
बलराम विष्ट
बैंकहरुले ग्राहकलाई कर्जा दिदा ग्राहकको माग पत्र(offer letter)मा प्रत्येक त्रैमासिकमा आधार दर(Base Rate) प्रकाशित गर्ने र सोहि अनुसार प्रिमियम(Premium) जोडिने छ भनेर उल्लेख गरेका हुन्छन ।
बैंकहरुले यस्तो आधार दरमा प्रिमियम जोडने दर ५% देखि ७% सम्म उल्लेख गरेको पाइन्छ । विगत एक वर्षदेखि बैंकहरुको आधार दर क्रमसः घट्दै गएको देखिन्छ, तर बैंकबाट कर्जा लिएका सबै ग्राहकको कर्जाको ब्याज दर घटेको पाइदैन बरु कतिपय अवस्था ग्राहकहरुले बढेको गुनासो गरेको देखिन्छ ।
यस्तो अवस्था किन उत्पन्न भने बैंकहरुले आधार दर प्रकाशित गर्नुभन्दा अगावै ५% देखि ७% प्रिमियम थप गर्न पाउने भएकोले बीचैंमा ग्राहकको ब्याज दर बढाइ दिएमा बैंकहरुको आधार दर घटे पनि केही फरक पर्दैन । यस्तो ब्याजको आधार दर घट्दा बैंकहरुले ब्याजदर घटाउन खासै चासो देखाउदैनन् । यसको मार सीमित आय भएका वा बैंकबाट कर्जा लिएर निश्चित आय हुने कार्यमा लगाउने ब्यवसायी ग्राहकहरुलाई पर्न जान्छ । अधिकांश ग्राहकहरुले बैंकको ब्याजको आधार दर र प्रिमियमलाई आँकलन गरेर कर्जा लिएका हुन्छन् । आधार दर र प्रिमियमको रेञ्ज अर्थात ब्याज करिडर नेपाल राष्ट्र बैंकले निर्धारण गर्ने भएकोले आफूले लिएको कर्जाको ब्याज बढ्दैन भन्ने विश्वास पनि ग्राहकमा परेको हुन्छ । बैंकहरुले चर्को प्रतिस्पर्धाका कारण आधार दर घटाईरहेको अवस्थामा आफूले लिएको कर्जाको ब्याज घट्न पनि सक्छ भन्ने अपेक्षा ग्राहकलाई भए त्यसलाई पनि अस्वभाविक मान्नु हुँदैन ।
ग्राहकहरु आधार दर अनुरुप ब्याज घटबढ हुने व्यवस्था अर्थात ब्याजको आधार दर घट्दा कर्जाको ब्याज दर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने व्यवस्था भएमा यसबाट ग्राहक र बैंक दुवैलाई न्याय हुन जाने देखिन्छ । ग्राहकले आधार दर घटेको समयको लाभ लिन्छ भने बैंकले आधार दर बढेको समयमा अतिरिक्त लाभ लिन्छ । अतः यसमा नियमकारी निकायको ध्यान जानु जरुरी देखिन्छ । यसले अहिले बजारमा आधार दर घट्दा पनि आफूले लिएको कर्जाको ब्याजदर किन घटेको छैन भन्ने ग्राहकको गुनासोको पनि संबोधन गर्नेछ । आधार दर र प्रिमियमको बारेमा नबुझिकन कर्जा लिने ग्राहकहरु पनि यसबाट लाभान्वित हुनेछन् ।
नेपाल अटोमोबाइल्स डिलर्स एशोसियसनको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको नाडा प्रदर्शनी होस् वा घरजग्गा व्यवसायीहरुको संघले गर्ने घर जग्गा कारोवार प्रदशर्नी तथा अन्य विभिन्न संस्थाहरुले गर्ने पूँजी बजार, मनि एक्स्पो वा ब्यापार मेला नै किन नहुन त्यसमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो स्टल राखेर ग्राहक तान्न सहुलियत कर्जाको ब्याज दर प्रदान गर्दछन् । यस्तो ब्याज दरको प्रतिबद्धतामा आधार दर बढेमा मात्र ब्याज दर बृद्धि हुनु पर्दछ ।
गतवर्ष नाडा प्रदर्शनीमा बैंकहरुले गरेको प्रतिबद्घता गरेको ब्याज दरमा नौ महिनाभित्रै तीनचोटि बृद्धि गरियो जबकि बैंकहरुको आधार ब्याजदर घट्दो क्रममा थियो । अहिले पनि नाडा प्रदर्शनी हुदैछ । प्रदर्शनमा बैंकहरुले जनाएको प्रतिबद्धतामा आधार दर नबढिकन ब्याज बढाउने काम हुने छैन भन्ने विश्वास गरौं किनकी ब्याजदर बढाइदिदा सीमित आयको आधारमा कर्जा लिएका ग्राहकहरुले कर्जाको ब्याज र किस्तावन्दीको साँबा तिर्न नसकेर यसले बैंकको आम्दानीमै असर पर्ने अवस्था पनि सिर्जना हुन सक्छ ।