काठमाडौं, १ माघ । मकर संक्रान्तिका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री के.पी. शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुलाई शुभकामना दिनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
माघीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।
यसै अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजै जारी गर्नुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक हाम्रो मुलुकमा विभिन्न समुदायले मनाउने मौलिक चाडपर्वले एकापसमा भ्रातृत्व, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताउनुभएको हो ।
“पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरुको आदर्शबाट सिक्ने र उहाँहरुको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।”
दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय योग दिवस मनाइएको बताउनुभयो ।
“योग यस भूमिको उपज, पूर्वजहरु, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “योगको महत्व अझ बढी प्रखररुपमा प्रकट भएको र मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ्य रहनु हो, शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनु, स्वस्थ्य रहनका लागि योगअसाधारण उपयोगी छ, साधना र लामा ध्यान चिन्तकका लागि आवश्यक हुन सक्छ ।”
विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका र विश्व भनेको धर्ती र मानव समाज भएको प्रधानमन्त्रीको भनाइ छ । प्रकृति र मानव समाज सन्तुलन कायम यस ठाउँलाई आदियोग भूमि भन्न सक्ने उल्लेख छ । “आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसकारण शिवलाई आदियोगी मान्दछौँ । योग आदियोगी शिवबाट शुरू भएको हो । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो । ”
प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, “योग अलिक ओझेल पर्दै गयो, विभिन्न प्रकारका भ्रम, भ्रान्ति पनि यसमा मिसिए, अहिले योग भ्रान्तिबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरूरी छ, मानव समाजव्यापी हुन जरूरी छ, यस प्रयासमा जुटेका छौं ।”
प्रधानमन्त्री ओलीले योग कुनै धर्म विशेषसँग सम्बन्धित नभएको र योग अध्यात्मसँग सम्बन्धित नभइ दर्शनको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित भएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “दर्शनकै प्रारम्भ यहीँबाट भयो, योगबाट दर्शनको प्रारम्भ भयो, योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो । संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ ।त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ ।”
नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।
‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वलाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको बताउनुभएको छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भाव बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने उहाँको भनाइ छ ।
सभापति देउवाले यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्णमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी÷माघे सङ्क्रान्ति÷मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।
माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्नुभएको छ ।
“यो पर्व किसानहरूले नयाँ कृषि ‘सिजन’को सुरुआतका रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।
माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको र यसले सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना बलियो बनाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ, “यस पर्वले विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु ।”