Prakash Adhikari April 12, 2025

काठमाडौं, ३० चैत्र । नेपालका युवा वैज्ञानिक आरिफ अलीले विश्व वैज्ञानिक जगत्मा हलचल दिनुभएको छ । उहाँले प्रतिपादित गरेको ‘एन्सियन्ट थ्योरी अफ इभ्रिथिड.( Ancient Theory of Everything) अर्थात हरेक वस्तुको प्राचीन सिद्धान्तप्रति विश्वका वैज्ञानिकहरुले गहिरो चासो दिन थालेका छन् ।

उहाँको नयाँ सिद्धान्तमाथि छलफल गर्न जर्मनीका वैज्ञानिक तथा अनुसन्धानकर्ता कोेलिन पावर र मेक्सिकोकी वैज्ञानिक डा. हाइक बिलेक नेपाल आइपुग्नुभएको छ ।

उहाँहरुले नेपाल बसाइँमा नेपाली युवा वैज्ञानिक अलीसंग उहाँको एन्सियन्ट थ्योरी अफ इभ्रिथिड.मा छलफल गर्नुहुनेछ । यो बसाईमा यस सम्बन्धी तीनवटा अनुसन्धान पत्रमा छलफल हुने नेपाली युवा वैज्ञानिक अलीले बताउनुभयो ।

आफूलाई पेशाले इञ्जिनियर र रुचीले भौतिक विज्ञानका विद्यार्थी भन्न रुचाउनुहुने अली जिज्ञासाका कारण आफू नविनतम् सिद्धान्तको प्रतिपादनसम्म आइपुगेको बताउनुहुन्छ । “मलाई मेरा गुरुले ज्ञानमा नम्र, अनुसन्धानमा निडर र भविष्यमा अटल रहन सिकाउनु भयो । त्यही पथमा हिड्दा म यहाँ आईपुगे ।,” नेपाल आइपुग्नुभएका अतिथि वैज्ञानिकहरुसंगको साक्षात्कार कार्यक्रममा अलीले बताउनुभयो ।

जवाहरलाल नेहरु   प्राविधिक विश्वविद्यालय काकिनादा भारतबाट स्ट्रक्चरल इन्जिनियरिड.मा स्नातकोत्तर गर्नुभएका अलीले युवापुस्तालाई विज्ञानप्रति मोह जगाउन ‘न्युटन टू नाउ (Newton to Now)’ भन्ने पुस्तक पनि लेख्नुभएको छ ।

झापाको भद्रपुरका अली अहिले भ्रद्रपुर नगरपालिकामा कार्यरत पनि हुनुहुन्छ । आफ्नै प्रयासमा अध्ययन र अनुसन्धान गरिरहनुभएको छ । आफ्नो अध्ययनको बारेमा त्रिभुवन विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)का प्राज्ञहरुसंग परामर्श भैरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले आफ्नो अनुसन्धानमा दुबाई कल्चर फाउण्डेशनसंग पनि सहकार्य रहेको र यससम्बन्धी अनुसन्धान पत्र टर्की जर्नल अफ फिजिक्समा पुनरावलोकनको प्रक्रियामा रहेको बताउनुभयो । “यो पुनरवलोकनको प्रक्रियामा छ । प्रकाशित हुन किन ढिलो भएको छ भने यसले सम्पूर्ण पदार्थ भौतिक विज्ञानका हालसम्मका मान्यतालाई चुनौती दिएको छ । विश्व समुदायले त्यसलाई स्वीकार गर्न सोचेजस्तो सहज छैन ।”,  उहाँले प्रकाशकहरुको भनाई उद्धृत गर्दै भन्नुभयो ।

उहाँले थप्नुभयो,”कोपर्निकस(१४७३ देखि १५४३) , ग्यालिलियो ग्यालेलि(१५६४ देखि १६४२)आइज्याक न्युटन(१६४३ देखि १७२७), अल्बर्ट आइन्स्टाइन(१८७९ देखि१९५५) का समय र उहाँहरुले आविष्कार गर्नुभएका सिद्धान्तको समयावधिलाई हेर्ने हो भने भौतिक विज्ञानमा झण्डै १०० बर्षमा नयाँ मान्यता स्थापित भएको देखिन्छ । पुराना मान्यतामा पुरै खण्डित त हुँदैन तर त्यसमा सुधारसहितको नयाँ मान्यता विकसित हुँदै आएको छ ।। हामीलाई थाहा छ नि उहाँहरुको अनुसन्धान पनि पूर्ण थिएन । सानातिना कमी कमजोरी र सुल्झन नसकेका विषय हरेक समय देखिन्छन् । त्यसपछिको यो १०० बर्षले नयाँ सिद्धान्तको प्रतिपादन खोजेको छ । समय अहिले सजिलो छ । पहिले पुस्तकालयमा पुगेर ग्रन्थहरु खोज्नुपर्दथ्यो । अहिले गुगल गरे हातहातमा सूचना आउछ । त्यसैले विज्ञानले नयाँ सिद्धान्तको खोजी मागेको छ । हाम्रो प्रयास त्यसैको प्राप्तिमा केन्द्रित छ ।”

फरक धर्ममा विश्वास गर्ने भएर पनि आफूलाई हिन्दु धर्मका पूरा ग्रन्थहरुले गहिरो छाप छाडेको उहाँले बताउनुभयो । “मलाई एक साथीले गीता उपहार दिनुभयो । गीता पढेपछि त्यसलाई बुझ्न पुराण पनि पढे । झन चाख बढ्यो । त्यसपछि वेद पढे । उपनिषद् पढे । यी ग्रन्थहरुले ज्ञानलाई कति सूत्रवद्ध गरेका रहेछन् । उपनिषद्मा पनि चौथो आयामको कुरा रहेछ । एन्सियन्ट थ्योरी अफ इभ्रिथिड.ले पनि चौथो पदार्थको आयामलाई उजागर गरेको छ । हाम्रो खोज र निष्कर्ष वेदसंग मिल्न गएको छ ।” ,अलीले बताउनुभयो ।

अलीको एन्सियन्ट थ्योरी अफ इभ्रिथिड.ले आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तलाई चुनौती दिएको छ । उहाँले गुरुत्व, समय बिलम्ब र ब्रह्माण्डको संरचनालाई नयाँ कोणबाट व्याख्या गर्न खोज्नुभएको छ ।

आरिफले आफ्नो अनुसन्धान पत्रका बारेमा सिंगापुर, बंगलादेश, युनाइटेड अरब इमिरेट्स,ओमान,थाइल्याण्ड, मलेशिया र भारतमा आयोजित विभिन्न वैज्ञानिक मञ्चमा पर्याप्त छलफल गराइसक्नुभएको छ । उहाँको पोडकाष्ट र सार्वजनिक कार्यक्रममा नेपाल र विश्वका १ लाख भन्दाबढी युवाहरु जोडिएका छन् ।

अन्तराष्ट्रिय विज्ञान जगतमा नेपालको चर्चा सुरु भएको छ । नेपालको आवाज स्पष्ट सुनिन थालेको छ । यो त सुरुआत मात्र हो ।आरिफले पत्रकार भेटमा भन्नुभयो ।

आरिफको नयाँ सिद्धान्तले डोर्याएर नेपाल आईपुगेको बताउने मेक्सिकन वैज्ञानिक हाइक बिलेकले भन्नुभयो, “हामी नेपाल आउन बाध्य भयौ किनभने यस्तो सोंचलाई प्रत्यक्ष अनुभव गर्नु आवश्यक थियो । डा हाइक बिलेक एटोमिक जियोमेट्री(Atomic Geometry) र फ्याक्टरल (Fractal)केमेष्ट्री जस्ता अवधारणाहरु विकास गरेर शिक्षा र विज्ञानलाई अन्तर विषयगत ढंंगले नयाँ स्वरुप दिनुभएको छ ।”

डा.कोलिन पावरले नेपाली वैज्ञानिक अलीको चौथो आयाम निकै चाखलाग्दो विषय भएको बताउनुभयो । संख्यात्मक प्रणाली र ज्यामितीको गहिरो सम्बन्ध खोज्ने कार्यमा ख्याति कमाउनुभएका डा. कोलिन पावर इन टु इन्फिनिटी( In2infinity)का सहसंस्थापक पनि हुनुहुन्छ । उहाँ अहिले कृतिम बौद्धिकता(आर्टिफिसियल इन्टिलिजेन्ट, एआई)को उपयोग गरेर ध्यान,योगसहित आध्यात्मवादका वैज्ञानिक पक्ष पत्ता लगाउन कोडिड. गर्ने काममा क्रियाशील हुनुहुन्छ ।

आरिफ अलीको नयाँ सिद्धान्तप्रति ‘बट ह्वेर इज द रेन्बो( But Where is Rainbow)का लेखक जियोफ्रि स्टोन, डब्ल्युएसडीए(NWSDA) न्युजिल्याण्डका पूर्व ग्लोबल प्रेसिडेण्ट मोसे ब्लिसिड. र भारतका मोहम्मद रेहानले चासो दिएर भेटवार्ता नै गर्नुभएको थियो ।

Share Now