
विष्णु पोखरेल । बीबीसी न्यूज नेपाली
काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले “संविधान संशोधन गर्न सकिने” अभिव्यक्ति दिएपछि संविधान संशोधनको माग राख्ने उक्त दलका कतिपय नेता तथा कार्यकर्ताले “आफ्नो माग सम्बोधन हुने” सम्भावना बढेको बताएका छन्।
आफ्नो दलको एउटा बृहत् बैठक उद्घाटनका क्रममा सोमवार सभापति देउवाले “संविधानको संशोधन गर्न सकिने गरी छलफल प्रारम्भ गर्नुपर्ने” बताउनुभएको थियो।
सभापति देउवाको उक्त अभिव्यक्तिले नेपाली कांग्रेसभित्र “हिन्दूराष्ट्र” पुनर्स्थापना लगायतको अभियान चलाइरहेका नेताहरू उत्साहित बनेको पाइएको छ।
यद्यपि कतिपय विश्लेषक देउवाको अभिव्यक्तिलाई “पार्टीभित्र र बाहिर पनि सन्तुलन मिलाउन” गरिएको राजनीतिक “चतुर्याइँ” ठान्छन्।
देउवाको कथन
सत्तारूढ तथा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन गर्दै सोमवार देउवाले एउटा लिखित मन्तव्य दिनुभयो।
त्यस क्रममा उहाँले भन्नुभयो, “संविधान गतिशील दस्तावेज हो। संविधानको दीर्घजीवनका लागि संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ। संविधान जनताको आशा, भारोसा र मर्यादा गर्ने विषय बन्नुपर्दछ।”
“संविधान जारी भएको आठ वर्ष भइसकेको छ। संविधान कार्यान्वयको मूल्याङ्कन गर्ने, कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान गर्ने समय भएको छ।”
“संविधानले व्यवस्था गरेको शासकीय स्वरूप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधानको संशोधन गर्न सकिने गरी अब छलफल प्रारम्भ गर्नुपर्दछ।”
कांग्रेसको नीति पारित गर्ने भएकाले यसलाई ूनीति महाधिवेशनूकै अर्को रूप भनिएको उक्त बैठकमा देउवाले दिएको अभिव्यक्ति कांग्रेस नेता र कार्यकर्ताका लागि निकै अर्थपूर्ण रहेको धेरैको बुझाइ छ।
कांग्रेसभित्र उठेको संविधान संशोधनको माग
देउवाले संविधान संशोधनका लागि पार्टीभित्र उठिरहेका कतिपय विषयबारे आफ्नो सम्बोधनमा साङ्केतिक रूपमा उल्लेख पनि गरेका छन्।
यद्यपि उहाँले अहिलेकै संविधानप्रति प्रतिबद्धता जनाउँदै त्यसको कार्यान्वयनका लागि कांग्रेसको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिनुभएको छ।
देशभरिबाट कांग्रेस नेता तथा कार्यकर्ताहरू भेला भएको उक्त कार्यक्रममा उहाँले संविधानबारे छलफल गर्न आफू खुला रहेको जनाउ दिन उक्त अभिव्यक्ति दिएको हुनसक्ने उहाँ निकटस्थ नेताहरू बताउँछन्।
नेताहरूले बताएअनुसार कांग्रेसभित्र मुख्यतः तीनवटा विषयलाई लिएर संविधान संशोधन हुनुपर्छ भन्ने माग तीव्र हुँदै गएको छ।
ती विषय हुन् ?
- समानुपातिक निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने
- सङ्घीयताको औचित्य पुष्टि हुने खालको व्यवस्था हुनुपर्ने वा प्रदेश संरचनाबारे पुनर्विचार गर्नुपर्ने
- नेपाललाई पुनः धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने
पार्टीभित्र यी तीन विषयलाई लिएर संविधान संशोधनको माग व्यापक भएकाले त्यसलाई सम्बोधन गर्ने क्रममा देउवाले उक्त अभिव्यक्ति दिनुभएको नेताहरूले ठानेका छन्।
नेताहरूको भनाइ
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल सभापतिले पार्टीभित्र उठिरहेका विषयहरूलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधनबारे बोलेको बताउनुहुन्छ।
उहँले भन्नुभयो, “विशेष गरी हाम्रो पार्टीभित्र स्थिर सरकार गठन गर्न सकिने खालको निर्वाचन प्रणाली हुनुपर्छ र खर्चिलो संरचना भएको सङ्घीयतामा सुधार गर्ने खालको व्यवस्था हुनुपर्छ भन्ने माग उठिरहेकै हो। त्यसैलाई उहाँले सम्बोधन गर्नु भएको हो।”
“अहिले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्रको माग गर्दै हस्ताक्षर सङ्कलन पनि भइरहेको छ त्यसलाई पनि उहाँले सम्बोधन गर्नुभएको हो।”
उहाँ अहिलेको निर्वाचन प्रणाली र सङ्घीयताबारे पार्टीभित्र मात्र नभई समाजका सबै तप्कामा प्रश्न उठिरहेको बताउनुहुन्छ। सोही कुरा पार्टीको बैठकमा पनि प्रतिबिम्बित भएको उहाँको भनाइ छ।
तर सभापति देउवाले संविधानका आधारभूत कुराहरूमा परिवर्तन गर्न नसकिने पनि स्पष्ट गरेको उहाँ बताउनुहुन्छ।
‘हाम्रो अजेन्डालाई सभापतिले सम्बोधन गर्नुभयो’
कांग्रेसभित्र सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको माग राख्दै आएका नेताहरूले भने सभापतिको संबोधनले आफ्नो अजेन्डालाई उनले गम्भीरतापूर्वक लिएको देखाएको बताएका छन्।
पार्टीको महासमिति बैठकअघि गत बिहीवार र शुक्रवार केन्द्रीय समिति बैठक भएको थियो।
शुक्रवारको बैठकमा कांग्रेसका २२ केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिनुपर्ने भन्दै सभापित देउवालाई एउटा पूरक प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्तावलाई अघि बढाउन बैठकले अस्वीकार गरेको थियो।
यद्यपि हिन्दूराष्ट्रको अभियानका लागेका कांग्रेस नेताहरूले सभापतिको सम्बोधनले आफूहरूलाई उक्त अजेन्डा स्थापित हुँदै गएको महसुस भएको बताएका छन्।
हस्ताक्षरकर्ता २२ जनामध्येका भीम पराजुलीले भन्नुभयो, “यसले हाम्रो मागप्रति सभापतिज्यू पनि छलफल अगाडि बढाउन तयार हुनुहुन्छ भन्ने देखाएको छ।”
“अघि बढाउनैपर्ने अवस्था पनि छ किनभने बहुमत महासमिति सदस्यहरू यो मागमा सहमत हुनुहुन्छ तर हामीले पूरक प्रस्तावका रूपमा यसलाई बैठकको सुरुमै ल्याउने अवस्था बनेन।”
उहाँ बहुसङ्ख्यक महासमिति सदस्यहरूले हस्ताक्षर गरेर बुझाएपछि बैठकमा दबाव पर्ने र हिन्दूराष्ट्रबारे छलफल हुने आशा बढेको बताउनुहुन्छ।
उक्त समूहले बैठक भइरहेको सभाहलबाहिर हस्ताक्षर अभियान पनि चलाइरहेको छ।
पेचिलो बनेको साङ्गठनिक प्रतिवेदन
ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमितिको बैठकअघि उक्त पार्टीले आइन्दा चुनावभन्दा अगाडि नै गठबन्धन गर्नु हुन्छ कि हुँदैन भन्ने बारे भिन्नभिन्न मतहरू प्रकट भएका थिए।
त्यसको स्पष्ट प्रतिकार गर्दै तथा गठबन्धनको आवश्यकता संवैधानिक प्रावधानका कारण नै टड्कारो बनेको देउवाले आफ्नो सम्बोधनका क्रममा बताउनुभयो।
विशेष गरी महामन्त्री गगन थापाले तयार पारेको साङ्गठनिक प्रतिवेदनमा चुनावअघिको गठबन्धन गर्नु नहुने उल्लेख भएपछि त्यसबारे संस्थापन पक्ष र थापा पक्षबीच निकै पेचिलो अवस्था बनेको थियो।
विभिन्न अनलाइनहरूबाट सार्वजनिक भएको थापाको मस्यौदा प्रतिवेदनमा उहाँले चुनावअघिको गठबन्धनको विपक्षमा आफ्नो मत राखेको देखिन्छ।
त्यसमा भनिएको छ, “हाम्रो निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचनपछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वभाविक हुन सक्छ।”
“तर निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै हामी सङ्कल्प गर्छौँ कि( ुनेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन (प्रिइलेक्शन अलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनावचिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैनु।”
देउवाले अहिलेको प्रणालीले नै त्यस्तो गठबन्धन आवश्यक देखाएको र शान्तिप्रक्रियाका बाँकी विषय टुङ्ग्याउन पनि गठबन्धनको आवश्यकतामा जोड दिँदै आउनुभएको छ।
थापानिकट मानिने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भन्नुहुन्छ, “महामन्त्रीज्यूले देशभरि यात्रा गरेर नेपाली कांग्रेसका कार्यकर्ता र मतदाताको भावना प्रतिबिम्बित हुने गरी उक्त कुरा समेट्नु भएको हो। त्यसैलाई लिपिबद्ध गर्नु भएकाले त्यसलाई संशोधन गर्दा मर्म नै मर्छ।”
यद्यपि सोमवार साँझ बीबीसीसँग कुरा गर्दै उहाँले मङ्गलवार बैठकमा पेस हुनुअघि उक्त प्रतिवेदनमा बीचको बाटो अपनाएर सहमति जुटाउन सकिने सम्भावना रहेको बताउनुभयो।
देउवा महामन्त्री थापाको प्रस्ताव मान्न तयार भएको चर्चा पनि पार्टीभित्र चलेको छ। तर दुवै पक्षले त्यसबारे औपचारिक रूपमा केही भनिसकेका छैनन्।
विश्लेषक के भन्छन् ?
नेपाली कांग्रेसको महासमिति बैठकका बेला तस्बिर खिचाउँदै पार्टीका नेताहरू
कतिपय विश्लेषकहरू संविधान संशोधन गर्नेबारे छलफल गर्न आफू खुला रहेको सङ्केत दिने देउवाको अभिव्यक्तिलाई “सत्ता र शक्तिमा आफू कसरी कायम रहने भन्ने उनको सोच”सँग तुलना गर्छन्।
बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधान भन्नुहुन्त, “देउवा राजनीतिक रूपमा चतुर खेलाडी हुनुहुन्छ। उहाँले बारम्बार सत्ता र शक्तिमा कसरी कायम रहने भन्ने सोचेर कदम चाल्ने गर्नुहुन्छ।”
उहाँले पार्टीभित्र उठेका संविधान संशोधनका मतहरूको सन्तुलन मिलाउन मात्र त्यस्तो कुरा गरेको हुनसक्ने प्रधानको भनाइ छ।
उहाँ अहिलेको संविधानले स्पष्ट रूपमा बहुमत ल्याउने अवस्था कुनै पनि दलसँग नहुने भएकाले त्यसमा संशोधन हुनुपर्छ भन्ने माग उठेकोप्रति देउवाले आफू सकारात्मक छु भन्ने सङ्केत मात्र दिएको बताउनुहुन्छ। तर अहिले नै संविधान संशोधन गर्ने पक्षमा उहाँ नभएको प्रधानको भनाइ छ।
उहाँले भन्नुभयो “अहिले नै संविधान बदल्न थाल्दा धेरै कुरा आउँछन् र विवाद पनि हुन्छ त्यसैले अहिले नै त्यो पक्षमा कांग्रेस जाला भन्ने मलाइ लाग्दैन।”
त्यस्तै उहाँले पार्टीभित्र उठेको हिन्दूराष्ट्रको मागलाई पनि आफूले बेवास्ता नगरेको देखाउन खोजेको प्रधान बताउनुहुन्छ।
प्रधान भन्नुहुन्छ, “उहाँले सबैतिर सन्तुलन मिलाउन खोजेको होला जस्तो लाग्छ। पार्टीमा हिन्दू राष्ट्रको कुरालाई ‘मैले नोटिसमा लिएको छु’ भन्नु किन परेको छ भने विपक्षी दरिलो बनेर नजाऊन् भन्ने पनि उहाँको सोच हुन सक्छ।”
उहाँ कांग्रेसभित्रका दुई खेमाको बीचको रणनीतिक लडाइँको एउटा स्वरूपका रूपमा पनि देउवाको अभिव्यक्तिलाई हेर्नुहुन्छ।
उहाँ यो बैठक नीति महाधिवेशन भएकाले “देउवा पक्षको प्रस्तावलाई कमजोर र आफ्नोलाई स्थापित गर्ने” प्रयासमा गगन थापा पक्ष रहेको र देउवा त्यो हुन नदिने पक्षमा रहेको बताउनुहुन्छ।
प्रधान भन्नुहुन्छ, “यो बैठकमा अर्को पक्षको नीति पारित भए त्यो देउवाका लागि हार हो। त्यसैले उहाँ आफ्नो हार हुन दिन चाहँनुहुन्न। त्यस्तो भयो भने आगामी महाधिवशेनमा पनि उहाँको हार निश्चित हुन्छ। त्यसैले देउवाले सन्तुलनका लागि त्यसैअनुरूप अभिव्यक्ति दिनुभएको हो।”