Prakash Adhikari April 6, 2018

काठमाडौं, २३ चैत्र । विदेशी मुद्रामा ऋण ल्याएर स्वदेशमै कर्जा प्रवाह गर्न ब्यांकहरूले स्वीकृति माग्ने क्रम शुरु भएको केन्द्रीय ब्यांकका अधिकारीले बताएका छन्।

त्यस्तो ऋण ल्याउन सकिने केन्द्रीय ब्यांकले निर्णय गरेको एक साता नबित्दै एउटा ब्यांकले स्वीकृति माग गरिसकेको र अन्यले छिट्टै गर्ने उनले बताए।

तरलता अर्थात् लगानीयोग्य रकमको अभाव निरन्तर रहेपछि त्यसको समाधानकै एक उपायको रूपमा नेपाल राष्ट्र ब्यांकले हालै यहाँका ब्यांकहरूलाई विदेशी मुद्रामा ऋण ल्याएर परिचालन गर्न सक्ने निर्णय गरेको हो।

सो निर्णयले करिब ७५ देखि ८० अर्ब रुपियाँ सम्म विदेशबाट ल्याउन सकिने देखिएको ब्यांकका अधिकारीहरू बताउँछन्।

स्वीकृति

केही दिन अगाडि राष्ट्र ब्यांकले एउटा सार्वजनिक सूचना प्रकाशन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने भनेको थियो।

लगत्तै एनएमबी ब्यांकले करिब डेढ अर्ब रुपियाँ बराबरको ऋण विश्व ब्यांकसम्बद्ध आइएफसीसँग लिन स्वीकृतिका लागि निवेदन दिइसकेको छ।

ऊबाहेक अन्य ब्यांकहरुले पनि यसमा चासो देखाउने विश्वास राष्ट्र ब्यांकको छ।

सो ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने, “अहिले खासमा दुई वटा ब्यांकले चासो देखाइसकेका छन्। एनएमबीले त निवेदन नै दिइसक्यो। मेरो विचारमा एक महिनाभित्र पाँच-सातवटा ब्यांकले चासो देखाइसक्नेछन्।”

पहल

कहाँबाट कति दरमा लिने भन्ने विषयमा ब्यांकहरूले आन्तरिक रूपमा पहल गरिरहेको बताइएको छ।

कोसँग कति प्रतिशत दरमा लिने भनेर आफ्ना सम्बन्ध भएका विदेशी ब्यांकहरूसँग कुराकानी भइरहेका छन्। तीन-चारवटा ब्यांकले त एक हप्ताभित्रै यसबारे निर्णय गर्ने सम्भावना पनि छ
ज्ञानेन्द्र ढुंगाना, नेपाल ब्यांकर्स एसोसिएसनका अध्यक्ष

नेपाल ब्यांकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भन्छन्, “कोसँग कति प्रतिशत दरमा लिने भनेर आफ्ना सम्बन्ध भएका विदेशी ब्यांकहरूसँग कुराकानी भइरहेका छन्। तीन-चारवटा ब्यांकले त एक हप्ताभित्रै यसबारे निर्णय गर्ने सम्भावना पनि छ।”

राष्ट्र ब्यांकको सार्वजनिक सूचनामा खासगरी लाइबर अर्थात लण्डन इन्टर ब्यांकिङ दरमा ३ प्रतिशत जोडेर हुने गरी आउने अधिकतम सीमाभित्र रही त्यस्ता ऋणको ब्याजदर निर्धारण हुनुपर्ने अनि निश्चित क्षेत्रमा मात्र लगानी गर्नु पर्ने उल्लेख छ।

सरसरती हेर्दा ती शर्त उपयोगी भएको तर यसबारे ब्यांकहरूले लगातार समीक्षा गरिरहेको अर्का ब्याङ्कर अनिल शाह बताउँछन्।

“यो ल्याएर मात्र भएन। फाइदाजनक पनि हुनुपर्‍यो। ब्याज दर तथा विदेशी विनिमय दर जस्ता जोखिमहरू विचार गरेर हामीहरू मापदण्ड बनाउँदैछौँ। एक महिना जतिमा चित्र अझ प्रस्ट होला। कति कुरा त हाम फालिसकेर पौडी खेल्न थालेपछि थाहा होला। त्यसैले हामी सबै अहिले समीक्षा गर्दैछौं,” उनले भने।

निक्षेपको वृद्धि दरभन्दा कर्जा प्रवाहको दर बढेर तरलतामा चाप परेसँगै लगानीयोग्य रकमको जोहो गर्न ब्यांकहरूले नै विदेशी ब्यांक वा संस्थाबाट ऋण लिन पाउने नियम बनाइदिन आग्रह गर्दै आएका थिए।

नयाँ अर्थमन्त्रीले पनि लगानीयोग्य रकम बाहिरबाट समेत जुटाउन पर्ने आवश्यकता ‍औँल्याएका थिए।

हालको निर्णय मध्यमकालीन प्रकृतिको भएको राष्ट्र ब्यांकका अधिकारीहरूको भनाइ छ।

बीबीसी नेपाली सेवाबाट

Share Now

Leave a comment.