Prakash Adhikari December 28, 2018

 

बीबीसी(लण्डन),१३ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सामाजिक सञ्जालबाट आफ्ना नीति एवम् योजना घोषणा गर्ने र विवादास्पद टिप्पणी गर्ने नेताका रूपमा चिनिन्छन्।

तर उनको यो बानी सामाजिक सञ्जालमा मात्रै सीमित छैन। सञ्चारमाध्यमसँग कुराकानी गर्दा होस् वा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा होस्, उनी अरूलाई छक्क पार्ने गरी केही न केही गरिहन्छन्।

क्रिस्मसको राति आकस्मिक रूपमा इराक पुगेका उनले ‘अबदेखि अमेरिकी सेनाबाट सुरक्षा खोज्ने राष्ट्रले त्यसको शुल्क तिर्नुपर्ने’ आशयको टिप्पणी गरेर सबैलाई फेरि चकित पारिदिएका छन्।

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुनाले ट्रम्पको नीतिमा ‘आर्थिक आयाम’ हुनु अस्वाभाविक नमानिएला।

तर उनी अमेरिकाका राष्ट्रपति भएकाले ट्रम्पको टिप्पणीलाई ‘व्यक्तिगत’ मात्रै मान्न सकिने स्थिति छैन।

के अमेरिकी नीति फेरिएको हो?

ट्रम्पका कार्यशैली र पदीय प्रभावले अमेरिकाको परम्परागत परराष्ट्रनीतिमा भने केही विचलन आएको सङ्केत पाइन्छ।

ट्रम्पको नेतृत्वमा बसेर काम गरेका केही वरिष्ठ अधिकारीहरूले उनीसँग मतभिन्नता भएपछि राजीनामा दिएका छन्।

नेपाली कूटनीतिज्ञ जयराज आचार्य भन्छन्, “अमेरिकी राष्ट्रपतिहरूले आफ्ना व्यक्तिगत अवधारणाहरू व्यक्त गर्दै आएको पाइन्छ। ट्रम्पले त झनै आफ्ना व्यक्तिगत विचार व्यक्त गर्दै आएका छन्। र, उनका धेरै सहयोगीले छोडेका छन्।”

तर ट्रम्पले अहिले जे भनेका छन् त्यो एउटा ‘फेज’ मात्र भएको र अमेरिका अहिलेको विश्वपरिस्थितिमा सुरक्षा प्रदान गर्ने शक्तिको रूपबाट पन्छिहाल्न सक्ने स्थितिमा नरहेको उनको धारणा छ।

उनी भन्छन्, “अमेरिकाले विश्वसुरक्षामा भूमिका खेल्न छोडेको परिस्थिति कल्पना गर्न सकिँदैन।”

क्षेत्रीय शक्तिसन्तुलनका कारणले पनि विशेष गरेर दक्षिण एशिया, दक्षिणपूर्वी एशिया, पूर्वी एशिया र मध्यपूर्वमा अमेरिकाको उपस्थिति झन् बढ्ने उनको आकलन छ।

इराक, अफगानिस्तान र सिरिया आदि देशमा सैन्य हस्तक्षेप गरेकाले भनेर अमेरिकाको आलोचना हुनेगर्छ। तर अहिले भने उसको नीतिमा केही परिवर्तन हुन थालेको विश्लेषण गरिएको छ।

के भने ट्रम्पले इराकमा?

डोनल्ड ट्रम्पले अमेरिका सेनाले इराकमा गरेको कामप्रति आफू कृतज्ञ भएको बताए

इराकमा खटिएका अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले सधैँ विश्वको सुरक्षामा खटिने ‘प्रहरी’का रूपमा काम गर्न नसक्ने बताए।

अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले सधैँ विश्वको सुरक्षामा खटिने ‘प्रहरी’का रूपमा काम गर्न नसक्ने बताए।

उनका अनुसार ‘सधैँ सबै भार अमेरिकामा पर्नु न्यायसङ्गत’ हुँदैन।

उनले भने, “हामीलाई प्रयोग गर्ने र हाम्रो असाधारण सेना प्रयोग गरेर आफ्नो रक्षा गराउने राष्ट्रहरूले अबदेखि हाम्रो फाइदा नलिऊन् भन्ने हामी चाहन्छौँ। उनीहरूले त्यसका लागि केही तिरेका छैनन्, र अबदेखि उनीहरूले त्यसो गर्नेछन्।”

इराकमा खटिएका सैनिकलाई उनीहरूको सेवा, सफलता र त्यागका लागि ट्रम्पले धन्यवाद दिए।

अमेरिकाले सुरक्षा प्रदान गरेबापत आर्थिक लेनदेन हुनुपर्ने कुरा ट्रम्पले पहिलो पटक गरेका हैनन्।

आचार्य भन्छन्, “पैसा तिराउने कुरा उनले पहिला पनि गरेका छन्। जापान र दक्षिण कोरियामा अमेरिकाको ठूलो सैन्य उपस्थिति छ। सित्तैमा सुरक्षा प्राप्त गरेकाले उनीहरूले व्ययभार वहन गर्नुपर्छ भनेर उनले पहिला पनि भनेका छन्।”

के उसोभए अमेरिकाले पैसा नलिई आफ्नो सेना नखटाउला? यसको उत्तर भने स्पष्ट छैन।

‘अमेरिका पहिला

दुई वर्षअघि राष्ट्रपतीय निर्वाचनको अभियानमा ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामाको परराष्ट्रनीतिको आलोचना गर्दै ‘अमेरिका पहिला’ को नारा दिएका थिए।

राष्ट्रपतिको पदभार ग्रहण गर्दा पनि उनले आफ्नो सम्बोधनमा ‘अमेरिका पहिला’ को नारालाई अमेरिकाको औपचारिक नीतिकै रूपमा अवलम्बन गरिने सङ्केत दिएका थिए।

आफ्ना समर्थकलाई प्रसन्न बनाउन उनी आफू राष्ट्रवादी भएको दाबी गरिराख्छन्।

सिरियाबाट फिर्ता हुने घोषणा

इस्लामिक स्टेट लडाकु समूह पराजित भइसकेको भन्दै गतहप्ता ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विवादास्पद घोषणा गरेका थिए।

सिरियामा अमेरिकी सेना
पत्नी मेलानिया र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसहित ट्रम्प क्रिस्मसको राति बाग्दादनजिकै रहेको अल-असद एअरबेस पुगेका थिए।

तीन घण्टा त्यहाँ बिताएका ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्न ढिलो नगरिने बताए।

हाल सिरियामा झन्डै पाँच हजार अमेरिकी सैनिक खटिएका छन्।

के भन्छन् सहकर्मी?

ट्रम्पका निर्णय र कार्यशैली अमेरिकाको परम्परागत नीतिभन्दा पृथक् रहेको बुझाइ उनका पूर्वसहयोगीहरूको पनि छ।

ट्रम्पको कार्यशैली र नीतिसँग असहमति जनाउँदै गतहप्ता राजीनामा दिएका रक्षामन्त्री जेम्स म्याटिसले सिरियाबाट सबै सैनिक फिर्ता गर्नु अमेरिकाको रणनीतिक भुल हुने चेतावनी दिएका छन्।

आईएसविरुद्धको युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ कूटनीतिज्ञ ब्रेट मिक्गर्कले पनि केही समयअघि राजीनामा दिएका थिए।

ट्रम्पको निर्णयले ‘नीति उल्ट्याएको’ र त्यसबाट ‘गठबन्धनका साझेदारहरूलाई अलमलमा पारिदिएको एवम् लडाइँमा सहकार्य गरेकाहरूलाई किम्कर्तव्यविमूढ बनाइदिएको’ धारणा उनको रहेको विवरणहरू प्रकाशित भएका छन्।

अहिलकै स्थितिमा अमेरिकाले सिरियाबाट सेना फिर्ता गरे त्यहाँ आईएस समूह फेरि सक्रिय हुन सक्ने आशङ्का राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीका नेता र अमेरिकासँग सहकार्य गर्दै आएका अन्य शक्तिराष्ट्रले पनि गरेका छन्।

Share Now

Leave a comment.