काठमाडौं, २७ पौष । नेकपा माओवादी केन्द्र शुक्रबार(आज)देखि औपचारिक रुपमा सरकारबाट अलग भएको छ ।
पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने माओवादी मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए।
माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रहेका छन् ।
माओवादीबाट कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु शाह,टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही,आशा कोइराला र सन्तकुमार थारु मन्त्री रहेका छन ।
त्यस्तै विना विभागीय राज्यमन्त्रीहरुमा मोहम्मद जमीर हुसैन, रामसिं यादव, श्यामकुमार श्रेष्ठ, कर्ण बहादुर वि.क.,छमबहादुर गुरुड.,गोमा कुँबर र वाड.दी शेर्पाले माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गरेका छन् ।
अब प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरु पदमुक्त भएको सूचना निकालेपछि उनीहरु पदमुक्त हुनेछन् ।
सत्तामा रहेको साझेदार दल निर्वाचनको पूर्व सन्ध्यामा एकाएक प्रतिपक्षी दल नेकपाएमाले संग चुनावी गठबन्धन गरी पार्टी एकीकरणको प्रक्रियामा गएको सर्वाजनिक घोषणा गरेपछि प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरूको जिम्मेवारी खोस्दै बिना विभागीय बनाएका थिए।
संविधानको संक्रमणकालिन व्यवस्था अन्तरगतको धारा २९८ अनुसार बनेको वर्तमान मन्त्रिपरिषदका माआवादी केन्द्रका प्रतिनिधि मन्त्रीहरु् सोही धाराको उपधारा ९ (ग) अन्तरगत पदमुक्त हुनेछन् । सो उपधारामा संबन्धित दलको सिफारिसमा वा सम्बन्धित दलसंगको सल्लाहमा प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा उपप्रधान,मन्त्री,राज्यमन्त्री र सहायकमन्त्रीहरु पदमुक्त हुने व्यवस्था छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री देउवालाई लेखेको पत्रमा संविधान कार्यान्वयनको लागि देशमा स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने विशिष्ट अवस्थामा नेपाली कांग्रेससंग सहकार्य भएको र वर्तमान नेपाली कांग्रेसको नेतृत्वको सरकारमा आफ्नो पार्टी सरकारमा गएको उल्लेख गरिएको छ ।
उनले सबै निर्वाचन सकिएको र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्न आवश्यक भएकोले आफ्ना प्रतिनिधिहरु सरकारमा बसिरहन आवश्यक नदेखेको उल्लेख गरेका छन् ।प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् । तर, ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् ।
प्रचण्डको पत्रमा भनिएको छ, बरु त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’
पत्रमा प्रचण्डले नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गरेको उल्लेख गरेका छन् ।