ढाका(बंगलादेश), २८ फागुन(बीबीसी) । नेपालबाट बिजुली किन्ने प्रक्रिया लम्बिरहँदा बाङ्ग्लादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले आगामी महिनाभित्र सम्झौता हस्ताक्षरको टुङ्गो लाग्नसक्ने बताउनुभएको छ।
बीबीसी बाङ्गलासँग गरेको कुराकानीमा उहाँले उक्त मामिलामा ९० प्रतिशत विषयको टुङ्गो लागिसकेको बताउनुभएको छ।
नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा ढिलाइ भएको बताइन्छ।
बंगलादेशका ऊर्जा राज्यमन्त्री हमिदले भारतको बाटो हुँदै बिजुली ल्याउँदा उसलाई तिर्नुपर्ने ह्विलीङ चार्ज वा शुल्कबारे समेत टुङ्गो लागिसकेको बताउनुभएको छ।
तर उहाँले कति मूल्यमा नेपालसँग किन्न लागेको भन्नेबारे चाहिँ सम्झौतामा हस्ताक्षर भइसकेपछि मात्र भन्न सकिने जबाफ दिनुभएको छ।
यसअघि नेपालका अधिकारीहरूले चाहिँ नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि प्रति युनिट शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा त्यससम्बन्धी सम्झौतामा केही ढिलाइ भइरहेको बताइरहेका छन्।
यद्यपि दुवै देशबीच बिजुली खरिद तथा बिक्रीबारे सहमति बनिसकेकाले आगामी केही दिनभित्रै शुल्कबारे पनि सहमति जुट्नेमा नेपाली अधिकारीहरू आशावादी देखिएका छन्।


















