
कठमाडौं, १ जेठ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तीनै संस्थाका प्रमुखहरुले यसको जानकारी दिएका हुन् ।
गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल,वातावरण र जलवायु परिवर्तन ज्ञानको आदान प्रदान र साझेदारी विषयक अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प र तिनको कार्यान्वयनका सन्दर्भमा जानकारी दिने उद्देश्यले सो पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
पत्रकार सम्मोलनमा सोफेनका अध्यक्ष ई. रामदीप साहले सम्मेलनबाट पारित संकल्पहरु नेपालको सन्दर्भमा निकै सान्दर्भिक भएको बताउदै तिनको कार्यान्वयनको सिलसिलामा छिट्टै स्थानीय तहमा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियर र प्राविधिकहरुलाई मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनका चुनौति र सरल एवम् वैज्ञानिक उपायका बारेमा जानकारी दिने उद्देश्यले एक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिने बताए । उनले सम्मेलनका संकल्प सहितका सन्देश तथा जल,वातावरण र जलवायु परिवर्तनका स्थानीय मुद्दाहरुको समाधानका लागि राष्ट्र व्यापी अभियान सञ्चालन गरिने पनि जानकारी दिए ।
अध्यक्ष साहका अनुसार यस अभियान अन्तरगत पहिलो चरणमा नगरपालिकाको नेतृत्व र सरसफाईको क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई जागरुक गरिनेछ । यसको लागि मानव मल—मूत्रीय फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक ज्ञान र अनुभवको आदानप्रदान,जनचेतना अभिबृद्धि तथा नीतिगत,संस्थागत,नियामक खाका सम्बन्धी जानकारी दिने र सरोकारवालाको राय पनि लिने उद्देश्यले ७ वटै प्रदेशका नगरपालिका प्रमुखहरु तथा संबन्धित उपभोक्ता समितिका अध्यक्ष एवम् सरोकार वालाहरुको उपस्थितिमा एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरिदैछ ।
त्यस्तै गरी नगरपालिकाका इञ्जिनियर÷प्राविधिक, उपभोक्ता समितिका इञ्जिनियर तथा सरोकारवाला संस्थाहरु मध्येबाट १०० जना इञ्जिनियर र प्राविधिकहरुको ३ दिने मानव मल—मूत्रीय व्यवस्थापन एवम शहरी सरसफाईको क्षेत्रमा तालिम दिने कार्यक्रम तय भएको छ ।
यस्तै विभिन्न सरोकारवालाहरुको बीचमा संघीयतामा खानेपानी तथा सरसफाईको विषयमा १ महिनाभित्र एक दिवसीय कार्यशाला गोष्ठी गर्ने कार्यक्रम तय गरिएको छ ।
खानेपानीको संकट समाधान, गुणस्तरीय पानीको उत्पादन र प्रभावकारी वितरणको साथै पानीको पुनउपयोगको बारेमा नेपालका नीति निर्माता र यस क्षेत्रमा कार्यरत प्राविधिक तथा स्थानीय तहका नेताहरुलाई जानकारी दिने उद्देश्यले कोरियन स्मार्ट वाटर ग्रीडसंग मिलेर २०७५ श्रावण महिनामा स्मार्ट वाटर विषयमा २ दिने कार्यशाला गोष्ठी आयोजना गरिने भएको छ ।
खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुले उक्त अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प सहितका विषयलाई कार्यान्वयन गर्न आगामी बजेटमा यथोचित व्यवस्था गराउनका लागि विभागीय मन्त्री र योजना आयोगका जिम्मेवार पदाधिकारीहरुलाई समेत भेटघाट गरि ध्यानाकर्षण गर्ने कार्यक्रम समेत तर्जुमा गरेको छ ।
चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न “जल, वातावरण र जलवायु परिवर्तन : ज्ञानको आदानप्रदान तथा साझेदारी” विषयक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनद्धारा भएको थियो । सम्मेलनमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा.हांग सांग सु, एशियाली विकास बैंकका उपाध्यक्ष बमबांग सुशान्तनु बन तथा वातावरण मन्त्री माननीय शक्ति बस्नेत, यूनिसेफका कन्ट्री डाइरेक्टर तोमू होजुमी, भारतको डा मोदी विश्वविश्द्यालयका उपकुलपतिले विभिन्न शत्रमा प्रमुख वक्ताको रुपमा बोलेका थिए । त्यस्तै पूर्वमन्त्रीहरु,राष्टिय योजना आयोगका पूर्व सदस्य लगायतका प्रतिष्ठित व्यक्तिहरु सामूहिक छलफलमा सहभागी भएका थिए ।
त्यस्तै सम्मेलनको समापन शत्रको प्रमुख अतिथि एवम् सभामुख कृष्णबहादुर महराले स्वच्छ पानी र वातावरण सम्बन्धी कानून बनाउन पूर्ण सहयोग गर्ने बचन दिएका थिए ।
नेपालका स्थानीय निकायका पदाधिकारी, उपभोक्ता समितिका प्रतिनिधि र नेपाल सहित विश्वका पानी, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ र व्यवसायीहरु गरी ७ सय भन्दा बढीको सहभागिता रहेको अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न शत्रमा १८ वटा कि नोट पेपर र ११६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल पश्चात आवश्यक संशोधन सहित पारित गरिएको छ र सम्मेलनले समापनको अवसरमा ११ बूँदे संकल्प पनि जारी गरेको थियो ।
जसमा जलवायु समानुकूलन पूर्वाधार निर्माणमा उपयुक्त नीति, कानून र पर्याप्त वित्तीय व्यवस्थाद्धारा सघाउनु पर्ने, नयाँ, किफायती र ऊर्जाप्रभावी प्रविधिमा लगानी बढाउनु पर्ने,सुरक्षित ढंगले सरसफाई व्यवस्थित गर्न तथा फोहर पानी निसृत गर्नको लागि राष्ट्रिय मापदण्ड र सूचकहरु विकसित गरी द्रुत गतिमा काम गर्दै ती मापदण्डको पालनाको अनुगमन गर्नुपर्ने, जलवायु समानुकुलनसंग सम्बन्धित चुनौतिहरुलाई सम्बोधन गर्नको लागि प्रमाण र विज्ञानाधारित समाधान प्रदान गर्न आपसी सहकार्यलाई अभिबृद्धि गराउनु पर्ने , जलसुरक्षा, स्वच्छ वातावरण र जलवायु समानुकूलन प्राप्त गर्न शिक्षा र क्षमता अभिबृद्धिकालागि अनुसन्धान र प्राज्ञिक संस्थाहरुलाई सघाउनु पर्ने विषय परेका छन् ।
त्यस्तै पारस्परिक लाभहरू हासिल गर्नका लागि स्रोत-साधन र ज्ञानको आदान-प्रदानमा दिगो साझेदारी अभिबृद्धि गर्न अन्तर्राष्ट्रिय कूटनीति, संवाद र सहकार्य गर्नुपर्ने, सित्तैमा प्राप्त हुने वर्षातको पानीको संकलन र उपयोगमा ध्यान दिनपर्ने, साझा विकासको उद्देश्य हासिल गर्न सार्वजनिक, निजी, साझेदारी, आधिकारिक विकास सहायता (ओडीए)को वृद्धिका साथै दक्षिण-दक्षिण र त्रिकोणीय सहयोगलाई बढाउनु पर्ने, ढलको समुचित व्यवस्थानबाट प्राप्त प्रशोधित मल र फोहर पानीको प्रशोधनबाट प्राप्त खैरो पानीलाई घरेलु र सामुदायिक उपयोगमा प्रबर्धन गरिनुपर्ने बढ्दो जनचेतना र सुधारिएको सामाजिक समावेशिता तथा लैंगिक समानता न्यायोचित पहुँच र दिगो प्रतिफलका लागि सुनिश्चित गरिनुपर्ने तथा जल नेतृत्वलाई पानी, वातावरण र जलवायु परिवर्तनका विषयहरुको प्रभावकारी, कुशल र दिगो व्यवस्थापनका उद्देश्यहरुलाई आत्मसात गराउदै अपेक्षित परिणाम हासिल गर्नका लागि तत्पर बनाउन हरेक तहमा हेरविचार गरिरहनुपर्ने कुरा उल्लेखित छन् ।
प्त्रकार सम्मेलनमा पूर्व मन्त्री गणेश साहले सम्मेलनबाट पारित संकल्पहरु कार्यान्वयनका लागि केन्द्रीय स्तरमा नीति निर्माण तहमा पैरवी गर्ने र स्थानीय तहमा कार्यरत प्राविधिक र जनप्रतिनिधि तथा उपभोक्ता समितिहरुलाई ज्ञान र अनुभव बाडने गरी एकसाथ दुई कोणबाट काम थालिने बताएका थिए ।
कर्यक्रममा नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले पानी, सरसफाई,वातावरण र जलवायु परिवर्तनका विषय हरेक परिवारको तहमा पुग्नुपर्ने भएकोले सम्मेलनबाट पारित संकल्पहरु स्थानीय आवश्यकताहरुलाई ध्यानमा राख्दै कार्यान्वयन गर्ने दिशामा अग्रसर बनाउन देशव्यापी अभियान थालनी गर्न लागेको बताएका थिए ।