काठमाडौं, १७ श्रावण । आजदेखि नेपालमा काभा महिला भलिबल नेसन्स लिग २०२४ सुरु हुँदैछ ।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित इरान, भारत, श्रीलङ्का र माल्दिभ्सको सहभागिता रहेको छ।
उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच भिडन्त हुने छ । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुने समय तालिका रहेको छ ।
नेपालले अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा गरिसकेको छ । टोलीमा सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी, लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट र सेटर प्रगति नाथ छन् ।
मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।
सबैको जित्ने दावी
प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् ।
आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको तयारीले टिम मजबुत रहेका बताइन् । रसियासँग खेलेपछिको पछिल्लो दश दिन ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रहेको उनले जानकारी दिइन् ।
श्रीलंका पनि राम्रो तयारी पश्चात नेपाल आइपुगेको हो । तीन महिनाको तयारी पछि टिम उत्कृष्ट लयमा रहेको र सबै खेल जित्न उत्तिकै मिहिनेत गर्ने कप्तान थीलीनी परेराले बताइन् ।
उनले घरेलु टोलीलाई दर्शकको साथ रहने भएपनि यो पटक उपाधि नै जितेर कोलम्बो फर्कने लक्ष्य लिएर काठमार्डौ आएको दाबी गरिन् ।
प्रमुख दाबेदार तथा दक्षिण एसियाली जाएन्ट भारतकी कप्तान जीनी कोभात शाजीले टिम उत्कृष्ट रहेको र राम्रो तयारी गरेको बताइन् । पछिल्लो काभा च्याम्पियनसिप भारतले जितेको र यो पटक पनि उपाधि नै लक्ष्य रहेको जिकिर गरिन् । पहिलो दिन बिहीवार भारतले इरानसँग प्रतिस्पर्धा गर्नेछ ।
यो पटक इरानको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । कप्तान सागयग हसनखानीले अन्डर २० टिम रहेको भन्दै राम्रो नतिजाको लागि खेल्ने बताइन् ।
इरान र भारतबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
माल्दिभ्स आफ्नो तीन सिनियर खेलाडी विना नेपाल आएको हो । उनीहरू अहिले भुटानमा बीच भलिबलमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु आइतवार नेपाल आइपुग्नेछन् । सिनियर खेलाडी नहुँदा पनि उत्कृष्ट प्रदर्शन गर्ने फथिमात जुजानले बताइन् ।
सहभागी सबै टिम तयार छन् भने आयोजक नेपाल भलिबल संघले पनि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


















