कीर्तिपुर(काठमाडौं), २२ फागुन । नेपाल,नेदरल्याण्ड्स र नामिबियाबीच भएको त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय खेलको उपाधि नेदरल्याण्ड्सले जितेको छ ।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड्सले सो उपाधि हासिल गरेको हो ।
खेलमा पहिले टस जितेर ब्याटिड. रोजेको नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेटको क्षतिमा १ सय ८९ रन जोड्दै हासिल गरेको थियो ।
नेदरल्याण्ड्सलाई विजयी बनाउन एटिड. माइकल लेभिटले ५४, साईब्राण्ड इंगलब्रिचले ४८, विक्रमजित सिंहले २९,म्याक्स ओ दाउदले २२, टिम भान डर गुटेनले २१,रिओलफ भान डर मर्बि, तेजा निडामानुरु र स्क्ट एडवार्डले २ । २ रनको योगदान दिएका थिए ।
नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नेपाल कुशलमल्लले ४, अविनास बोहोरा र दीपेन्द्रसिंह ऐरीले १ । १ विकेट लिएका थिए ।
यस पहिले आज बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ८४ रन बनाउदै नेदरल्याण्ड्ससामू १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए ।
दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् ।
पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान ६/ ६ रन बनाएका थिए ।
नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई दुई विकेट लिए ।
नेपाली टोली अब हङकङमा हुने अर्को टी–२० त्रिकोणात्मक सिरिज खेल्न जानेछ। नेपालले त्यहाँ हङकङ र पपुवा न्युगिनी सम्मिलित सिरिज खेल्नेछ।
नेपालले आगामी जुन जुलाइमा वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकपको तयारी स्वरुप टी–२० सिरिज खेलिरहेको छ ।