काठमाडौं, ८ माघ । आज भारतको उत्तरप्रदेशस्थित अध्योध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको मूर्तिमा प्राणप्रतिष्ठा गरिंदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी स्वयं सरिक हुने यो ऐतिहासिक धार्मिक अनुष्ठानलाई सम्पन्न गराउने कार्यमा नेपाली नागरिक दुर्गाप्रसाद गौतमले मुख्य आचार्यको भूमिकामा नेतृत्व गर्ने अवसर पाउनुभएको छ ।
अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर “ऐतिहासिक” भएको उहाँले बताउनुभएको छ।
पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु “गौरवको कुरा” भएको आचार्य गौतमले बताउनुभयो।
राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लागेका बेला बीबीसी नेपालीसँगको कुराकानीमा उहाँले “यो नेपाल र नेपालीका लागि पनि गर्वको कुरा” भएकोमा जोड दिनुभयो।
झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा कार्यरत हुनुहुन्छ।
त्यसै वर्ष अगस्टमा राम मन्दिर निर्माण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दा धार्मिक विधिविधान गराउने कार्यमा उहाँ संलग्न हुनुभएको थियो।
‘म शौभाग्यशाली हुँ’
बीबीसी नेपालीसँगको टेलिफोन कुराकानीमा गौतमले आफूलाई अहिले निकै शौभाग्यशाली व्यक्ति भएको जस्तो महसुस भइरहेको बताउनुभएको छ।
उहाँले भन्नुभएको छ, “म शौभाग्यशाली छु। किनभने म नेपालमा बसेको, मेरा पूर्वजले पहिले कहिल्यै संस्कृत अध्ययन गरेका थिएनन्। यहाँ भारतमा पनि धेरै ठूला विद्वान्हरू हुनुहुन्छ तर ईश्वरको कृपाले म यहाँ पुगे।”
“मोदीजीलाई भूमिपूजा गराउँदा मलाई कस्तो भयो होला ? पाँच सय वर्षपछि यो मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ र म गराउँदै छु भन्दा म आफैँले आफूलाई बडो शौभाग्यशाली ठान्छु।”
उहाँले सन् २०२० देखि पटकपटक भारतका उच्च अधिकारीहरू आउँदाखेरि उनीहरूले गर्ने मुख्य पूजामा आफू संलग्न भइरहेको बताउनुभयो।
यद्यपि उहाँलाई नेपालमा राम मन्दिरको मुख्य पुजारी भनिएकोमा गौतमले आफू मुख्य पुजारी नभएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “म मुख्य आचार्य हुँ। मुख्य पुजारी होइन। मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ।”
“मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुन्छ भने आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरूको नेतृत्व गर्ने हुन्छ।”
उहाँले प्राणप्रतिष्ठाका क्रममा कुल १ सय २१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको जानकारी दिनुभयो।
“हामीले १५-१५ जनाको समूह बनाएर कसले के गर्ने भन्ने छुट्ट्याएका छौँ,” गौतमले भन्नुभयो।
प्राणप्रतिष्ठाको बेला गर्भगृहमा कोको हुन्छन् ?
बीबीसीले कतिपय शङ्कराचार्यहरूले प्राणप्रतिष्ठाको विधि नपुग्ने भन्दै गरेको आलोचनाबारे पनि उहाँलाई प्रश्न गरेको थियो।
तर गौतमले “शङ्कराचार्यहरू भगवान्को रूप हुने” भन्दै उहाँहरूका धारणाबारे आफूले टिप्पणी गर्न नमिल्ने बताउनुभयो।
यद्यपि उहाँले शास्त्रीय विधिहरूअनुसार नै प्राणप्रतिष्ठा हुने र त्यसैअनुसार व्यवस्था मिलाइएको दाबी गर्नुभयो।
गौतमले दिएको जानकारी अनुसार प्राणप्रतिष्ठाका क्रममा विधिहरू पूरा गरेर जम्मा पाँच जनालाई मात्र मन्दिरको गर्भगृहमा राख्नेगरी व्यवस्थापन मिलाइएको छ।
“गर्भगृहमा पाँच जना मात्र रहनुहुन्छ हामीले समेत बाहिरबाट मन्त्रोच्चारण गर्ने हो र विधि पूरा गर्ने हो,” उहाँले भन्नुभयो
‘गर्भगृहमा रहने पाँच जना चाहिँ को हुन् त ?’ भन्ने प्रश्नमा उहाले भन्नुभयो, “प्रधानमन्त्री मोदीजी, मुख्यमन्त्री योगीजी (योगी आदित्यनाथ), सरसङ्घचालक मोहन भागवतजी (राष्ट्रिय स्वयमसेवक सङ्घ), आनन्दीवेन पटेलजी (उत्तरप्रदेशकी गभर्नर) र नृत्यगोपाल दासजी (श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष) रहनुहुन्छ।”
उहाँले विशिष्ट व्यक्तित्वहरूले प्राणप्रतिष्ठाको अन्तिम विधि पूरा गर्नुअघि धेरैखाले विधानहरू पहिले नै पूरा भइसकेको हुने बताउनुभयो।
श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले जारी गरेको प्राणप्रतिष्ठाको तालिका अनुसार ज्यानुअरी १६ देखि नै प्राणप्रतिष्ठाका लागि “शुभ संस्कार” सुरु भएको छ।
ट्रस्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामान्यतः प्राणप्रतिष्ठा समारोहमा सात अधिवास हुन्छन् र न्यूनतम तीन अधिवास अभ्यास गरिन्छन्।”
“समारोहको अनुष्ठानको सबै प्रक्रियाहरूको समन्वय, समर्थन तथा मार्गदर्शन गर्न १२१ आचार्य हुन्छन्।”
“श्री गणेशवर शास्त्री द्रविडले सबै प्रक्रियाहरूको निगरानी, समन्वय तथा दिशा(निर्देशन गर्नुहुन्छ तथा काशीका श्री लक्ष्मीकान्त दीक्षित मुख्य आचार्य हुनुहुन्छ।”
गौतमको पृष्ठभूमि
झापाका दुर्गाप्रसाद गौतमले पुरोहितका रूपमा सन् २०२० मा मोदीलाई भूमिपूजन गराउनुभएको थियो। त्यस बेला पनि नेपालमा उहाँको चर्चा भएको थियो।
गौतम झापाको बाहुनडाँगीका स्थायी बासिन्दा हुनुहुन्छ।
नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको उहाँले बताउनुभयो।
बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उहाँअहिले अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य रहनुभएको छ। गौतम स्थानीय एउटा वेद विद्याश्रममा अध्यापन पनि गराउनुहुन्छ।
संस्कृत व्याकरणमा आचार्य गर्नुभएका गौतम अहिले विद्यावारिधिको तयारीमा रहेको बताउनुहुन्छ।


















