Prakash Adhikari November 20, 2018

 

काठमाडौं, ३ मंसिर । सरसफाई र जनस्वास्थ्यप्रति चेतना अभिबृद्धि गराउन मनाउन थालिएको विश्व शौचालय दिवस नेपालमा पनि सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग र जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल(सोफेन)द्धारा राजधानीमा आयोजना गरिएको आधा दिवसीय गोष्ठीका वक्ताहरुले जनस्वास्थ्यमा सुधार ल्याउन शौचालयको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपालमा हरेक घरमा शौचालय निर्माणको परम्परा बसाउन खुला दिशामुक्त क्षेत्र घोषणा अभियान सफल भएको पनि वक्ताहरुले दावी गरे ।

कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै ई देवेन्द्र झाले नेपालमा खुला दिशामुक्त क्षेत्र घोषणा अभियान सफल भएको दावी गर्नुभयो । उहाँले यो अभियानको सफलताको स्तर हेर्दा सरसफाईको चेतना अभिबृद्धिमा पूर्वभन्दा पश्चिम नेपाल आक्रामक ढंगले बढेको पाइएको बताउनु भयो । उहाँका अनुसार सरसफाईको सूर्य नेपालमा पश्चिमबाट उदाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका सबै जिल्लामा खुला दिशामुक्त अवस्थामा छन् । अन्य भौतिक सुविधा, सामाजिक परिसूचक र जन चेतनामा अगाडि रहेका भनिएका प्रदेश नं १, २, ३ र ५ का जिल्लाहरुले त्यो अवस्थामा आफूलाई पुर्याउन सकेका छैनन् ।

नेपालका ७७ जिल्ला मध्ये ६० वटा , ६ महानगरपालिका मध्ये ३ वटा,११ उपमहानगरपालिका मध्ये ८वटा, २७६ नगरपालिका मध्ये २१० वटा र ४६० गाँउपालिकामध्ये ४१० गाँउपालिका खुला दिशामुक्त भैसकेका छन् ।

कार्यक्रममा वाटर एड नेपालका कवीर राज भण्डारीले दिगो विकास लक्ष्यमा नेपालमा सरसफाई विषयमा, एसएनभी नेपाल खानेपानी,सरसफाई र स्वास्थ्य विभागकी प्रमुख नादिरा ख्वाजाले नेपालका ग्रामीण क्षेत्रमा सुरक्षित सरसफाई विषयमा, गुठीका प्रकाशचन्द्र अमात्यले सार्वजनिक शौचालय व्यवस्थापनमा उपभोक्ताको अवधारणा विषयमा, वातावरण र जनस्वास्थ्य संस्था(इन्फो)का विपिन डंगोलले मानव मलमूत्रीय व्यवस्थापनका सम्बन्धमा, युनिसेफका सिद्धि श्रेष्ठले खुला दिशामुक्त घोषित क्षेत्रको दिगोपनाका सम्बन्धमा विश्व स्वास्थ्य संगठनका डा.सुदन राज पन्थीले सरसफाई र स्वास्थ्य सम्बन्धमा विश्व स्वास्थ्य संगठनको मार्ग निर्देशिकाका सम्बन्धमा र खानेपानी तथा ढलनिकास व्यवस्थापन विभागका उपमहानिर्देशक ई.सुनिलकुमार दासले सरसफाईमा नवीन खोजका सम्बन्धमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व सचिव ई. सुमन शर्मा र एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष ई. विन्दुनाथ लोहनीले सरसफाईका सम्बन्धमा प्रमुख वक्ताका रुपमा विशेष मन्तब्य दिनुभएको थियो ।

विश्व शौचालय दिवसको कार्यक्रमका अधिकांश वक्ताहरुले असुरक्षित दिशा पिशाब नै सरुवा र संक्रामक रोगको कारण भएकोले यसको समुचित र दिगो व्यवस्थापन हुन सकेमा आम नागरिकको जनस्वास्थ्यमा सुधार आउने कुरा बताएका थिए । शौचालयको निर्माण र उपयोगपछि शौँचालयमा संग्रहित ठोस र लेदो दिशाको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुने विज्ञहरुले बताएका छन् । यस्तो लेदोको समुचित र वैज्ञानिक ढंगले व्यवस्थापन हुन सकेन र जहाँ पायो त्यहि फालियो भने त्यसले भविष्यमा झन समस्या ल्याउने उनीहरुको दावी छ  ।

विश्व शौचालय दिवसको अवसरमा बीबीसी नेपालले तयार पारेको एक रिपोर्टमा भनिएको छ ,
नेपालमा पनि देशैभरि व्यवस्थित शौचालयको अभाव छ।

सर्वसाधारणको चाप बढी हुने शहरी क्षेत्र विशेषगरी राजधानी काठमाण्डौमा त्यो समस्या अझ विकराल भएकोले सर्वसाधारणले सास्ती झेल्दै आएका छन्।

अधिकारीहरूले चाहिँ व्यवस्थित शौचालय बनाउने काम भइरहेको बताएका छन्।

समस्या

काठमाण्डौ  महानगरपालिकाका अधिकारीहरूका अनुसार ४० लाखभन्दा बढी जनसङ्ख्या रहेको ठानिएको काठमाण्डू उपत्यकामा जम्मा ४५ वटा सार्वजनिक शौचालय छन्।

जनसङ्ख्याको अनुपातमा शौचालयको सङ्ख्या निकै कम भएपछि सर्वसाधारणले अप्ठेरो भोग्नुपरेको छ।

त्यसमा अपाङ्गता भएका र महिलाहरूको समस्या झन् बढी रहेको उनीहरू बताउँछन्।

एक पैदलयात्री महिला कविता बजगाईँ भन्छिन्, ‘महिलालाई जहाँ पायो तहीँ जान मिल्दैन। कहिलेकाहीँ चिया खाने बहानामा पिसाब फेर्न कै लागि होटल जानुपर्छ।’

शौचालय नहुनुको समस्या त छ नै, भएका शौचालय पनि फोहोर हुने र न्यूनतम सुविधाको अभावमा सर्वसाधारणले समस्या भोग्नुपरेको छ।

तर शौचालय सञ्चालक भने आफ्नै समस्या तेर्स्याउँछन्। त्यस्तैमध्येका एक काठमाण्डू सुनधारामा सार्वजनिक शौचालय सञ्चालन गर्ने रोनिस मानन्धर।

उदासिनता

‘घण्टैपिच्छे शौचालय सफा गर्न सकिँदैन। पानी ल्याउन त्यतिक्कै गाह्रो छ। समस्या टरिरहेको छ। त्यहीँ नै ठूलो कुरा हो।’

‍निर्माणका लागि ठूलो बजेटको आवश्यकता नपर्ने भए पनि शौचालय बनाउन सरकारी उदासिनता देखिएको भन्दै कतिपय सर्वसाधारण आक्रोश व्यक्त गर्छन्।

सरकारी तहबाट शौचालय निर्माणका थुप्रै योजना बनेको देखिन्छ। काठमाण्डूमा मात्रै ४२ वटा थप शौचालय बन्ने क्रममा छ।

काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘एकैचोटि धेरै शौचालय थप्नुभन्दा पनि भएकालाई व्यवस्थापन गर्ने र नयाँ शौचालय निर्माण गर्दै जाने हो। अब बनेपछि ९०-९५ वटा शौचालय हुन्छन्।’

कैयौँ शहर र गाउँले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे पनि त्यो वास्तविकतामा लागु हुन नसकेको बताउनेहरूको कमी छैन।

Share Now

Leave a comment.