
ह्वाइट हाउस, वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),१८ फागुुन (बीबीसी) । अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील तथा एल्युमिनियमको आयातमा करहरु बढाइने घोषणा गरेका छन्।
ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीहरुसंगको बैठक पछि बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको नाम त लिएनन्, तर विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताए।
उनले, उनकै शब्दमा, दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा एल्युमिनियम उद्योगहरुलाई फेरि पुनर्स्थापित गरिने बताए।
उनले आउँदो साता इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर लगाउने आदेशमा आउँदो साता आफुले सही गर्ने अपेक्षा गरेको पनि जनाए।
घोषणा
विश्लेषकहरु भन्छन्, अमेरिकाले त्यस्तो निर्णय लिएमा चीनले पनि बदलामा अमेरिकी उत्पादनहरुमाथि कर बढाउने घोषणा गर्नसक्छ।
त्यस्तै सो घोषणाले क्यानडाजस्ता अमेरिकाका निकट सहयोगीहरुसंगको संबन्ध पनि बिग्रन सक्छ।
गत महिना वाणिज्य मन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाएको थियो
अमेरिकाले सबैभन्दा बढी इस्पात क्यानडाबाट किन्दछ। त्यस्तै ब्रजील, दक्षिण कोरिया, मेक्सिको र रुसले पनि अमेरिकालाई इस्पात बिक्री गर्दछन्।
अमेरिकाले जति इस्पात निर्यात गर्दछ, त्यो भन्दा चार गुनाबढी आयात गर्दछ।
नोक्सान
आफ्नो राष्ट्रपतीय चुनावी अभियानका क्रममा र चुनाव जितीसकेपछि पनि राष्ट्रपति ट्रम्पले सस्तो चिनियाँ आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताउँदै आएका थिए।
गत वर्ष राष्ट्रपति ट्रम्पले इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको छ कि छैन भन्नेबारे अनुसन्धान गर्न वाणिज्य मन्त्री विल्बुर रसलाई आदेश दिएकाथिए।
गत महिना वाणिज्य मन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाएको थियो।
प्रतिवेदनले इस्पातको आयातमाथि २४ प्रतिशत कर लगाउनु पर्ने लगायतका सुझावहरु पनि दिएको थियो।
ट्वीट
बिहीबार बिहान एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अब हाम्रो मुलुक, कम्पनीहरु र कामदारहरुको अरुले लाभ उठाइरहने स्थिति बनीरहनदिनु हुँदैन भनेकाथिए।
बीबीसीकी ह्वाइट हाउस संवाददाता तारा म्याक्केल्भी भन्छिन्, राष्ट्रपति ट्रम्प र उनका अन्य वरिष्ठ अधिकारीहरु व्यापार र चीनका विषयमा कडा देखिन चाहन्छन्।
तर उनी भन्छिन्, ट्रम्प प्रशासनभित्रै पनि कट्टरपन्थीहरु र व्यापारको मामिलामा अरु बढी सावधानी अपनाउनु पर्छ भन्नेहरु बीच द्वन्द्व रहेको स्पष्ट देखिन्छ।