Prakash Adhikari March 9, 2024
हंगकंग(चीन), २६ फागुन  ।  हङकङमा आज भइरहेको  नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा हंगकंगले नेपालसामु २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हंगकंगको मोड.कोकस्थित क्रिकेट मैदानमा पहिले टस जितेर नेपालले फिल्डिडं रोजेपछि हंगकंगले ब्याटिड. गरेको थियो ।
हंगकंगका लागि बाबर ह्यातले १ सय १० रन, अन्शय रथले ३९, मार्टिन कोट्जीले ३१,अजिज खानले २१ रनको योगदान गरे । क्याप्टेन नियामत खान, जेमी एटकिन्सन र यस्मिन मिर्तजाले कुनै रन जोड्न सकेनन् ।
हंगकंगलाई रोक्ने क्रममा नेपालका आकाश चन्दले ३ तथा रसिद खान,आशिफ शेख र प्रतिश जिसीले एक एक विकेट लिए ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ ।
त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
Share Now