Prakash Adhikari July 29, 2024

ब्राम्पटन(क्यानडा), १४ श्रावण(एजेन्सी) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भान्कुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ ।

ब्राम्पटनमा भएको खेलमा नेपाली खेलाडी सम्मिलित भान्कुभर नाइटस् १० रनले मोन्ट्रियल टाइगर्ससंग पराजित भएको हो ।

जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भान्कुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए ।

त्यसबाहेक रिजा हेन्ड्रीक्सले ३४ तथा डवेन प्रिटोरियसले ३० रन जोडे । हर्श ठाकेरले १८ रन बनाए ।

भान्कुभरलाई रोक्ने क्रममा मोन्ट्रियलका आयान अफजल खानले ३ तथा कलिम सनाले २ विकेट लिए । एक विकेट अज्मतुल्लाह ओमारजाईको नाममा रह्यो ।

त्यसअघि टस जितेर पहिला बलिङ गरेको भान्कुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको थियो ।

भान्कुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने मौका पाएनन् ।

यस्तै भान्कुभरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए ।

मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए । यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन बनाएका थिए भने अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए ।

टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे ।भान्कुभरको अर्को खेल बिहीबार हुनेछ ।

Share Now