Prakash Adhikari October 25, 2024

काठमाडौं, ९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले अनुसन्धानको लागि थुनामा राख्न ७ दिन म्याद थपेकै दिन रुपन्देही जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ आदेश जारी गरेको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे छानबिन गर्नको लागि रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । उनीसंगै सो सहकारीको रकम अपचलनमा पक्राउ पूर्जी जारी हुनेको संख्या ४० पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएको बताइएको छ ।

प्रहरीले गत वैशाख ३ गते सहकारीको रकम ठगी गर्ने २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बिहीबार पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी सहित १२ जनालाई जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानको लागि पक्राउ पुर्जी जारी भएको छ ।

यस अघि पक्राउ पूर्जी जारी भएका २८ जना मध्ये ८ जना पक्राउ परेका छन् । जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन्। जीवी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार रहेका छन् ।

सहकारीको रकम ठगी प्रकरणमा पूर्व गृहमन्त्री लामिछाने र पूर्व डिआइजी जोशी पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलनको आरोपमा जिल्ला अदालत कास्कीको आदेशमा थुनामा हुनुहुन्छ । लामिछाने र जोशीसहित बिहीबार पक्राउ पुर्जी जारी हुनेमा रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जीवी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ , रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारी हुनुहुन्छ।

रवि र छविले सुप्रिमको कति कुम्ल्याए ?

देशमा विभिन्न सहकारीको रकम अपचलनमा मुछिएका रवि लामिछाने र छविलाल जोशीले बुटवलको सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा लगेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

उक्त मिडियाको अध्यक्ष जीवी राई हुनुहुन्थ्यो भने जोशी पूर्वउपाध्यक्ष । जसमा जोशीको नामबाट २ करोड ५० लाख रुपैयाँ र रविको नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ ।

गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर धनी हुनुहुन्थ्यो. । त्यस बेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

टिभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बन्नुभयो । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो । त्यस्तै कुमार रम्तेल, भूपेन्द्रबाबु राईलगायतको पनि शेयर रहेको थियो ।

सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा सारिएको विषयमा जोशीसँग यसअघि नै रुपन्देहीमा दुई दिन बयान लिएर पोखरा पठाइएको छ ।

यता सम्पत्ति शुद्धीकरणको तरबार

सर्वसाधरण जनताले गाँस काटेर राखेको वचत सहकारीको नियम विपरीत गोर्खा मिडियामा खिचेर अपचलन गरेको विषयमा संसदको विशेष समिति र अहिले प्रहरीको अनुसन्धानको घेरामा पर्नुभएका रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा पनि तानिएको छ ।

विभागको प्रारम्भिक अनुसन्धान अधिकृतले रवि लामिछाने र जीबी राईले ग्यालेक्सी टेलिभिजनमा लगानी गर्ने क्रममा बैंक वा वित्तीय संस्थाबाट ऋण लिनुभएको छ कि छैन भनेर सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको छ ।

सम्पत्तिको स्रोत पुष्टि नहुने गरी ग्यालेक्सीमा लगानी गरिएको पाइएमा रवि र जीबीमाथि सम्पत्ति शुद्धीकरण ऐन बमोजिम पनि कारबाही हुने निश्चित जस्तै देखिएको छ।

Share Now