
काठमाडौँ, २५ फागुनः नेपाल–भारत उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर जबराको स्मरण तथा सम्मानमा ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरः लिडरसिप, भिजन एन्ड लेगेसी’ कार्यक्रम आयोजना गरिएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुनिल केसीले सङ्घ स्थापनाको ३० वर्ष पुगेका अवसरमा संस्थापक अध्यक्षको सम्मानमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले राणाले निजी क्षेत्रबाट इमान्दारितापूर्वक कर्तव्य पूरा गरी स्वच्छ रूपमा पनि उद्यम गर्न सम्भव छ भन्ने मान्यता स्थापित गरेको स्मरण गर्नुभयो ।
नेपालको औद्योगिक विकासका लागि विदेशी लगानी ल्याउन पनि उहाँको ठूलो भूमिका रहेको केसीको भनाइ थियो । “स्व राणाकै अगुवाइमा भारतीय कम्पनी आइटिसीलाई नेपालमा ल्याइएको हो, नेपाल–भारतसँगको व्यापार साझेदारीलाई गति दिनका लागि पनि उहाँको ठूलो योगदान छ । जसको उदाहरणका रूपमा सूर्य नेपाल प्रालि, भोटेकोशी हाइड्रोपावर कम्पनी, सिप्रदी टे«डिङलगायतका कम्पनी रहेको छन्”,उहाँले भन्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष सिर्जना राणाले स्व राणा नेपालको अग्रणी तथा दूरदर्शी व्यवसायी भएको र नेपालको पर्यटन विकासमा ठूलो योगदान रहेको चर्चा गर्नुभयो । “पर्यटनको विकास र प्रवर्द्धनका साथै सबैलाई एकजुट बनाउँदै उहाँले होटल एसोसिएसन नेपाल तथा पाटा नेपाल च्याप्टरको स्थापना गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।
नेपालस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तवले नेपाल–भारत उद्योग वाणिज्यको विकासमा सङ्घले निर्वाह गरेको भूमिका अत्यन्त सराहनीय रहेको बताउनुभयो । लामो समयदेखि अघि बढ्न नसकिरहेको नेपाल–भारत द्विपक्षीय वाणिज्य सचिवस्तरीय समितिको बैठक हालै सम्पन्न भएको उल्लेख गर्दै उहाँले नेपाल र भारतमा रहेका नागरिकहरूले आ–आप्mनो देशमा भुक्तानी पठाउन एसबिआई बैङ्कमार्फत युनोकार्ड र रुपे एपमार्फत सहज व्यवस्था भएको बताउनुभयो ।
त्यस अवसरमा स्व प्रभाकरशमशेर जबराका छोरा सिद्धार्थशमशेर जबराले बुबाले उद्योग, पर्यटनलगायत क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । “आजका दिनमा हामीले आइटिसी, टाटा, भारत पेट्रोलियमका साथै विभिन्न अन्तरराष्ट्रिय कम्पनीसँग साझेदारी गरिरहेका छौँ, बुबाले यसका लागि कहिल्यै पनि राजपरिवारसँगको निकट सम्बन्ध प्रयोग गर्नुभएन”, उहाँले भन्नुभयो,“बुबाले केही समय राष्ट्रिय योजना आयोग र पछि राष्ट्रसङ्घमा पनि काम गर्नुभयो । सन् १९६० को दशकमा सोल्टी होटलको सुरुआतदेखि होटलमा ओवराय जस्तो प्रख्यात विदेशी ‘ब्रान्ड’ ल्याउनुभएको थियो ।”
उहाँले आफ्ना पिताको राजतन्त्र र लोकतन्त्रमा अविचलित आस्था र विश्वास रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख वक्ता अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा कृष्णमुर्थी भेन्कटा सुव्रमण्यमले समावेशी विकास कठिन भए पनि भारतले पछिल्लो समय समावेशी रूपमा विकास हासिल गरेको बताउनुभयो । उहाँले पछिल्लो समय भारतले उच्चतम नैतिकताका साथ आर्थिक प्रगति गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घले प्रकाशन गरेको बिजनेस क्लाइमेट सर्भे २०२४ पुस्तक पनि सार्वजनिक गरिएको थियो ।