काठमाडौं, १३ चैत्र । नेपालको राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालक नेपाल वायुसेवा निगम र भारतको प्रतिष्ठित हवाई सेवा प्रदायक एयर इन्डियाबीचमा सहकार्यको लागि छलफल भएको छ।
निगम व्यवस्थापनले दुई वायुसेवा प्रदायक कम्पनीहरुबीच प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको जानकारी दिएको छ ।
नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु बीच पहिलो चरणको छलफल पश्चात निगमका कार्यकारी अध्यक्ष श्री यूबराज अधिकारीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक क्याम्पवेल विल्सनसँग एयर इन्डियाको मुख्यालय नयाँ दिल्लीमा भेट गरेको छ । भेटघाट अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निगमले जनाएको छ ।
यसबाट दुवै वायुसेवा कम्पनीबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास गरिएको छ ।


















