काठमाडौं, १२ भाद्र । विश्व जल सप्ताहको अवसर पारेर नेपालमा पनि पानीका विविध पक्षमा छलफल गरिएको स्मार्ट वास सोलुसन्स प्रा.लि.ले जनाएको छ ।
स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई. रामदीप साहले विश्व जल सप्ताहको अवसर पारेर यही भाद्र ९ गते ‘पानी र महिला ‘बारे भिडियो कन्फरेन्सको आयोजना भएको बताउनुभयो ।
घरायसी कार्यमा पानीको अधिक उपयोग गर्ने महिलाहरुलाई नै नेपालमा पानीको उपलब्धता,पहुँच,मूल्य,पानीको अभावका कारण महिलाहरुको वैयक्तिक वृत्ति विकास, तथा सामाजिक र आर्थिक विकासमा परेका असरहरुका बारेमा छलफल गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि पज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा.तृष्णा प्रसाई जोशीले पानी र सरसफाईमा महिलाको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले संयुक्त राष्ट्र संघले सन् २०१५ मा विश्वभरका नागरिकको जीवनस्तर सुधारको लागि १५ बर्षभित्र हासिल गर्ने भनी तय गरिएका १७ वटा दिगो विकासको लक्ष्यको उल्लेख गर्दै त्यसको छैठौं लक्ष्यमा राखिएको खानेपानी र सरसफाईको बारेमा विस्तृत ब्याख्या गर्नुभएको थियो ।
वैज्ञानिक डा.प्रसाईँले नेपालमा घरायसी काममा पनि पानीको उपयोगिता बढी हुने काम महिलाहरुले गर्ने परम्परा र अभ्यास रही आएको तर खानेपानीका नीति,योजना, आयोजनाको तर्जुमा गर्दा र कार्यान्वयनमा पनि उनीहरुको पर्याप्त सहभागिता हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले खाने र घरायसी उपयोगको लागि पानी पर्याप्त आपूर्ति हुनुपर्ने, पानीको गुणस्तर कायम गरिनु पर्ने, पानीको बहुउपयोगिताको बारेमा पर्याप्त ज्ञान दिनुपर्ने र पानीको मूल्य धान्न सकिने अर्थात उपभोक्ताले तिर्नसक्ने हुनुपर्ने उल्लेख गर्नुभयो ।
सो वेबिनारमा पानी सदुपयोग फाउण्डेशनकी क्रिबिना पाठकले जलवायु परिवर्तन र खानेपानी,स्वास्थ्य र सरसफाई क्षेत्रको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले नेपालले आधारभूत खानेपानी र सरसफाईको सेवा शतप्रतिशत जनतामा पुर्याउन बाँकी रहेको उल्लेख गर्दै आधारभूत सेवा पुगेका ठाँउहरुमा मात्र स्वच्छ,सुरक्षित र गुणस्तरीय खानेपानीको पक्षमा आवाज उठ्न थालेको बताउनुभयो ।
उहाँले विद्यालयहरुमा स्वास्थ्य र सरसफाईको स्तर नाजुक रहेको र खानेपानीको सुविधा आधामा पनि नरहेको उल्लेख गर्नुभयो । विद्यालयमा खानेपानी र सरसफाईका पर्याप्त सुविधा नभएकोले महिनाबारीको समयमा छात्राहरुलाई समस्या पर्ने गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपालमा खानेपानी संकलनमा संलग्न हुनुपरेकोले बालिका र महिला विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नपाएको, त्यसकै कारण परीक्षामा अनुत्तीर्ण भएर पढाई छोड्ने अवस्था आएको र उनीहरु पुनः विद्यालय फर्कन नसक्ने अवस्था विद्यमान भएकोले महिलाको वृत्ति विकासमा असर परेको पनि बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनका असरहरुले नेपालमा पानी पर्ने प्रवृत्तिमा परिवर्तन हुनुको साथै पहाडी र हिमाली जिल्लाहरुमा मूल सुक्ने, उपत्यका र तराईमा भूमिगत पानीको सतह घट्ने, पानी उपयोगका झगडा उत्पन्न हुने ,बर्षाको प्रवृत्ति परिवर्तनले कृषिमा असर पर्नुका साथै यसले भोकमरीका समस्या ल्याउनतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा अर्का वक्ता नविन बोगटीले महिलाहरुको स्वास्थ्य,शिक्षा, आर्थिक लाभको लागि खानेपानी, स्वास्थ्य र सरसफाई विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले पर्याप्त मात्रामा स्वच्छ र सुरक्षित पानीको उपलब्धता, त्यससंगको सहज पहुँच र सबैले धान्न सकिने मूल्यले महिला विकासमा ठूलो टेवा दिने बताउनुभयो ।
कार्यक्रममा ऊर्जा र लैंगिकता बिषयका विज्ञ तथा परामर्शदाता इन्दिरा शाक्यले पानी र लैंगिक समानता : न्यायिक दृष्टिकोण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले लैडिक मूलप्रवाहीकरणमा नेपालको स्थानमा नयाँ संविधानले धेरै नै सुधार गरेको उल्लेख गर्दै खानेपानी र सरसफाईको क्षेत्रमा भने नीति निर्माण र कार्यान्वयनको तहमा महिलाको सहभागिता पर्याप्त हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।
उहाँले ग्रामिण क्षेत्रमा महिलाहरुलाई खानेपानी, दाउरा, बस्तुभाउको लागि घाँसको संकलनमा धेरै समय खर्च गर्नुपर्ने भएकोले उनीहरुको वृत्तिविकास तथा आर्थिक र सामाजिक विकासमा असर परेको बताउनुभयो ।
उहाँले खानेपानीको संकलनमा पुराना ज्ञान हराउदै गएको र नयाँ प्रविधिको पहुँच नभएकोले धेरै ग्रामिण भेगमा खानेपानीको दुःख भएको उदाहरण दिनुभयो । पानीको अभाव भएका वा मूल टाढा भएका, पर्याप्त पानी पाउन नसकिने स्थानमा बर्षातको पानी संकलन र उपयोगको ज्ञान र प्रविधि दिन सके नेपालका अधिकांश स्थानमा खानेपानीको अभाव हट्ने बताउनुभयो । उहाँले केही गैरसरकारी संस्थाहरुले चलाएको कार्यक्रम अपर्याप्त रहेको बताउदै बर्षातको पानी संकलनलाई राष्ट्रिय नीति,योजना, र कार्यक्रममा पारेर अभियानको रुपमा सबै स्थानीय तहमा लैजान सुझाब भयो ।
भिडियो कन्फरेन्समा प्रस्तुत कार्यपत्रमाथि ग्रामिण प्रविधि केन्द्रका निर्देशक डा.पुरुषोत्तम श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै स्मार्ट वास नेपालका अध्यक्ष ई.रामदीप साहले कोरोना भाइरसको संक्रमण व्यवस्थापनमा महिला नेतृत्व सक्षम देखिएको विश्व उदाहरण प्रस्तुत गर्दै खानेपानीको क्षेत्रमा नेतृत्व लिन नीतिगत व्यवस्था भएपनि व्यबहारमा सो अनुरुपको नतिजा निस्कन नसकेको बताउनुभयो ।
उहाँले साना सहरी खानेपानी आयोजनाहरुको उपमा दिंदै भन्नुभयो, ७० वटा खानेपानी उपभोक्ता समितिमा दुई जना मात्र नेतृत्व लिन अग्रसर भएको र अन्यमा सहायकको रुपमा उपाध्यक्ष, कोषाध्यक्ष वा सदस्यको रुपमा सहभागितासम्म जनाएको अवस्था देखिएको बताउनुभयो ।
स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका स्रोत व्यक्ति र सहभागीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले स्वागत गर्नुभएको थियो भने कार्यक्रम पूर्व वातावरण र विज्ञान तथा प्रविधि मन्त्री गणेश साह र गिरिजा पुडासैनीले सञ्चालन गर्नुभएको थियो ।
विश्व जल सप्ताहको आज समापन
हरेक बर्ष स्वीडेनको स्टकहोम इन्टरनेशनल वाटर इन्स्टिच्युटको आयोजनामा हुने भव्य विश्व जल सप्ताह सम्मेलन यसपटक कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण सहभागीहरुको भौतिक उपस्थितिमा हुन सकेन ।
पूर्व निर्धारित भौतिक उपस्थितिको सम्मेलन रद्द गरिए पनि यो महामारीसंग जोडिएको हात धुने बानी र सरसफाईको महत्वलाई ध्यानमा राख्दै आयोजकहरुले सो सम्मेलनमा प्रस्तुत गर्न तयार गरिएका कार्यपत्रहरु घरबाटै प्रस्तुत गरी विश्व समुदायलाई पानीको सदुपयोग,बहुउपयोग र स्वच्छ पानीको आपूर्तिका लागि विश्वभर विकास गरिएका ज्ञान,सीप र प्रविधिका बारेमा ज्ञान दिन भिडियो कन्फरेन्सको आयोजना गरेका थिए ।
अगष्ट २४ देखि २८ सम्म आयोजित सो चार दिवसीय अन्तर्राष्ट्रिय वेविनारको नारा “पानी र जलवायु परिवर्तन : तीव्रतर कार्यको खाँचो” रहेको थियो ।
खानेपानी तथा पानी व्यवस्थापनका क्षेत्रमा उपलब्ध मौलिक ज्ञान,सीप र प्रविधिको संरक्षण तथा विश्वमा विकसित नयाँ ज्ञान, सीप र प्रविधिको उपयोगितालाई प्रबर्धन गर्दै आम नेपाली जनतालाई सहज रुपमा,सस्तोमा गुणस्तरीय सुरक्षित पिउने पानी उपलब्ध गराउने, पानीका स्रोत संरक्षण र व्यवस्थापन गर्ने ,शहरी ढलको व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्ने उद्देश्यले स्मार्ट वास सोलुसन्सको स्थापना भएको हो ।
स्थापनाको छोटो अवधिमा नै यसले गत बर्ष जुलाई २७ र २८ मा काठमाडौंमा बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी एक राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । बर्षातको पानी संकलनलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने अभिप्रायले आयोजित उक्त सम्मेलन निकै उपयागी सावित भएको थियो ।
विश्वमा कोरोना भाइरसको संक्रमणको महामारी फैलिएर नेपालमा लकडाउन सुरु भएपछि हातको सरसफाई र खानेपानीको गुणस्तर तथा उपलब्धताको बारेमा विज्ञहरु,नीति निर्माता, अभ्यासकर्ता, अध्येता र आम उपभोक्तालाई सजग र सचेत गराउन स्मार्ट वास सोलुसन्सले यस क्षेत्रका नीति निर्माता, वैज्ञानिक, विज्ञ, प्राज्ञ, प्राविधिक तथा प्रशासनिक कर्मचारी, उपभोक्ता,सञ्चारकर्मी र स्थानीय तहका पदाधिकारीहरुको सहभागितामा केन्द्र र प्रदेश स्तरमा १८ विभिन्न विषयमा वेबिनार आयोजना गरेको थियो ।
स्मार्ट वासको वेबिनारका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन तथा आइसोलेश कक्षहरु व्यवस्थित गर्न धेरै सहज हुन गएको दावी पनि सो संस्थाले गरेको छ ।
स्मार्ट वास सोलुसन्स प्रा. लि.को आयोजनामा यही साउन २९ र ३० गते बर्षातको पानी संकलन र व्यवस्थापन(रेन वाटर हार्भेष्टिड.) विषयक अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न भएको थियो ।