
काठमाडौं, २९ फागुन । राष्ट्र बैंकको पहलमा बैकर्स संघ र एनआइसी बीचको विवाद साम्य भएको छ ।
राष्ट्र बैंकले सोमबार दुबै पक्षलार्इ बोलाएर छलफल गरेको थियो । छलफलमा संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहितका पदाधिकारी, एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन शर्मा न्यौपानेसहितको टोली र राष्ट्र बैंकको नियमन विभागका प्रतिनिधि सहभागी थिए।
छलफलमा राष्ट्र बैंकले दुवै पक्षलाई सचेत गराउदै ब्याजदरका कारण देखिएको विवादले बजारमा कुनै समस्या नआओस् भन्दै यसलाई सहमतिबाट नै हल गर्न निर्देशन दिएको थियो ।
त्यसपछि संघ र एनआईसी बैंकबीच सहमति जुटेको हो ।
सहमति अनुसार एनआईसीले पुरानै ब्याजदरलाई निरन्तरता दिने र बढाएको ब्याजदर कम गर्ने निर्णय गरिसकेको छ ।
बैंकले आज एक सूचना जारी गर्दै फागुन ११ देखि संचालनमा ल्याएको १० प्रतिशत ब्याज दिने सम्मुनति प्लस बचत खाता र १२ प्रतिशत ब्याज दिने १ बर्षे धनबर्षा मुद्दती बचत खाता आगामी चैत २ सम्म मात्र संचालन हुने जनाएको हो । चैत्र २ गतेपछि दुवै योजना बन्द हुने बैंकले जनाएको छ ।
बैंकले अर्थतन्त्रको हित हुने सभ्य र स्वस्थ प्रतिस्पर्धा होस् भन्ने आम धारणालाई आत्मसात गर्दै उत्तरदायी र जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरका बाबजूद वर्तमान परिवेश र आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताएको छ ।
विवादको चुरो
केहि समय अगाडी बैकर्स संघमा आबद्ध २८ बाणिज्य बैंकहरुले बचत खातामा ८ र मुद्दतीमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका थिए ।
फागुन ११ गते सोहि भद्र सहमति बिपरित हुने गरि एनआईसी एसियाले बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दिने गरी नयाँ बचत योजना सार्वजनिक गर्यो ।
त्यस लगत्तै संघमा आबद्ध एनआईसी बाहेकका अन्य २७ बाणिज्य बैंकहरुले एनआईसीले बैंकिङ प्रणालीमा समस्या निम्त्याएको र बैंकको निर्णयले जोखिम बढेको भन्दै एनआईसीसंग सबै किसिमको अन्तर बैंक कारोबार नगर्ने निर्णय गर्यो ।
सबै सदस्य बैंकहरुको सहभागिता र सहमतिमा संघले एनआईसीमा भएको अरबौ रकम पनि निकाल्ने निर्णय गरेपछि समस्या थप जटिल बन्यो।
नेपालको सिंगो बैकिंग क्षेत्र खुला बजारको प्रतिस्पर्धाको विरुद्ध सिन्डिकेट प्रथामा गएको सन्देश एकातिर प्रवाहित भयो भने अर्कोतिर अनियन्त्रित ढंगले बजारमा चलखेल गरी अर्थतन्त्रलाई संकटोन्मुख पार्न खोजिएको आरोप पनि आयो ।
यसरी दुई पक्षको विवादले बैंकिंग प्रणालीमै समस्या आउँन देखिएपछि राष्ट्र बैंकले सोमबार दुबै पक्षलार्इ बोलाएर छलफल गरेको थियो ।
यस संगै २ सातादेखि लामो विवाद अन्त्य भएको छ ।
शेयर बजारमा समेत यसको सकारात्मक प्रभाव परेको छ ,आज नेपालको शेयरबजार शुन्य दशमलव ३८प्रतिशतले बढेको छ । बजार हरियो बनेको छ ।