Prakash Adhikari January 31, 2024

 

काठमाडौं, १७ माघ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले आगामी बर्षायामदेखि नै मित्रराष्ट्र बंगलादेशमा नेपालबाट उत्पादित विद्युत निर्यात गर्ने प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले आउदो बर्षायाममा नेपालमा उत्पादित ४० मेगावाट विद्युत भारतीय प्रशारणलाईन मार्फत बंगलादेशमा निर्यात गर्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिका एक सदस्यका अनुसार सो विद्युत ढल्केबार मुजफ्पुर प्रशारण लाईनमार्फत प्रबाह गरेर भारतीय प्रशारण लाइनमा पठाइने छ । भारत र बंगलादेशबीच पनि अन्तरदेशीय प्रशारण लाइन छ । बंगलादेशले सोही प्रशारण लाइनको निर्यातबिन्दुबाट नेपालबाट लिएको ४० मेगावाट विद्युत लिएर आफ्नो देशको प्रशारण लाइनमा लैजाने छ ।

बंगलादेशले बहरामपुर भेरामारा भारत बंगलादेश अन्तरदेशिय प्रशारणलाइनबाट ५०० मेगावाट विद्युत आयात गर्दछ भने त्रिपुरा केमिला प्रशारणलाईन अन्तरआबद्धता आयोजनाबाट १ सय ५० देखि १ सय ६० मेगावाट विद्युत आयात गर्दछ ।

बंगलादेशको सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्न गत डिसेम्बरमा निर्णय गरिसकेको थियो । बंगलादेशको मन्त्रिपरिषद् अन्तरगतको आर्थिक मामिला समितिले यससम्बन्धी प्रस्तावमा डिसेम्बर ६ मा प्रारम्भिक सैद्धान्तिक सहमति दिएको थियो ।

नेपालको ४० मेगावाट विद्युत आफ्नो प्रशारणलाईनबाट बंगालादेश निर्यात गर्न भारतले सहमति दिएको छ । नेपालले ढल्केबारबाट बंगलादेशलाई ४० मेगावाट विद्युत दिने छ । बंगलादेशले भारतसंगको अन्तरदेशीय प्रशारण लाईन बिन्दुबाट त्यति नै क्षमताको विद्युत लिने छ ।

झण्डै एक बर्ष पहिले नै नेपाल, भारत र बंगलादेशका अधिकारीहरुबीच २०८० को बर्षादेखि नै भारतीय प्रशारण लाइनमार्फत नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नदिन सहमत भएका थिए ।
सन २०२३ को फ्रेबुअरीमा भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकहरूमा उक्त सहमति बनेको थियो। सो सहमतिबारे पछि बंगलादेशका ऊर्जा सचिवलाई जानकारी गराइएको थियो ।

बैठकमा भारतीय बाटो हुँदै बाङ्ग्लादेश विद्युत् पठाउने सहमति हुनु अत्यन्त राम्रो उपलब्धि रहेको तात्कालीन ऊर्जा सचिव दिनेश घिमिरले बताउनुभएको थियो । “नेपालबाट बाङ्ग्लादेश विद्युत् पठाउनेबारे अत्यन्त राम्रो प्रगति भएको छ। हामीले विगतदेखि नै यो कुरा उठाउँदै आएका थियौँ। यसपालि भारत पक्षले सञ्चालनमा रहेकै आयोजनाबाट विद्युत् पठाउने भए हामी हेर्छौँ भनेको थियो।” उहाँले भन्नुभएको थियो , “हामीले भारतीय लगानी रहेको ५२ मेगावाट क्षमताको लिखु ४ आयोजनाबाट विद्युत् पठाउँछौँ भन्यौँ। उहाँहरूले त्यसका लागि वातावरण मिलाउँछौँ भन्नुभयो।”

त्यसबेलादेखि नै नेपाल र भारतका केन्द्रीय विद्युत् नियामकहरूको स्वीकृति लिने तथा अन्य केही कागजी र प्राविधिक विषय मिलाएर भारतीय बाटो र भारतका पूर्वाधारबाट बाङ्ग्लादेश विद्युत् पठाउन सकिने मार्ग प्रशस्त भएको थियो । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले भने सबैतिरको प्रशासनिक प्रक्रिया मिलाउने जिम्मा प्राधिकरणको व्यवस्थापनलाई दिएको छ ।

 

Share Now