खेमाहरूबाट इजरायललाई गरेको समर्थनका कारण आलोचना खेपिरहेका छन्।
बाइडनका प्रमुख कूटनीतिज्ञ एन्टोनी ब्लिङ्कनले अब इजरायल हमाससँग कसरी लड्नुपर्छ भनेर प्रस्टसँग भनिसक्नुभएको छ।
यदि अब पनि इजरायलले जो बाइडनको चाहना विपरीत उत्तरमा जस्तै प्यालेस्टाइनका सर्वसाधारण नागरिकहरूको हत्या गर्यो भने अमेरिकाले उसलाई दिइरहेको समर्थनबारे पुनर्विचार गर्न सक्छ।
अमेरिकाले युद्ध मैदानमा दिइरहेको समर्थन मात्र नभएर संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा दिइरहेको समर्थनबारे पनि पुनर्विचार गर्न सक्छ।
इजरायलको रक्षाका लागि उसले यसअघि कैयौँ पटक सुरक्षा परिषद्मा भिटो प्रयोग गरिसकेको छ।
हमास पराजित भएको छैन। उसले अझै मुक्त नगरेका बन्दीहरूका कारण इजरायलको सैन्य अभियानलाई उसको देशभित्रबाटै मनोवैज्ञानिक दबाबमा राख्न हमासलाई बल पुग्नेछ।
अर्कोतर्फ याह्या सिनवार सहितका हमासका नेताहरूले पनि अमेरिकाले इजरायली सैन्य अधिकारीहरूलाई कम अस्त्र शक्ति प्रयोग गर्न दिएका निर्देशनहरूको भरपुर फाइदा उठाउनेछन्।
यो युद्ध अब नयाँ चरणमा प्रवेश गरेको छ। सँगसँगै यो पूरै क्षेत्र पनि।
गाजामा भइरहेको युद्ध क्षेत्रबाट टाढै रहेका कैयौँ प्यालेस्टिनीहरू र इजरायलीहरू पनि खतरनाक र अनिश्चित भविष्यको भारले थिचिएका छन्।


















