Prakash Adhikari September 19, 2024
काठमाडौँ, ३ असोज :संविधान दिवसको उपलक्ष्यमा उपराष्ट्रपति रामसहायप्रकाश यादव, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले देश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ।
समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना नहोस्ः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवस–२०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो ।
उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशीतालगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड दिनुभयमे । “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै रोजगारका अवसर प्राप्त हुनेगरी काम गर्न सबैलाई संविधान दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले संविधानको प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ उल्लेख हुनु र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत हुनुले संविधानको गरिमा र जनताको सर्वोच्चतालाई पुष्टि गरेको उल्लेख गर्नुभएको छ ।
संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा पनि परिभाषित गरेको जनाउनुहुँदै उहाँले नेपाली नागरिकलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूति गर्दै एकता र बन्धुत्व भावलाई बढावा दिने प्रयास संविधानले गरेको उल्लेख गर्नुभएको छ । “सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानता र न्यायसम्बन्धी हक तथा शिक्षा, स्वास्थ्य, खाद्य, रोजगार, स्वच्छ वातावरण र सामाजिक न्यायलगायत अधिकार ‘मौलिक हक र कर्तव्य’ मै समावेश गरिनु सकारात्मक त छँदैछ, यसले संवैधानिक उच्चता र गरिमालाई पनि दर्शाउँदछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ पटक–पटक भएका जनआन्दोलन, विद्रोह र अधिकार प्राप्तिका सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली, घाइते र अङ्गभङ्ग भएकाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले लोकतन्त्र, समावेशीता एवं अग्रगामी परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण अग्रजप्रति सम्मानका साथ संविधानको कार्यान्वयनमार्फत् नेपाली नागरिक र राष्ट्रहित तथा मुलुकको समृद्धि एवं दिगो विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।
इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुख घिमिरे
 सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभयो । “नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।”
सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गर्नुभयो ।
सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ, “संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।”
सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
 प्राप्त उपलब्धिको रक्षा  गर्दै थप उपलब्धिका  दिशातर्फ अग्रसर हुनुपर्छःअध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन सक्दैनन् । विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुनेछ ।”
संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझैँ केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउनुहुँदै उहाँले संविधानअनुकूलका कानुन छिटो बनाई शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “दिवसले संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त होस्, संविधान दिवसको हार्दिक शुभकामना ।”
यसैगरी नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्नुहुँदै उहाँले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गर्नुभयो । “दशवर्षे सशस्त्र युद्ध, २०६२÷६३को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका मधेस आन्दोलन, आदिवासी जनजाति, थारू, दलितका विभिन्न आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएको हो”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने गरी जारी संविधानमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीलगायत महत्वपूर्ण उपलब्धि लिपिबद्ध गरी आम नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी भएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्णपालनाका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।”
अध्यक्ष दाहालले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना र राजनीतिक परिवर्तनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता तथा घाइते, अपाङ्गप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
Share Now