Prakash Adhikari March 18, 2024

-निरञ्जन राजवंशी । बीबीसी न्यूज नेपाली

काठमाडौं, ५ चैत्र । सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सहभागी भएको थियो। बङ्ग्लादेशविरुद्धको उक्त खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसर थियो।

त्यसपछि नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थपिँदै गए। सन् २००७ मा नेपाली महिला क्रिकेट टोली पनि अन्तर्राष्ट्रिय खेलमा सहभागी भयो भने नेपालले सन् २०१४ को टी-२० विश्वकपसम्म यात्रा तय गर्‍यो अनि सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पायो।

विभिन्न कालखण्डका नेपाली क्रिकेटका सारथिहरूको फागुन अन्तिम साता लुम्बिनी तिलोत्तमा नगरपालिका १७स्थित दरखसवा गाउँमा एउटा दुर्लभ भेट भयो। त्यो पनि खेलको मैदानमै।

त्यहाँ बन्दै गरेको एक्स्ट्राटेक ओभल नाम दिइएको क्रिकेट मैदानमा साढे दुई दशक नेपाली क्रिकेटमा बिताएका झन्डै ६० जना हस्तीहरू खेलको मैदानमा ओर्लिए।

पहिलो ब्याचका एलबी क्षेत्रीदेखि सञ्जय गुरुङ, अलराउन्डर मनीूषराज पाण्डे, किरण राणा, वसन्त ठकुरीदेखि पुकार पन्त, विकास गुप्ता र पवन अग्रवाल पनि उक्त कार्यक्रममा सहभागी थिए। अनि ‘गोल्डन पुस्ता’ मानिने पारस खड्कादेखि शरद भेषावकर, राजु खड्कादेखि पारस लुनिया अनि विनोद दासदेखि राजकुमार प्रधानसम्म चर्चित खेलाडीहरू छुटेनन्।

क्याच छुटेको छुट्यै

‘लेजन्ड्स कप’ नाम दिइएको उक्त मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धा एक्स्ट्राटेक ओभल मैदान तयार भयो भन्ने सन्देश दिनका लागि आयोजना गरिएको थियो।

तर त्यहाँ देखिएको ‘लेजन्ड’ खेलाडीहरूको जमघट अपूर्व थियो। त्यहाँ केही पुराना आफ्नो खेलकौशल देखाए भने कति आफ्नो समयको क्रिकेट सम्झेर रमाए।

कप्तान पारस खड्काले पहिलो ओभर फाल्न शक्ति गौचनको हातमा बल थमाए।

स्थानीय स्टार शक्ति गौचनलाई जति एक्स्ट्राटेक ओभलको मैदान अरू कसले चिन्न सक्थ्यो र? बाँझो जमिनमा माटो पुर्नेदेखि सम्याउने, पानी लगाउने काममा शक्ति गौचन त्यहाँ खटेका थिए।

उनको पहिलो बलको सामना मुसरफ इजहारले गरेका थिए। लामो सेतो दाह्री पालेका मुसरफ सन् १९९६ मा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका टोलीका सदस्य हुन्।

वरिष्ठ खेलाडीहरू सन् १९९६ मा बाङ्ग्लादेशविरुद्ध खेलेको जोस फेरि देखाउने प्रयासमा थिए।

तर सन् २०१४ टी-२० विश्वकप टीम पारस खड्काको टोलीको सामु उनीहरूको केही लाग्ने कुरै भएन। दुई टोलीबीच १६ वर्षको फराकिलो अन्तर पनि त थियो।

‘९६ लेजन्ड्स’ टोलीको कप्तानी गरिरहेका एलबी क्षेत्रीले ठट्टा गर्दै भने, ” त्यो बेला र अहिलेको खेलमा एउटा चाहिँ समानता छ है। बाङ्ग्लादेशसँग खेल्दा आत्तिएर क्याच छुटेको छुट्यै थियो, यहाँ चाहिँ बूढो भएर।”

एक्स्ट्राटेक ओभलमा खेलिएको १० ओभरको खेल गजबकै थियो। पारसले त बायाँ हातले बलिङ गर्न पनि भ्याए। पवन अग्रवाल पहिलो बलमा नै डक आउट, शक्ति गौचनको बलिङमा उही पुरानो चमत्कार।

बाउन्ड्रीबाहिर बसेर खेलको स्वाद लिइरहेका १९९६ का प्रशिक्षक अरुण अर्याल र सुनोज भट्टराई भन्दै थिए, “त्यो बेला पो सिकाउनुपर्थ्यो । आज केही गर्नुपरेन। सिकाएको भए पनि के मान्थे र? ”

पुकार पन्त सन् १९९६ पछि पहिलो पटक देखा परेका हुन्।

त्यस्तो जमघट र जिल्लाको रमाइलो वातावरणले दङ्ग परेका उनले भने, “हाम्रो पालामा मैदान नै कहाँ थियो र? अहिले त जिल्लामा यस्तो राम्रो मैदान बन्न थाल्यो।”

पन्तको खुसी आफ्नो जमानाका सहयात्री भेट्न पाउँदा देखिएको थियो। “हैन, यस्तो जमघट त बेलाबेलामा भइदिए हुन्थ्यो।”

‘हामीलाई कामदार सम्झे’

सन् १९९६ मा पहिलो नेपाली टोलीको सदस्य भएर इतिहास बनाएका एलबी क्षेत्री सन् २००७ मा पहिलो महिला टोलीको व्यवस्थापक भएर मलेशिया गएका थिए। त्यहाँ उनी नेपाली क्रिकेटको अर्को ऐतिहासिक उपलब्धिका साक्षी बनेका थिए।

उक्त महिला टोलीकी एक सदस्य ममता थापाले त्यतिबेलाको यात्रा सम्झिँदै भनिन्, “सबैले एउटै खाले लुगा लगाएको देखेर हामीलाई कसैले सोध्यो – कुन म्यानपावरबाट?”

उनको अनुभवमा अन्तर्राष्ट्रिय सहभागितापछि त्यतिबेला धेरै महिला खेलाडीहरूको जीवन नै बदलियो।

ममता थापाको बुझाइमा त्यतिबेला उनीहरूले जति मौका पाए त्यो अहिलेका महिला टोलीका खेलाडीहरूले पाउन सकेका छैनन्।

सन् २००७ का सबै महिला खेलाडीहरू एक्स्ट्राटेक मैदानमा थिएनन्। उनीहरू चार टीममा बाँडिएका थिए।

फाइनलमा सीता राना मगरको क्याच ममता थापाले निकै परिश्रम गरेर समात्दाको क्षण उनका लागि अविस्मरणीय बन्यो।

सन् १९९६ को टोलीबाट खेलेकी नीरा राजोपाध्याय एक्स्ट्राटेक ओभल देखेर लोभिएकी थिइन्। “हामीले त्यतिबेला खेलेको मैदान पनि यस्तै त थियो नि। कहाँ थियो र ठूलो प्यारापिट? यतिको मैदान ठाउँठाउँमा बने पुग्छ,” उनले भनिन्।

गुल्मीका दम्पती विनोद कुँवर र सुदीक्षा गौतमले निजी लगानीमा बनाउन थालेको एक्स्ट्राटेक ओभलले साढे पाँच बिगाहा जमिन ओगटेको बताइन्छ।

चालीस करोड रुपैयाँको लगानीमा बनाउन लागिएको भनिएको उक्त मैदान नौ महिनामा खेल्न लायक बनाउने योजना छ।

तिलोत्तमा वडा नम्बर १७ मा अवस्थित मैदानमा पुग्न मूल सडकबाट सात किमि भित्र जानुपर्छ। त्यहाँसम्म पुग्ने बाटो फराकिलो भइसकेको छैन।

दरखसवा गाउँमा सम्भवतः पहिलो पटक ५,००० जनाभन्दा बढी मानिसहरूको भिड लागेको थियो। ती दर्शकहरूको ध्यान पूर्वकप्तान पारस खड्काले तानेका थिए। उनले १२ बलमा ३९ रन बनाएर दर्शकले चाहे जस्तै फाइनलको उपाधि जिते।

त्यहाँ क्यानका सचिव समेत रहेका पारस खड्काले नेपाली क्रिकेट विकासका लागि योगदान दिने सबै वरिष्ठ खेलाडीहरूप्रति कृतज्ञा व्यक्त गरेका थिए।

उनले प्रतिस्पर्धी टोलीका खेलाडीसँग गरेको व्यवहार पनि उल्लेखनीय छ। उनले ब्याटरहरूले बढीभन्दा बढी रन बनाउन सकून् भनेर सजिलो किसिमले बलिङ गरेका थिए।

विनोद दास र पारस खड्काले नेतृत्व गरेका टोलीबीच भएको फाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

नवौँ ओभरमा बलिङ गर्न आएकी ममता थापाको ओभरमा दुई-चारवटा चौका वा छक्का प्रहार गर्न सकेको भए पारस खड्काको टोलीको पराजय पक्का थियो।

त्यतिबेला क्रीजमा रहेका युनिल श्रेष्ठले त्यसो गर्न सकेनन्। उनले भने, “मन जाने, जीउ चाहिँ नजाने भइएछ। अनि कहाँबाट हान्नु चौका छक्का?”

भूतपूर्व खेलाडीहरूको यो अपूर्व जमघट गराएका एक्स्ट्राटेक ओवलका मालिक विनोद कुँवर क्रिकेटको यो वातावरण देखेर दङ्ग थिए।

उनले भने, “मैदान चलायमान भयो। दोस्रो चरणमा अब थोरैथोरै गरी ५,००० सीट राख्ने र फ्लडलाइट हाल्ने योजना छ। अक्याडमी सञ्चालन हुने छ। जब सबैथोक पूरा हुन्छ, अनि यसरी नै ठूलो प्रतियोगिता गराउने सोच छ।”

पारस खड्काले भने,”लुम्बिनीमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन दुईवटा रङ्गशाला चाहिएको थियो। एक्स्ट्राटेकले त्यो कमी पूरा गरेको छ। अब यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पहल गर्छु।”

Share Now