Prakash Adhikari February 10, 2024

क्वाललम्पुर(मलेशिया), २७ माघ । एसीसी महिला प्रिमियर कप २०२४ अन्तरगत मलेसियामा हंगकंगसंग भैरहेको खेलमा नेपालले ९४ रनको लक्ष्य पाएको छ।

मलेसियाको क्वालालाम्पुरस्थित सालागंर टर्फ क्लबमा टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रनको योगफल तयार पारेको छ।

हङकङका लागि कप्तान चाङ या किङ केरीले २१ रन बनाएकी थिइन। त्यस्तै मर्यम बीबीले १९, यास्मिन दस्वानीले १५ रन र ओपनर नतासा माइल्सले ११ रन बनाईन्। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

हंगकंगलाई रोक्ने क्रममा नेपालकी पुजा महतो र रुविना क्षत्रीले समान २ विकेट लिए। सीता रानामगर र कविता जोशीले समान एकएक विकेट लिए ।

कप्तान इन्दु बर्माको नेतृत्व रहेको नेपालको प्लेइङ ११ मा अप्सरी बेगम, डली भट्ट, सीता रानामगर, कविता जोशी, काजल श्रेष्ठ, सम्झना खड्का, रोमा थापा, पूजा महतो, रुविना क्षेत्री र कविता कुँवर रहेका छन् भने अश्मिना कर्माचार्य, संगीता राई, विन्दु रावल जगेडा खेलाडीको रुपमा बेञ्चमा छन् ।

नेपाल रहेको समुह बी मा नेपालसहित हङकङ, भुटान र मालदिभ्स छन्। प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। समुहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।

Share Now