दुईतिहाईको ओली सरकार, राज्य यन्त्र र सञ्चारकर्मी पनि अपराधीको इसारामा फनफनी रिङ्नु अनौठो पहेली भएको छ ।
प्रकाश अधिकारी
काठमाडौं, ५ कार्तिक । नेपालमा लोकतन्त्रको स्थापनाको लागि भएको २००७ सालको क्रान्तिका नायक, नेपालका पहिलो अर्थमन्त्री तथा उपप्रधानमन्त्री नेपाली कांग्रेसका संस्थापक तथा पूर्वसभापति सुवर्ण समशेरको बालुवाटारस्थित २ सय ९९ रोपनी जग्गा कब्जा गर्ने राजा महेन्द्रको कदम सही थियो र २०१७ साल पुस १ गतेदेखि राजाको अधिनायकवादी शासन र त्यसलाई संस्थागत गर्न ल्याइएको पञ्चायती व्यवस्थाको विरोध गर्दा सर्वश्व गुमाएका,घरजग्गा कब्जा वा सरकारीकरण भएका कांग्रेस र कम्युनिष्ट नेता तथा कार्यकर्ताको घरजग्गा प्रचलित कानून अनुरुप हदबन्दीको सीमामा रहेर फिर्तादिने निर्णय गलत थियो भन्ने महेन्द्र र पञ्चायतका उपासकहरुले दुई तिहाईको जनमतमा अडेको प्रधानमन्त्री केपी शर्मा ओली, उहाँको प्रशासन र राज्यका संवैधानिक निकायलाई पनि लुटेराहरु तेस्र्याएर भ्रममा पारेका रहस्योदघाटन भएको छ ।
वालुवाटार प्रकरण उजागर भएको लगभग एक वर्षपछि यस प्रकरणका खलनायकहरुको वास्तविक कुरुप अनुहार सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली विरोधी कम्युनिष्ट र प्रतिपक्षी नेपाली कांग्रेसका संस्थापकदेखि वर्तमान नेतृत्वसम्मलाई एउटै खाल्डोमा हाल्ने भ्रमपूर्ण तर्क पेश गरेर यो प्रकरणमा टाउको अन्तै विसाएका पत्रकारहरुलाई बोकेर हिड्ने कृष्णप्रसाद भनिने युवराज कोइराला भक्तपुर जिल्ला अदालतबाट सरकारी अभिलेख कीर्ते गरी लाभ लिन खोज्दा कैद सजाय पाएका अपराधी भएको पत्ता लागेको छ ।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको वर्तमान र नेपाली कांग्रेसका संस्थापक, पूर्वसभापति तथा नेपालको प्रजातान्त्रिक इतिहासका धरोहर सुवर्ण शमसेर,कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतको इतिहास सिध्याएर मुलुकमा निष्कण्टक कम्युनिष्ट राज कायम गर्ने भ्रमपूर्ण सल्लाह दिएर राज्ययन्त्रको दुरुपयोग गर्दै थालिएको वालुवाटार प्रकरणको अनुसन्धानका क्रममा यसका सूत्राधारको यथार्थ तस्वीर सार्वजनिक भएपछि अनुसन्धानकर्ताहरुलाई पनि निकै अप्ठ्यारो सिर्जना भएको छ ।
पार्टीभित्र कुनै पनि दिन चुनौतिका रुपमा उपस्थित हुनसक्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मधेशवादीको फरक मोर्चाबाट कम्युनिष्ट सत्तालाई चुनौति दिनसक्ने पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईलाई समेत तह लगाउने षड्यन्त्र अन्तरगत बढाइएको यस प्रकरणमा उभ्याइएको शिखण्डीहरु सरकारी कागजात किर्तेमा राज्यको सम्मानित अदालतबाट नै कैद र जरिवानाको सजाँयले डामेका अपराधी प्रमाणित भएका छन् ।
युवराजलाई किर्तेमा कैद र जरिवाना
यस प्रकरणमा छानवीन सम्बन्धमा बनेको पूर्व सचिव शारदाप्रसाद त्रिताल समितिले आफ्नो प्रतिवेदनको पृष्ठ ६ र ७ मा समितिको छानबीनसम्बन्धी प्रारम्भिक कार्य शीर्षकमा बडो प्राथमिकतासाथ उल्लेख गरेको नाम हो, युवराज कोइराला । सार्वजनिक एवम् गुठी जग्गा संरक्षण समितिको आवरणमा देखिनुभएका अधिवक्ता कोइरालालाई सुवर्णको जग्गा सरकारी घोषित गरी यसको १० प्रतिशतले हुन आउने २९ रोपनी जग्गा कमिशनमा सित्तैमा खाने दाउले सुवर्णको पैत्रिक सम्पत्तिलाई सरकारी बनाउन अधिनायकवादी राजा महेन्द्रका कदम सही थिए भनेर प्रधानमन्त्री के.पी.ओलीका भक्तजनलाई प्रभावमा पार्न संखुवासभाका एक बहालवाला सर्वशक्तिमान सचिवमार्फत कांग्रेस र गैर ओलीपन्थी कम्युनिष्ट सिध्याउन फिट गरिएको थियो । त्रिताल समितिले छानबीनसम्बन्धी प्रारम्भिक कार्यको उल्लेख गर्दै भनेको छः
१) उजुरीकर्ताहरुसँग छलफलः छानबीनको कार्य शुरु गर्दा उजुरीकर्ताको गुनासो, उजूरीका विषयमा जानकारी राखी कार्य सम्पादन अगाडि बढाउनु उपयुक्त देखिएकाले समितिले कार्यारम्भ गरेपछि मिति २०७५।०३।३१ मा प्रस्तुत विषयमा निवेदक÷उजुरी दिने सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिका अध्यक्ष श्री अर्जुन वासु, महासचिव श्री युवराज कोइराला र सचिव श्री गणेश दुवाडीसँग प्रारम्भिक छलफल ग¥यो । यो अवस्थामा उक्त समितिका पदाधिकारीहरुले आफ्ना संस्थाको कार्यक्षेत्र, हालसम्मको उपलब्धि प्रस्तुत गर्नुका साथै प्रस्तुत सन्दर्भमा गरेको खोज एवं दस्तावेजहरुको सङ्कलन बारेमा विस्तृतमा जानकारी गराउन आवश्यक परेको बखत छानबीन समितिलाई सक्दो सहयोग गर्ने प्रतिवद्वता समेत जनाउनु भयो ।
तर त्रिताल समितिले प्रशस्ति गाएको युवराजको कार्यशैली,अभ्यास र विगतलाई भक्तपुर जिल्ला अदालतको २०७६ आषाढ ३ गतेको फैसलाले छताछुल्ल पारिदिएको छ । उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र तथा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं १६ बस्ने पूर्णमाया कुमाल खड्काको जाहेरीले नेपाल सरकार वादी भएको सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा १ बर्ष कैद र ५० रुपैया जरिवाना भएको छ ।
भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधीश ईश्वर पराजुलीको फैसलामा भनिएको छ, ‘प्रतिवादी मध्येका यी युवराज कोइराला प्रतिवादी हेमाद्री समशेर लगायत सुवर्णसमशेरका परिवारका अन्य हकवालाहरु समेतको कानून व्यवसायीको हैसियतले विभिन्न अड्डा अदालतमा गई वहस पैरवी गर्ने अन्य काम कारबाही अगाडि बढाउने कार्य गर्दै आएको भनी स्वयं प्रतिवादीले स्वीकार गरी बयान गरेका,साक्षी राजेश जोशीले निज प्रतिवादी युवराज कोइरालालाई मैले विगत १० बर्षदेखि चिन्दछु उहाँ आफै कानून व्यवसायी हुनुहुन्छ । कानून व्यवसाय गर्ने अधिवक्ताले कानूनी राय ,सुझाव,सल्लाह दिन पाउनुहुन्छ मैले विगत १० बर्षदेखि चिनेको हिसाबले उहाँको चालचलन धेरै राम्रो छ उहाँले यसरीकीर्त गर्नुपर्ने होइन भनी बकपत्र गरेपनि निजको संलग्नताको सम्बन्धमा सहअभियुक्त मोतिप्रसाद घिमिरे हेमाद्री समशेर समेतको अनुसन्धान तथा अदालतको वयानबाट पुष्टि भएको पाइयो । बहस सम्पन्न भैसकेपछि प्रतिवादीको तर्फबाट पेश भएका बैना कागजको सम्बन्धमा त्यसका परीक्षण गर्ने तथा अन्य प्रतिवादीलाई सुनुवाईको मौका प्रदान हुनसक्नेसम्मको अवस्था नदेखिएकोले त्यसलाई प्रमाणको रुपमा ग्रहण गरी त्यसतर्फ थप विवेचना गरिरहनु परेन । तसर्थ यी प्रतिवादीको कार्यमा संलग्नता रहेको भन्ने तथ्य माथि उल्लिखित आधार,प्रमाण तथा सहअभियुक्त समेतको पोलबाट समर्थित भै रहेको देखिदा यी प्रतिवादीले कसूर गरेको पुष्टि हुन आयो ।’
सो मुद्दाका कुनै पनि सहअभियुक्तले उहाँका पक्षमा बयान दिएका थिएनन् । सहअभियुक्त मध्येका मोतीप्रसाद घिमिरेले आफ्नो अनुसन्धान तथा अदालतसमक्ष भएको बयानमा समेत ‘वकिल युवराज कोइरालाले तयार गरेको फाईल वारेसका हैसियतले ६ नं नापी गोश्वारामा गई निवेदन पेश गरेको हुँ । म र पार्वती वस्नेतले मालपोत कार्यालयमा लगत उतारको लागि वारेशनामासाथ निवेदन पेश गरेको हो ‘ भन्ने बयान दिुनुभयो ।उक्त लगतमा किर्ते कसले गर्यो ? मालपोत र कागज तयार गर्ने वकिलले जानून भनी प्रतिवादी मोतीप्रसाद घिमिरेले तथा अर्का प्रतिवादी हेमाद्री समशेर जबराले स.ज.१२ मा बयान दिुनुभएको थियो । प्रतिवादी समेत रहेका हेमाद्री समशेरले प्रतिवादी युवराज कोइरालाले धापासीसमेतका जग्गाहरु काम गरिदिए वापत जग्गा नै दिएको थिए । भक्तपुरको जग्गा दर्ता गर्ने कार्य सम्पन्न भएपछि जग्गा नै दिने कुरा भएको हो अरु कुनै फि दिएको छैन भनी स.ज. ८ मा बयान दिनुभयो । ।
अदालतले भनेको छ, ‘जग्गा दर्तासम्बन्धमा लिखत राय दिई जग्गा दर्ताको लागि आवश्यक कागजातहरु तयार गर्ने लगायतका कार्य गर्ने गराउने र कानून व्यवसायीले आफूले गरेको कामको निश्चित रकम नगदबाटै कारोबार गर्ने आम प्रचलनभन्दा फरकढंगले काम सम्पन्न गरेपछि एकमुष्ट जग्गा नै लिनेभन्ने सहमति अनुसार कार्य गरि आएको भन्ने तथ्य पुष्टि भएबाट उक्त कार्य गर्न प्रेरित भएको भन्ने तथ्य पुष्टि हुन मद्दत गर्दछ । कीर्ते गर्ने गराउने कार्यबाट अब जग्गा धनीले प्रत्यक्ष वा परोक्ष रुपमा लाभ प्राप्त गर्नेभन्दा पनि दर्ता गर्ने गराउने कार्यमा संलग्न हुने व्यक्ति स्वभाविक रुपमा बढी नै सक्रिय भई लाग्ने अवस्था देखिन्छ ।’
फैसलामा भनिएको छ, ‘..तसर्थ कसुरदार देखिएका यी प्रतिवादीहरुलाई जनही रु ५० । –पचास रुपैया)का दरले जरिवाना हुन्छ । साथै मुलुकी ऐन कीर्ते कागजको महलको १२ नं बमोजिम प्रतिवादी मध्येका मोतीप्रसाद घिमिरे,युवराज कोइराला र हेमाद्री समशेर जबरालाई जनही १ बर्षको कैद हुने ठहर्छ । अर्का प्रतिवादी देवराज के.सी. र नेत्रप्रसाद पोखरेल उसै अड्डाको कर्मचारी भन्ने पुष्टि भएको अवस्था हुँदा जनही ऐ दफा बमोजिम थप २ बर्ष कैद समेत गरी जम्मा ३ बर्ष कैद सजाय हुने ठहर्छ । प्रतिवादी मध्येका राजेन्द्र अमात्य र पावर्ती वस्नेत कसूरदार भन्ने पुष्टि नभएकोले निजहरुले सफाई पाउने ठहर्छ । ‘
यस मुद्दाका क्रममा उहाँले असल नियतले प्रमाणित कागज प्रमाणका आधारमा निवेदन लेखिदिएको आधारमा कानून व्यवसायीलाई सजाँय हुनुपर्ने होइन। संविधान एवम् कानून र प्रतिपादित सिद्धान्त समेतका आधारमा कानून व्यवसायीले गरेको बहस पैरवी र तयार गरेका लिखतका आधारमा दोषी करार हुनुपर्ने होइन । प्रस्तुत मुद्दा अख्तियारमा ६।७ बर्ष पहिले नै परको थियो ।मुद्दा तामेलीमा राखिएको भन्ने सुनेको छु । बालुवाटारमा करिब १३५ रोपनी जग्गा हिनामिना गर्नेमा हाल अख्तियारमा पनि सोही कर्मचारी हुपेन्द्रमणि केसी कार्यरत छन् । निजलाई समेत कारबाही गरीपाऊँ भनी मैले अख्तियारमा उजुरी दिएको छु । प्रस्तुत मुद्दा चलाउन अख्तियारले पत्र पठाएको आधारमा मुद्दा दायर भएको देखिन्छ भनी आफ्नो बचाउ गर्नुभएको थियो ।
चार बर्ष पहिले २०७२ पौष २६ मा परेको यस मुद्दामा अभियुक्त कोइरालाले २ महिना १४ दिन डिल्लीबजार कारागरको पाहुना भैसकेको हुनाले बाँकी ९ महिना १६ दिन कैद बस्नुपर्ने छ ।
युवराजको अक्षम्य अपराध
भक्तपुर जिल्ला अदालतमा दिएको बयानमा भने जस्तै सुवर्ण समशेर जबराका छोरा,बुहारी र नातीहरुको समेत कानून व्यवसायी रहनुभएका युवराजले सुवर्ण समशेर नाममा रहेको भक्तपुर जिल्ला साविक दिब्येश्वरी गा.वि.स ३ (ख) कित्ता नं ३५ को क्षेत्रफल ३ आना २ पैसा, कित्ता नं ४९ को १२ आना कित्ता नं ५१ को ५ आना २ पैसा कित्ता नं ५८ को ११ रोपनी र वडा नं ४ (ख) को कित्ता नं ३१९ को १ रोपनी ६ आना १ पैसा ५ दाम जग्गामा मोही कायम रहेका बुरमाया प्रजापति र रतनबहादुर कुमालले कमाएको हत्याउन मालपोतका कर्मचारीहरुलाई प्रभावमा पारी अड्डाको असुलीतर्फको सक्कल लगत ठेली सि.नं ९४३।४३३ र नं १८३३ ३१ नंहरु र कनक समशेर बालुवाटार भन्ने शब्दहरु थप्न लगाउनुभएको थियो । बुरमाया प्रजापतिको निधन पछि सो मोहियानी छोराहरु राम प्रजापति र कृष्णबहादुरमा तथा रतनबहादुरको मृत्युपछि उनका छोरा नभएकोले छोरी पूर्णमाया कुमालमा सर्ने अवस्था थियो ।
घरजग्गाको कारोबारमा चतुर युवराजले पहिलो पुस्ताको मोहीको देहान्त भैसकेको थाहा पाएपछि सो जग्गा कनक समशेरको नाममा ल्याएर उहाँका छोरासंग मिलेर खाने षड्यन्त्र गरी सबै कागजात बनाएर मालपोतका कर्मचारीलाई प्रभावित पारी कानून व्यवसायीको आवरणमा ढड्डा नै सच्च्याउन लगाउने सम्मको दुस्साहस गरेको देखिन्छ । उहाँले अदालतमा दिएको बयानमा पनि कानून व्यवसायी भएकोले लेखापढी, कागजात तयारी र राय परामर्शका विषयमा उन्मुक्ति पाउनु पर्ने दम्भपूर्ण अभिव्यक्ति दिएको देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पत्राचार गरेको यो प्रकरणमा जिल्ला अदालत भक्तपुरले २०७२ माघ १५ मा २ लाख रुपैया वा सो बराबरको जाय जेथा जमानत लिई मुद्दाको पुपक्ष गर्न आदेश दिएको थियो । कोइरालालाई सो रकम बुझाउन नसके पछि डिल्ली बजार कारागारमा पठाइयो । उहाँका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दिई धरौटी रकम समेत घटाउन माग गरेपछि सर्वोच्चले धरौटी बापत रु ५,००० । लिन २०७२ चैत्र ११ मा आदेश दियो र चैत्र १२ मा धरौटी बुझाएर उहाँ तारेखमा छुट्नुभयो ।
सरकारी अभिलेख कीर्ते गरी सच्याएको सन्दर्भमा अदालतले फरेन्सिक ल्याब परीक्षण पनि गर्न लगाएको थियो । र परीक्षण प्रतिवेदनमा प्रहरी नायव उपरीक्षक प्रकाश खत्रीले २०७२ चैत्र १७ गते गरिएको हस्ताक्षर परीक्षणको हवाला दिदै उक्त प्रतिवेदनमा रहेको कुशल भैरवथली संकेत नेत्रप्रसाद पोखरेलको हस्ताक्षरसंग मिल्ने देखिएको उल्लेख गर्नुभएको थियो । नेत्रप्रसाद पोखरेल त्यसबेला भक्तपुर मालपोत कार्यालयमा नासु पदमा कार्यरत हुनुहुन्थ्यो ।
पल्केको तिल्के घरिघरि मिल्के
भक्तपुर जिल्ला अदालतमा भएको बयानमा त्रिताल आयोग बनाउन आफ्ना जिल्लाबासी सचिव प्रेमकुमार राईको पाउ पर्नुभएका अधिवक्ताको आवरणमा कीर्ते कारोबार गर्ने गराउने धन्दामा सक्रिय कृष्णप्रसाद भन्ने युवराज कोइरालाको कालो छवि उदांगो भएको छ ।
उहाँले सुवर्ण परिवारको नाममा रहेको बसुन्धाराको जग्गासम्बन्धी कारोबार मिलाएर जग्गा नै लिएको रहस्य कनकसमशेरका छोरा हेमाद्रीले भक्तपुर जिल्ला अदालतमा दिएको बयानमा बताउनुभएको छ ।
त्रिताल समितिले २०१७ सालमा राजा महेन्द्र्रको विशेष परिस्थिति ऐन ल्याएर कब्जा गरिएको सुवर्णको २९९ रोपनी जग्गामध्ये नेपाली सेनामा रहेका सुवर्णपुत्र कनकसमशेरले राजासंग विन्तिपत्र हालेर ८ रोपनी फिर्ता लिएको उल्लेख गरेको छ । तर सो जग्गा फिर्ता दिंदा मुआब्जा नलिएको कुरा पनि उजागर भएको छ । त्यसमा पछि पाउने रकममा कट्टा गरी भन्ने बाक्यांशले सुवर्ण परिवारले लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउन आफ्नो सम्पत्ति कब्जा गरी पछि वैधानिक बनाउन अधिग्रहणको सूचना जारी गर्न लगाए पनि गाथगादी तोकेको आरोपमा सूट एट साइटको आदेश भएका कांग्रेस सभापति सुवर्ण राजाले दिने मुआब्जा लिन आउन सक्ने अवस्था थिएन तर महेन्द्रका उपासकहरुले ट्वाके पत्रकारलाई बोलाएर सरकारले २०२१ सालमा बालुवाटारस्थित ललिता निवासको २ सय ८४ रोपनी जग्गा मुआब्जा दिई अधिग्रहण गरेको अफवाह फैलाइरहेका छन् ।
भक्तपुरको जग्गा खाने दाउमा सरकारी कागजात कीर्ते गरेको गम्भीर अभियोगमा डिल्लीबजार जेल समेतको यात्रा गर्नुभएका कृष्णप्रसाद भनिने युवराज कोइरालाले कृष्णप्रसाद भट्टराईको सरकारले गरेको प्रजातन्त्रको आन्दोलनमा सर्वश्वमा परी घरजग्गा कब्जाभएका प्रजातन्त्रवादी(कांग्रेस-कम्युनिष्ट)को घर जग्गा भूमिसुधार ऐनको प्रचलित हदबन्दीभित्र रहेर फिर्ता दिने निर्णय कार्यान्वयन गराउने क्रममा पनि सुवर्णका सन्ततिलाई धोका दिनुभएको थियो । सुवर्णका सन्ततिले यसरी फिर्ता पाउने जग्गा मोही नलागेको माग गर्नुभएको थियो । तर भूमिसुधारले सो जग्गा समरजंग कम्पनीको नाममा दर्ता रहेको मोही लागिसकेको जनाउदै मोही लाग्ने जग्गा दिने निर्णय गर्यो । यसका विरुद्धमा सुवर्णका सन्ततिहरु सर्वोच्च अदालत समेत जानुभयो । सुवर्णका सन्ततिको कानूनी सल्लाहकार रहनुभएका र सबैको वारेशनामा लिनुभएका कोइरालाले अदालतले दिएको म्याद गुजार्नुभयो । नचाहदा नचाहदै राणा परिवारको हकमा मोहीयुक्त जग्गा राज्यले फिर्ता दियो ।
यसपछि मोही र जग्गाधनीको जग्गा छुट्टयाउने र जग्गा विक्रीमा पनि उहाँ संलग्न हुनुभयो । राणा परिवारबाट पारिश्रमिक र बक्सिस थाप्नुभयो भने जग्गा क्रेता र मोहीबाट कमिशन । त्यो पैसाले कोटेश्वरमा आलीशान महल बनाउनुभयो ।
बसुन्धाराको जग्गा बिक्रीबाट जग्गा पाउनुभएका, बालुवाटारको मोही र जग्गा बिक्रीबाट कुस्त कमाउनुभएका कृष्णप्रसाद भनिने युवराजलाई भक्तपुरमा ठक्कर लाग्यो । जग्गाको सपना देखेर कुद्नुभएका उहाँ डिल्लीबजार खोरमा पुगेपछि उहाँले राणापरिवारसंग ४ आना जग्गा माग्नुभयो (उहाँले कान्तिपुरसंगको अन्तरबार्तामा स्पष्ट भन्नुभएको छ ) । उहाँहरुले अधिकांश बेचिसक्नुभएको थियो । हरेक काममा पारिश्रमिक दिएकोले जग्गा बक्सिस दिन उहाँहरुले मान्नुभएन । जग्गाका क्रेताहरुलाई सताउनुभयो । आफूले सस्तोमा जग्गा मिलाईदिएकोले ११ रोपनी जग्गा चाहिन्छ भन्दै दाह्रा किट्नुभएका उहाँ पैसा हालेर किनेको जग्गा सित्तै बाड््न नसकिने जवाफ पाएपछि जिल्लाबासी सचिव प्रेम राईको पाउमा पर्नुभयो । प्रतिपक्षमा कांग्रेस र एमालेमा रहेका ओली विरोधीलाई सखाप पार्ने सूत्र आफूसंग भएको दाबीसहित बालुवाटार प्रकरण छानवीन गर्न अनुरोध गर्नुभयो । अख्तियारमा जानका लागि प्रधानमन्त्री ओलीको आशिर्वाद र उपयुक्त समय पर्खेर बस्नुभएका सचिव प्रेमराईलाई के खोज्छस काना आँखा जस्तो भयो । उहाँले निजामति सेवामा गौप्राणीका रुपमा लिइने संखुवासभाकै अवकाशप्राप्त सचिव शारदा त्रितालको एक समिति बनाउन लगाउनुभयो । सो समितिले युवराजले दिएका सामग्रीलाई संकलन गरेर प्रायोजित रुपमा तथ्यरहित बकम्फुसे प्रतिवेदन तयार पारियो ।
कुनै पनि समस्याको गहिराइमा नजाने दुईतिहाईको हावादारी सरकारका प्रधानमन्त्री ओलीले कांग्रेसका नेता र पार्टीमा फुँई लगाउने माधव नेपाल गुटसंग शत्रु साँध्न उपयोगी छ भन्ने लहलहैमा सोही प्रतिवेदनका आधारमा मुद्दा चलाउने तयारी गर्न नेपाल प्रहरीको सीआईबी र अख्तियारका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
जबकी यथार्थमा यो प्रकरणका उजुरीकर्ता, त्रिताल समितिका प्रतिवेदक र अख्तियारका केही अनुसन्धान अधिकृतबीचको मिलेमलो सार्वजनिक भैसकेको छ । नेपाल सरकारले २०१७ सालदेखि २०४६ सालसम्म प्रजातन्त्रको लडाईमा अविचलित रुपमा लाग्दा सरकार र प्रशासनले घर जग्गा कब्जा गरी सर्वश्वसमेत हरण गरेका राजनीतिक नेता र कार्यकर्ताको सम्पत्ति हदबन्दीको सीमाभित्र रही फिर्ता दिने निर्णय गरेको थियो । तर त्यो निर्णयको कार्यान्वयनमा आफूले सक्रिय भूमिका खेलेको भन्दै राणाहरुसंग फिर्ता भएको जग्गा बकस माग्ने गृहमन्त्रालयका तात्कालीन सहसचिव गेहनाथ भण्डारी जसले श्रीमति भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंका नाममा धेरै सम्पत्ति राखेका छन , पूर्वसचिव शारदाप्रसाद त्रिताल, अख्तियारमा यो प्रकरणका अनुसन्धान अधिकृत तीर्थराज चापागाई, यो प्रकरणका उजुरीकर्ता युवराज कोइराला सबै एकै जिल्ला संखुवासभाका हुनुहुन्छ ।