Prakash Adhikari March 26, 2024

काठमाडौँ, १३ चैत्र । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली आगामी एसीसी महिला एसिया कप २०२४ मा प्रतिस्पर्धा गर्न पाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो ।

प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको छ ।

यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टी २० एसिया कप खेलेको थियो ।

यसपटकको एसिया कप पनि टी २० प्रतियोगिता रहनेछ ।

एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तान, जुलाई २१ मा युएई र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।(स्रोतः हाम्रो खेलकुद)

Share Now